आफ्नो उच्चशिक्षाको जग बसाउने त्रिचन्द्रको बेहाल देखेर रोइरहेछन् विज्ञ विद्यार्थी

आफ्नो उच्चशिक्षाको जग बसाउने त्रिचन्द्रको बेहाल देखेर रोइरहेछन् विज्ञ विद्यार्थी

काठमाडौं : दरबार हाइस्कुल र रानीपोखरीको पूर्वतर्फ घण्टाघरसहितको ऐतिहासिक तथा पुरातात्विक संरचनामा फैलिएको त्रिचन्द्र कलेज यतिबेला रुग्ण अवस्थामा छ। २०७२ को भूकम्पले यहाँका पुरातात्विक भवन जीर्ण बनायो। त्रिभुवन विश्वविद्यालयभन्दा चार दशक जेठो यो कलेज लामै समय भग्नावशेषकै रूपमा बस्यो।

कलेजको इतिहास जति स्वर्णीम र गौरवपूर्ण लाग्छ वर्तमान त्यस्तो पाउन सकिँदैन। देशका प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्धप्रतिष्ठित व्यक्ति जन्माएको कलेज उनीहरूकै अदूरदर्शिता र चेतनाशून्यका कारण चमक गुमाउँदै गएको छ।

बल्ल सरकारले जीर्णोद्धार शुरू गर्यो। तर, विज्ञहरू सहमत छैनन् अहिलेको पूनर्निर्माण प्रक्रियाबाट। त्रिचन्द्रबाटै उच्च शिक्षा हासिल गरेका बरिष्ठ चिकित्सक डा.मधु घिमिरे त्रिचन्द्रको अवस्था देख्दा रून मन लाग्ने बताउँछन्। दरबार हाइस्कुल पुननिर्माण देखिसकेपछि त्रिचन्द्रको अवस्था हेरेर आफूलाई विरक्त लागेको उनले बताए।

बेलायतमा रहेको अक्सफोर्ड विश्वविद्यालय घुम्न जाँदा लाग्थ्यो मान्छेहरू त्यहाँ पढ्न मात्र आउँदैनन्। मन्दिर मानेर दर्शन गर्न आउँछन्। एकेडेमिक टुरिज्मको हब हो अक्सफोर्ड। त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा हामीले विकास गर्न किन सकेनौं?

त्रिचन्द्र यतिबेला जर्जर अवस्थामा छ। कलेजका केही भवनका भुईं र भित्ताहरूमा लेउ पलाइसकेको छ। भुइँतलाका कतिपय कक्षा कोठामा पानी चुहिने समस्या छ। भित्ताहरू चर्किएका छन्। नजिकैको दरबार हाइस्कुल र रानीपोखरीले नयाँ रूप पाइसक्दा पनि त्रिचन्द्रप्रति राज्यको आँखा नपर्ने दुर्भाग्य भएको डा घिमिरेको बुझाई छ।

‘मैले त त्रिचन्द्रपछि विश्वविद्यालय बेलायतमा अध्ययन गरेको हुँ। बेलायतमा रहेको अक्सफोर्ड विश्वविद्यालय घुम्न जाँदा लाग्थ्यो मान्छेहरू त्यहाँ पढ्न मात्र आउँदैनन्। मन्दिर मानेर दर्शन गर्न आउँछन्। एकेडेमिक टुरिज्मको हब हो अक्सफोर्ड। त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा हामीले विकास गर्न किन सकेनौं? कलेजको पुरातात्विक र मौलिक रूपलाई किन जोगाउन सकिरहेका छैनौं, यो गम्भीर प्रश्न छ’, उनले भने।

त्रिचन्द्रमै अध्ययन गरेका शिक्षाविद केदारभक्त माथेमा त्रिचन्द्रको अवस्था देखेर सरकारदेखि दिक्क लागेको सुनाउँछन्। सहरी केन्द्रमा रहेको ऐतिहासिक कलेजप्रति राज्य सञ्चालकहरूको ध्यान जान नसकेकोमा आफू आश्चर्यमा परेको बताउँछन्।

