‘सहचालकले साथी कुटेपछि विद्यार्थी नै उर्लिएर बजार तोडफोड गर्‍यौँ, पुलिसको डरले ३ रातसम्म जङ्गलमा बस्नुपर्‍यो’

‘सहचालकले साथी कुटेपछि विद्यार्थी नै उर्लिएर बजार तोडफोड गर्‍यौँ, पुलिसको डरले ३ रातसम्म जङ्गलमा बस्नुपर्‍यो’

काठमाडौं : नेपाली फिल्म तथा टेलिफिल्म दर्शकका लागि नौलो नाम होइन सुवास गजुरेल। उनलाई धेरैले 'श्रीराम बाजे'का नामले चिन्छन्।

नेपाल टेलिभिजनबाट प्रसारित धारावाहिक सिरियल ‘देवी’ उनको 'श्रीराम, श्रीराम' थेगोबाट चिनिएका गजुरेल २०४२ सालमा रमेश बुढाथोकी निर्देशित सिरियल ‘बाँच्न बिर्सेको छैन’बाट टेलिभिजनको पर्दामा उदाए।  

६२ वर्षअघि धनुषाको लालगढमा जन्मिएका गजुरेलले ‘बसाइँ, 'मजदुर','माया', 'बैगुनी र 'को होला मेरी मायालु’ लगायत निर्देशन गरेका फिल्म हुन्। दर्जनौँ टेलिफिल्ममा अभिनय गरेका उनले उकेराँसग आफ्नो विगत साटे।

लालगढमा बाल्यकाल 

चार दाजुभाइमा उनी माइला। २०२३ सालमा नजिकैको आदर्श प्राथमिक स्कुलमा भर्ना भए। उनको परिवार सामान्य थियो। खेतीपाती नै गर्दथे घरका सबै। 'तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने बुवाआमाको सोच थियो,' गजुरेल भन्छन्,' कक्षा ३ सम्म त्यहीँ पढेँ। स्कुलचाहिँ अहिलेको जस्तो ढलान गरेका हुँदैनथे। खरको छानो, बासको टाटीले बारेको थियो।'

गजुरेल सम्झिन्छन्, 'स्कुलको कक्षा कोठा पनि एउटै हुन्थ्यो। शिक्षक पनि एक जना मात्रै थिए। स्कुल पनि घरजस्तै हुन्थ्यो।एउटै कोठामा १ देखि ३ कक्षासम्म राखिन्थ्यो,' उनले त्यतिबेलाको शिक्षा सम्झिए। 

त्यो समयमा स्कुल पढ्दा हरेक विद्यार्थीले स्कुलबाटै चकटी,बोरा,पिर्का बोकेर स्कुल जान्थे। 'मसँग चाहिँ बस्नका लागि केही पनि थिएन। अर्को साथी रमेश कोइराला भन्ने अलिक धनाढ्य थिए। उनले घरबाटै ठूलो पिरा (पिर्का) बोकेर आउँथे। त्यसमै दुईजना बस्थ्यौँ,'गजुरेल भन्छन्, 'त्यो पिरा पनि अरूले लैजान्छ कि भनेर उनले आफ्नो नाम लेखेको थियो।'

त्यो समयमा कापी कलम भन्ने थिएन। कालोपाटीमा लेख्थे सबैले। भन्छन्, 'चुरोटजस्तो लाम्चो चक हुन्थ्यो, त्यसैले लेख्दै मेट्दै गर्नुपर्थ्यो। त्यही पाटी बोक्यो स्कुल गयो।'

उनका अनुसार त्यस समय छोरीहरूलाई खासै स्कुल पठाइँदैन थियो। कक्षमा भएका ४० जनामध्ये ४-५ जना मा केटीहरू हुने गरेका उनले बताए। 'खाजा पनि घरबाटै लैजान्थ्यौँ, मकै,रोटी यस्तै यस्तै बोकेर जान्थ्यौँ,' गजुरेलले स्कुलका दिनहरू सम्झिए। 

त्यतिबेला होटल,नास्ता पसल भए पनि अधिकांश मानिससँग त्यो किन्ने क्षमता हुँदैनथियो। 

३ कक्षा पास गरेपछि भने उनी २ किलोमिटर टाढा रहेको हाई स्कुल (सार्वजनिक माध्यमिक विद्यालय) बेङ्गाडावरमा भर्ना भए। उनले त्यहीँबाट एलएलसी दिए। त्यसपछि भने उनी उच्च शिक्षा हासिल गर्न काठमाडौँ आए।

उनका अनुसार उनको गाउँका काठमाडौँ आएर पढ्ने ३,४ जना मात्रै थिए। 'अहिलेजस्तो एउटा रुममा २,३ जना बस्ने भन्ने हुँदैन थियो। गाउँका ७,८ जना नै एउटै रुममा बसेका थियौँ। भाडा पनि सस्तै थियो।'

२०३५ सालमा एलएलसी पास गरेका उनले एलएलबीसम्म अध्ययन गरे। 

३ दिन ३ रात जंगलमा बास 

२०२८ सालमा महेन्द्र राजमार्ग बनिरहेको थियो। ढल्केबरबाट जनकपुरधाम जाने बाटोको ट्रयाक पनि खोल्ने काम भइरहेको थियो। 'बाटो भर्खर खनेको थियो, एउटा गाडी गाउँबाट बिहान मान्छे बोकेर जनकपुर जान्थ्यो, बेलुका लिएर आउँथ्यो। स्कुल अलिक टाढा थियो, कहिलेकाहीँ हामी सित्तैमा चढ्न खोज्थ्यौँ।'

