उपसचिवलाई मुक्का हानेर विवादित बनेका वडाध्यक्ष उपभोक्ता समितिको साढे ६ लाख लिएर फरार !

उपसचिवलाई मुक्का हानेर विवादित बनेका वडाध्यक्ष उपभोक्ता समितिको साढे ६ लाख लिएर फरार !

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेको भन्दै प्रहरीमा उजुरी परेको छ। 

वडाध्यक्ष विनोदसिंह विष्ट, सुशील गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको भन्दै  उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएको आरोप लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले उक्त विषयमा बिहीबार उजुरी आएको र आज मात्रै त्यसको अनुसन्धान गरिने बताए। 

उनीहरूले काम सकेर बाँड्न लागेको रकम धम्क्याएर लगेको विषयमा आजै पत्रकार सम्मेलन गरिने उपभोक्ता समितिकी सदस्य दीपा खड्काले बताइन्। 

वडाध्यक्ष विष्ट कहिल्यै  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर र त कहिल्यै आफ्नै वडा सदस्यहरूसँग विवाद भएर चर्चामा आउने गरेका छन्।

२२ असार, २०८०, १०:४२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।