अहिले भइरहेको पुनर्निर्माणमा उनी सहमत छैनन्। कलेजलाई नयाँ रूप दिन बेग्लै मास्टर प्लान बनाउनु जरुरी रहेको उनको भनाइ छ।

‘त्रिचन्द्रलाई नयाँ रूप दिन पहिलो त मास्टर प्लान चाहिन्छ। कलेजको सबै जग्गा नापजाँच गरेर विज्ञहरू सम्मिलित समूहले मास्टर प्लान बनाउनु जरुरी छ। कलेज एउटा भव्य अर्बन कलेजका रूपमा विकास गर्न योग्य छ। कलेजको मौलिकता र कलालाई नष्ट नगरी प्रिमियर कलेजका रूपमा विकास गर्नु जरुरी छ,’ उनी भन्छन्, ‘त्रिचन्द्र ल्यान्डमार्क ठाउँमा कलेज रहेकाले यसलाई डिग्री र पिएचडीसम्म अध्ययन गर्नसक्न थलोका रूपमा विकास गर्न सकिन्छ। त्यसका अलावा एकेडेमिक भिलेजका रूपमा अघि बढाउन सकिने प्रशस्त आधारहरू छन्। एकेडेमिक हबका रूपमा सेमिनार, बैठक, अध्ययन अनुसन्धान गर्न सकिने किसिमको संरचनाहरू निर्माण गर्न सकिन्छ।’

त्रिचन्द्र कलेजलाई नयाँ स्वरूप दिनका लागि धेरै चिन्तन मनन् हुनु जरुरी रहेको माथेमाको तर्क छ। सेन्टर अफ हाइयर लर्निङ सेन्टरका रूपमा त्रिचन्द्रलाई विकसित गर्न पहिलो कुरा संरचना निर्माण प्राथमिकतामा राख्नुपर्ने अनि जग्गालाई कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा ठोस योजना हुनुपर्ने उनको सुझाव छ।

सोही कलेजका उत्पादक प्राडा आमोदमणि दिक्षित कलेजको जर्जर अवस्था देख्दा राज्यपक्षप्रति धिक्कार लागेको बताउँछन्। काठमाडौंको मुटुमा ऐतिहासिकता बोकेको कलेज टुहुरो जस्तो लागेको उनको अनुभव छ।

‘हामी यो कलेजको इतिहास जोगाउने प्रयासमा जुट्नुपर्छ भन्नेमा छौं। भवनको मौलिकता र पुरातात्विक सौन्दर्यता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। ऐतिहासिकता र भब्यता जोगाउँदै कलेजलाई शैक्षिक गन्तव्यका रूपमा विकसित गर्न आवश्यक भइसकेको छ,’ प्राडा दिक्षित भन्छन्।

इतिहास जगेर्नाको पहल
एक शताब्दीअघि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर उच्च शिक्षाको सुरुवात गर्ने त्रिचन्द्र कलेजको १९७६ असोज २७ गते तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उद्घाटन गरेको इतिहास छ।

करिब १४ महिना लगाएर ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरी निर्माण भएको कलेजको भवन यतिबेला जीर्ण बनेपछि डा. मधु घिमिरेको नेतृत्वमा कलेज संरक्षण समूह बनेको थियो।

भुतपूर्व विद्यार्थीहरूको अगुवायमा त्रिचन्द्र बचाउने अभियानको थालनी भएको थियो जुन अहिले पनि जारी छ। डा.मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे, केदारभक्त माथेमा, प्राडा आमोदमणि दिक्षित, सुरेशराज चालिसे, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनी, दमननाथ ढुंगाना, ज्ञानेन्द्रराज तुलाधर, किशोर नेपाल, किशोर थापालगायतले मास्टरप्लान बनाएर इतिहास जगेर्ना गर्ने पहल थालेका छन्।

