अवार्ड लिनेकै खडेरी, उत्कृष्ट नायक नायिका घोषित गरिएका पल र पूजा नै गएनन्

अवार्ड लिनेकै खडेरी, उत्कृष्ट नायक नायिका घोषित गरिएका पल र पूजा नै गएनन्

काठमाडौं : डिसिने अवार्डको १३ र १४ औंं संस्करण सम्पन्न भएको छ।

सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा दुई वर्ष अघिदेखिको अवार्ड एकैपटक प्रदान गरिएको थियो। 

सय हाराहारी अट्ने रसियन कल्चरको हलमा चलचित्रकर्मीकै उपस्थिति भने न्यून थियो। अधिकांश सिट खाली थिए। अवार्ड जितेकाहरू पनि अवार्डमा सहभागी भएको देखिएन। नाम चलेका कलकारसमेत अवार्ड समारोहमा थिएनन्। 

समारोहमा १३ औं संस्करणअन्तर्गत वर्ष २०७७ मा प्रदर्शनमा आएका सात वटा चलचित्रबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान  गरिएको थियो। जसमा डिसिने अवार्ड २०७७ अन्तर्गत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘श्री’बाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड 'हिरो रिटन्स'बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मीपूजा’बाट जाह्वनवी बस्नेत,नृत्य निर्देशकको अवार्ड चलचित्र 'गुड फ्रेण्ड'बाट अजय स्याङताङ र सह अभिनेताको अवार्ड 'हिरो रिटन्स'बाट रोशन श्रेष्ठले प्राप्त गरेका छन्। 

उनीहरू भने अवार्ड समारोहमा सहभागी देखिए। तर,चौथौं संस्करणको डिसिने अवार्ड २०७८ मा १३ विद्यामा अवार्ड प्रदान गरिएको थियो।

यस वर्षको अवार्डमा ‘म यस्तो गीत गाउँछु २’ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त जितेको थियो। सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड हात पारेका थिए। यसै चलचित्रबाट पल शाहलाई उत्कृष्ट अभिनेता, पूजा शर्माले उत्कृष्ट अभिनेत्री घोषित गरिएको थियो। तर, उनीहरू अवार्ड समारोहमा देखिएनन्।

आयोजकले दुवै सुटिङमा व्यस्त भएकाले अवार्ड समारोहमा नआएको जानकारी दियो। तर, पल शाह भने यो समयमा केएल टावरमा आफ्नो म्युजिक भिडियोको कार्यक्रममा सहभागी थिए। 

अवार्ड प्राप्त गरेकाहरू पनि समारोहमा नआएपछि उनीहरूका निकट मान्छेहरूले अवार्ड लिइरहेका थिए। पल र पूजाको अवार्ड सुदर्शनले लिए।

सोही समारोहमा बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त पारे। उनीहरू भने समारोहमा देखिए। 

यस्तै चलचित्र चिसो एष्ट्रेबाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र हेल्लो जिन्दगीबाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र लप्पन 'छप्पन २' बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाकारको अवार्ड हात पारे। प्रधान भने समारोहमा थिएनन्। उनको अवार्ड उनका भाइले लिए। 

चलचित्र ‘हेल्लो जिन्दगी’बाट राजराज शिवाकोटीले उत्कृष्ट गायक र चलचित्र यही फिल्मबाट निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन्। 

अवार्ड प्राप्त गर्ने अधिकांश फिल्म फ्लप थिए। 

अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछवि रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। 

१९ असार, २०८०, ११:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।