तर एक दिन भने आफ्नै स्कुलका अग्रज दाइलाई सहचालकले भाडा नदिएको भन्दै भकुरे। 'सहचालकले मात्रै होइन,ढल्केबरका बजारै उठेर कुटेछन्। भोलिपल्ट त स्कुलका विद्यार्थीहरू नै उठेर ढल्केबरका पसलका सामान फुटाउने,लडाउने पोखाउने गर्न थाले,' उनले त्यतिबेलाको घटना सुनाए। 

'त्यो भीडमा म पनि थिएँ, साथीहरूको लहैलहैमा लागेर उपद्रो मच्चाएँ, गजुरेल भन्छन्, 'अरूले के के लगे तर, मैलेचाहिँ एक बट्टा चुरोट लुट्न पाएको थिएँ।'

लुटपाट मच्चाएपछि भागाभाग भएको र डरले साथीहरूसँग ३ दिन ३ रात त जंगलमा बस्नुपरेको उनले सम्झिए। 

दिउँसो स्कुल, साँझ-बिहान गोठालो

उनका  घरमा २,३ हल गोरु,गाईभैँसी र खोरभरि बाख्रा थिए। तिनीहरूलाई घर नजिकैको जंगलमा छोड्न जान्थे गजुरेल।अनि स्कुलबाट आएर उनी गाईवस्तुको गोठालो लाग्थे। घरमा दुई जनाजति गोठाला पनि राखिएका गजुरेल बताउँछन्।उनीहरू नहुँदा मात्र उनी गोठालो जाने गर्थे। 

'१०-१२ बिगाह जमिन थियो, सबैको काम खेतीपाती नै थियो। कसैको पनि जागिर थिएन। गाउँभरि ४० वटा जति घर थिए। अधिकांश खेतीपातीमा नै निर्भर थिए,' गजुरेल भन्छन्, 'मेलापात अर्मपर्म सबै चल्थ्यो। पैसामा किन्ने भनेको कमै हुन्थ्यो। अहिलेको जस्तो बारीमा पलेका खानेकुराहरू किनेर खाने चलन थिएन।'

'काँधमा बाकस बोकेर काठमाडौं आएँ'

एसएलसी सकेपछि उनी काठमाडौं आए। नातेदार पर्ने नवराज सुवेदीको घर ललितपुर पुल्चोकमा बसे। त्यसको केहि महिनापछि फेरि गाउँ गए र फर्किर ल क्याम्पसमा भर्ना भए। उनका गाउँका जेत बहादुर कार्की भन्ने थिए। जो अहिले न्यायाधीश छन्। 'काठमाडौं आउँदा बाक्सा बोकेर आउने चलन थियो। त्यो पनि टिनको, अहिले पो झोला,ब्याग अनेक थरीका सामान बोक्ने छन्,’उनले हाँस्दै भने,‘मैले त काठमाडौं आउँदा काँधमा बाक्सा बोकेर आएको। के गर्नु त अरू सामान बोक्ने थिएन।’ 

आफूले भोगका ती मीठा पलहरू अबका पुस्ताले भने नपाउने उनी बताउँछन्। 

'विदेशीले हाफ पाइन्ट लगाएको देख्दा हेरेको हेर्यैँ भएँ'

पुल्चोकमा थिए गजुरेल। आँखा अगाडि विदेशी महिलाले छोटो लुगा लगाएको देखेपछि तीन छक्क परे। ‘मैले कहिल्यै पनि महिलाले हाप पाइन्ट लगाएको देखेकै थिइनँ, म त हेरेको हेर्यैँ भएँ। केटी मान्छेले हाप पाइन्ट लगाएर हिँडेको नदेख्या म, त्यो देखेपछि त के के नै जस्तो लाग्यो। अचम्म लाग्यो।’ 

एक पटक उनलाई कुइरे (गोरा जातिका मानिस) ले अंग्रेजीमा नारायणी कता छ भनेर सोध्यो। तर गजुरेलले अंग्रेजी बुझेनन्। बरु उनलाई लाग्यो - त्यसले कसरी अंग्रेजी बोलेको होला !

काठमाडौंबाट दुई रुपैयामै पथलैया

गजुरेलका अनुसार त्यस समय गाडीभाडा २ रुपैयाँदेखि थियो। ट्रकमा चढेर पथलैयासम्म पुग्दा उनले २ रुपैयाँ भाडा तिर्नुपर्थ्यो। 'बसमा चाहिँ ८-१० रुपैयाँ लिन्थ्यो,' गजुरेल भन्छन्, 'गाडीको पछाडिको सिटमा बस्दा चाहिँ ५ रुपैयाँमा नै घर पुग्थ्यौँ।' 

तर पथलैयाबाट भने अलि बढी भाडा तिर्नुपर्ने गजुरेल सुनाउँछन्।

उकेरामा प्रकाशित हिजोका कुराका सामग्री

२१ असार, २०८०, १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।