राणाजीहरूका बेला खुलेको यस्तो कलेजलाई त्यतिकै छाड्नु हुँदैन। राजधानीको मुटुमा रहेको पुरानो शैक्षिक संस्थालाई अहिले प्रजातन्त्रको बेलामा थेग्ने मात्र होइन फस्टाउने उपाय पो खोज्नुपर्छ। यसलाई एउटा टेम्पल (मन्दिर) जस्तो बनाउनुपर्छ।

कलेज संरक्षण उक्त समूहले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो योजना सुनाइसकेका छन्। डा. घिमिरेका अनुसार कलेजको र घन्टाघरको ऐतिहासिक महत्वलाई कायम राखेर राष्ट्रिय मौलिक सम्पदा र धरोहरका रूपमा आवश्यक भौतिक मर्मत र दिगो संरक्षण सुनिश्चित गर्न सुझाव दिइएको थियो।

नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो योजना सुनाउने तयारीमा छ यो समूह। संरक्षण समूहले त्रिचन्द्र कलेज परिसर तथा परिसरबाहिर रहेका कलेजका अचल सम्पत्तिसमेतलाई समेटेर त्रिचन्द्रको वातावरणीय र भौतिक सबलीकरण गर्ने, कलेजको शिक्षा प्रदान शक्तिको अर्थपूर्ण सबलीकरण गर्ने प्रस्ताव अघि सारेका छन्।

अहिले शहरी तथा भवन निर्माण विभागले त्रिचन्द्रको पुनर्निर्माण कार्य गर्दै आएको छ। यसका लागि ५१ करोड रूपैयाँ विनियोजन भइसकेको छ। जीर्ण भइसकेका केही भवन पुनर्निर्माण गर्न ठेकेदार कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले करिब ३४ करोड ६७ लाख ४६ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको छ अहिले।

त्रिचन्द्रलाई एकेडेमिक भिलेज किन नबनाउने ?
डा.मधु घिमिरे 
एक वर्ष पहिले म र श्रीमती नयाँ सडकबाट नारायणहिटीतिर आउँदै थियौँ। भोटाहिटीबाट अघि बढेपछि दरबार हाइस्कुलको नयाँ भवनको संरचना देखेँ। निकै खुशी लाग्यो। यो आफैँले बनाउनुपर्ने हो तर विदेशीको सहारा लिएको पाउँदा खिन्न लागे पनि हेर्दा राम्रो लाग्यो।

चीनले बनाइदिएको भवन शानदार लाग्यो। दाँयातिर रानीपोखरीको संरचना पनि बहुत राम्रो लाग्यो। रानीपोखरी नेपाल सरकार आफैँले बनाएको हो। त्यसको पूर्वतिर रहेको त्रिचन्द्र क्याम्पसको संरचना हेर्दा चाहिँ दिक्क लाग्यो। आफू पढेको बिल्डिङ र क्लासरूमहरू चौपट लाग्यो। बगैंचा राम्रो थियो, बेहाल भएछ। त्यो देख्दा रुनै मन लाग्यो।

म पढेको कलेज यस्तो भएछ भनेर श्रीमतीलाई देखाएपछि उनले सुझाव दिइन्, ‘केही गर्नुहोस्।’ त्यसैबेलादेखि मनमनै गुन्दै हिँडे। त्रिचन्द्रका बारेमा केही गरौँ भन्ने उद्देश्यले फेसबुकमा लेखेँ। त्यसको प्रतिक्रिया राम्रो आयो। सबैले केही नयाँ काम सुरू गर्नुहोस भन्ने सुझाव दिनुभयो।

अहिले सरकारी निकायले धरहरालाई राम्रो बनाउने र त्यसको पूर्वपट्टी राम्रो भवन बनाएर क्याम्पस चलाउने सोच बनाएको रहेछ। त्यो राम्रो भएन। हाम्रो परिकल्पना भनेको त, त्रिचन्द्रलाई मिनी अक्सफोर्ड, मिनी क्यामब्रिज नै बनाउने हो।

