सरकारकी प्रवक्ताले भनिन्- प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

सरकारकी प्रवक्ताले भनिन्- प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

काठमाडौं : सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएकी छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेकी हुन्।

गत सोमबार भारतीय व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक–पटक दिल्ली धाएको भनेपछि प्रमुख विपक्षी दल एमालेले बुधबार प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो।

मन्त्री शर्माले अहिलेको विषय प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय नै नभएको जिकिर गर्दै अन्यथा नबोलेको बताइन्।

‘एउटा कार्यक्रममा गएको बोलेको कुरालाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन,’ उनले भनिन्, ‘कार्यक्रममा अन्यथा बोलेको जस्तो पनि हामीलाई लाग्दैन।’

प्रितम सिंहले पनि सार्वजनिक मिडियामा आएर धेरै उठाउनुपर्ने विषय नभएको बताइसकेको अवस्थामा यसलाई धेरै उचालेर प्रधानमन्त्रीलाइ राजीनामा दिलाउन नसकिने उनले बताइन्।

‘यो धेरै पहिलाको विषय हो। सम्बन्धित व्यक्ति नै मिडियामा आएर उठाउनुपर्ने विषय होइन भनिसक्नुभएको छ,’ उनले अगाडि थपिन्, ‘यो विषयले प्रधानमन्त्रीको राजीनामा आउँछ भन्नेकुरा सोच्न सकिने विषय पनि होइन र प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न।’

२१ असार, २०८०, १८:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।