दूध उत्पादक किसानलाई नगरपालिकाले प्रतिलिटर डेढ रुपैयाँ अनुदान दिने

दूध उत्पादक किसानलाई नगरपालिकाले प्रतिलिटर डेढ रुपैयाँ अनुदान दिने

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ।

नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो। 

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा रु २६ लाख २० हजार अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा टेकराज पौडेलले बताए।

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका चार सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो। यस वर्ष चार सहकारीमार्फत सङ्कलित १७ लाख ४७ हजार दुई सय लिटर दूधका लागि अनुदान उपलब्ध गराएको उनले बताए। नगरपालिकाले सहकारीलाई चेक हस्तान्तरण गरेको छ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दुग्ध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र कावासोती–१७ को जनकल्याण दुग्ध विकास सहकारी मार्फत सङ्कलित दूधका लागि अनुदान प्रदान गरिएको हो।

कावासोती नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। चार वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई एक करोड १६ लाख अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले पहिलो वर्ष प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

नगरप्रमुख विष्णुप्रसाद भुसालले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए। आगामी आव २०८०/८१ मा दूधको अनुदान रकम  वृद्धि गरिने उहाँले बताए। किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ।  

२० असार, २०८०, ०८:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।