दमन दाइ(दमननाथ ढुंगाना), प्रकाशचन्द्र लोहनीलगायतले तपाईं शुरू गर्नुहोस्, हामी सहयोग गर्छौ भन्नुभयो। क्याम्पसका बारेमा मेरो दिमागमा धेरै कुराहरू खेलिरहे। म त १०-१२ वर्ष बेलायत बसेर पढेको मान्छे हुँ। अक्सफोर्ड विश्वविद्यालय पनि राम्ररी हेरेको छु।

अक्सफोर्डबाट धेरै राम्रा र महान मान्छेहरू उत्पादन हुन्छन् र भएका छन्। उनीहरूले धेरै राम्रा कामहरू गर्ने गरेका छन्। अक्सफोर्डको परिसरलाई एकेडेमिक टेम्पल भन्ने गरिन्छ। टेम्पलका रूपमा श्रद्धा व्यक्त गर्ने गरिन्छ। अक्सफोर्डमा मान्छेहरू पढ्न मात्र आउँदैनन् दर्शन गर्न पनि आउँछन्। पर्यटकहरू घुम्न आउँछन्।

घुम्न आएका पर्यटककै आम्दानीबाट अक्सफोर्डले धेरै खर्च धान्न सक्छ। त्यसपछि मैले त्रिचन्द्रका बारेमा सोचेँ। दरबार स्कुल र रानीपोखरी यति राम्रो छ, दक्षिणपट्टी प्रताप मल्लको शालिक छ, उत्तरपट्टी जमलको त्रिचन्द्रकै त्यत्रो जग्गा छ। यि सबैलाई समेटेर एउटा राम्रो एकेडेमिक भिलेज बनाउन हामीले किन नसक्ने?

अनि यसभित्र सबै किसिमको फ्याकेल्टीहरू खोलौँ। रिसर्च केन्द्रहरू खोलौँ। अध्ययन गर्नका लागि वा रिसर्चका लागि पुस्तकालयहरू बनाउन सकौँ। यी सबै विषयहरूमा मान्यवरहरूसँग कुरा गरेँ। दमन दाई, डा.लोहनी, केदारभक्त माथेमासँग कुरा गरेँ। अरु-अरु धेरै दिग्गजहरूसँग कुरा गरेँ। डा.आमोदमणि दिक्षितसँग कुरा गरेँ। डा.मृगेन्द्रराज पाण्डे ९२ वर्ष हुनुभयो। उहाँ पनि त्यहीँ पढ्नुभएको हो, उहाँसँग पनि कुरा शेयर गर्यौं।

सबैसँग सल्लाह भएपछि केही पहल गरौँ भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव राख्यौँ। उहाँ सकरात्मक देखिनुभयो, चिन्तित छौँ भन्नुभयो। भग्नावषेश हुन दिदैनौँ भन्ने वाचा गर्नुभयो। तर, हाम्रो भनाइ के हो भने भवनहरू त्यतिकै बनाएर मात्र हुँदैन। त्यसलाई लिगेसीको रूपमा तयार गरिनुपर्छ वा सबैभन्दा पुरानो र ठूलो शैक्षिक संस्थालाई सामान्य मान्नुहुँदैन।

राणाजीहरूका बेला खुलेको यस्तो कलेजलाई त्यतिकै छाड्नु हुँदैन। राजधानीको मुटुमा रहेको पुरानो शैक्षिक संस्थालाई अहिले प्रजातन्त्रको बेलामा थेग्ने मात्र होइन फस्टाउने उपाय पो खोज्नुपर्छ। यसलाई एउटा टेम्पल (मन्दिर) जस्तो बनाउनुपर्छ। एकेडेमिक भिलेजका रूपमा विकास गरिनुपर्छ। घन्टाघरको पूर्वदेखि दरबार स्कुलसम्मलाई र जमलदेखि प्रताप मल्लको शालिकसम्मलाई एकेडेमिक भिलेजका रूपमा घोषणा गर्नुपर्छ।

त्यहाँ फन्ट तयार गरेर साइन्सको लाइब्रेरी, आर्टको सेन्टरहरू, म्यानेजमेन्टको इन्स्टिच्युटहरू बनाउनुपर्छ। हामीले प्रधानमन्त्रीलाई राम्रो मास्टर प्लान बनाउने भनेका छौं। त्यो मास्टर प्लानअनुसार अघि बढौं भनेका हौं। एउटा ठेकेदारलाई हचुवाका भरमा काम दिएर त्रिचन्द्रको अस्तित्व समाप्त नपारौं भनेका छौं।

अहिले सरकारी निकायले धरहरालाई राम्रो बनाउने र त्यसको पूर्वपट्टी राम्रो भवन बनाएर क्याम्पस चलाउने सोच बनाएको रहेछ। त्यो राम्रो भएन। हाम्रो परिकल्पना भनेको त, त्रिचन्द्रलाई मिनी अक्सफोर्ड, मिनी क्यामब्रिज नै बनाउने हो।

त्रिचन्द्र नेपालको पहिलो कलेज र आशाको केन्द्र हो। यहाँ पढेका विद्यार्थीहरू प्राध्यापक भए, सरकारका सचिवहरू भए, ठूला-ठूला व्यक्तिहरू पढ्नुभयो र पढाउनुभयो। तर आज क्याम्पसको यस्तो अवस्था देख्दा मन चसक्क हुन्छ।

त्रिचन्द्रको धेरैतिर जग्गा पनि छ। त्यो जग्गा अरुलाई दिएर शैक्षिक संस्थालाई खुम्चाउनु हुँदैन। व्यापारिक भवनहरू ठड्याएर त्रिचन्द्रलाई सिद्ध्याउनु हुँदैन। हामी यतिबेला त्रिचन्द्रमा पढेर विद्धान भएकाहरूलाई एकजुट गराएर क्याम्पसलाई नयाँ अवधारणा अनुसार तयार गर्नुपर्छ भन्ने सोचमा छौं।

पहिलो काम भनेको घन्टाघर जोगाउनुपर्छ। एउटा कहानी पनि छ- त्रिचन्द्र कलेज उद्घाटन गरेर दरबार फर्किएपछि तत्कालीन त्रिभुवन चन्द्रले ‘मैले आफ्नो खुट्टामा आफैँ बन्चरो हानेँ’ भनेर विलौना गरेका थिए रे। त्यसैले यो क्याम्पसको बेग्लै इतिहास छ।

हामी यतिबेला नयाँ योजनाका साथ अघि बढेका छौं । एउटा बृहत सेमिनार गरेर राम्रो मास्टर प्लान तयार गरी सरकारसँग पेश गर्ने सोचमा छौँ। त्यही प्लानअनुसार सरकारले काम गरोस् भन्ने अपेक्षामा छौँ। त्रिचन्द्रले यतिबेला माया खोजेको छ। यसका लागि राष्ट्रिय निर्णय आवश्यक छ।

यसका लागि सरकारले बेग्लै समूह तयार गरेर काम जिम्मा दिनुपर्छ। हामीलाई पनि निगरानी गर्दै आम नागरिकको बलमा त्रिचन्द्रले नयाँ जीवन पाउनुपर्छ।

त्रिचन्द्रको अवस्था देखेर प्राध्यापकहरू रोइरहनुभएको छ
डा.आमोदमणि दिक्षित
मैले १९६५ देखि ०६७ सम्म त्रिचन्द्र कलेज पढेको हुँ। त्यहाँबाट आइएस्सी पास गरेको हुँ। गाउँबाट आएको म जस्ताका लागि त्रिचन्द्रमा पढ्न पाउनु भाग्य नै थियो। ठूलो कलेज, देख्दै ठूला-ठूला भवन पनि। त्यो बेला नेपालमा भर्खर भूकम्प विज्ञानको पढाइ शुरू भएको थियो। त्यसले बेग्लै गौरववोध हुन्थ्यो।

घन्टाघरको आफ्नै इतिहास, घन्टाघर बज्दा पनि मनमा तरंग ल्याउथ्यो। त्यही घन्टाघरको मुनितिर हाम्रा कक्षाहरू हुन्थे। मैले बाहिर पढेर आइसकेपछि कालन्तरमा त्रिचन्द्रमा भूगर्व शास्त्रको शिक्षण विभाग बन्यो। त्यहाँ मैले १० वर्षजति मास्टर डिग्रीका विद्यार्थीहरूलाई आगन्तुक प्राध्यापकका रूपमा पढाएँ। भूगर्व विभागमा काम गर्थें तर विश्वविद्यालयको आग्रहमा पढाउने गर्थें।

​​​​​​​अहिले त्यो बाटो हिँड्दा देख्छु, ऐतिहासिक भवनहरू भग्नावशेष भइरहेका छन्। काठमाडौंको मुटुमा त्यत्रो ऐतिहासिक भवनहरू खण्डहरमा परिणत भइरहेका छन्। क्याम्पस टुहुरो भइरहेको छ। शिक्षा लिने ठाउँ नै टुहुरो भएपछि देश कस्तो होला? त्रिचन्द्र नेपालको पहिलो कलेज र आशाको केन्द्र हो। यहाँ पढेका विद्यार्थीहरू प्राध्यापक भए, सरकारका सचिवहरू भए, ठूला-ठूला व्यक्तिहरू पढ्नुभयो र पढाउनुभयो। तर आज क्याम्पसको यस्तो अवस्था देख्दा मन चसक्क हुन्छ।

त्रिचन्द्र नेपालको पहिलो महाविद्यालय हो, केन्द्रीय क्याम्पस कीर्तिपुरभन्दा अघि नै निर्माण भएकाले यसको जग्गालाई पनि जर्गेना गर्नुपर्ने हाम्रो दायित्व छ। यसको स्वामित्वमाथि अरु कसैको हस्तक्षेप नहोस्।

त्रिचन्द्रका जताततै भवन छन्। यता घन्टाघर, उता रानीपोखरी किनार र विश्वज्योतिको पछाडि पनि कलेजको संरचना थियो। पाँच-सात रोपनी क्षेत्रफलमा थियो। त्यहाँ केमेष्ट्रीका बंगाली गुरू बस्नुहुन्थ्यो। हामी पढ्न जाने गर्दथ्यौं।

​​​​​​​यता बागबजारमा रेडक्रस बसेको भवन पनि त्रिचन्द्रकै थियो। अहिले आएर हेर्दा अवस्था दयनीय छ। सरस्वती सदन आफैँमा ऐतिहासिक भवन हो। वेदप्रकाश लोहनीले डिजाइन गर्नुभएको पहिलो आरसीसी भवन हो त्यो। अहिले हेर्दा त्यो भवनको साँघुरो ठाउँमा भूगर्व शिक्षण समिति ओत लागेर बसेको देखेँ।

​​​​​​​भारतीय रेल स्टेसन जस्तोगरी ओत लागेर बस्नुभएको छ प्राध्यापकहरू। यस्तो ऐतिहासिक संरचना के भएको यस्तो? अब हाम्रो आकांक्षा भनेको त्रिचन्द्रको भब्यता जोगाउनुपर्छ भन्ने हो। जहाँ पायो त्यही, जस्तो पायो त्यस्तै रूपमा भवन निर्माण गरियो भने भब्यता लोप हुन्छ। मौलिकता मासिन्छ। त्यसैले ऐतिहासिक भब्यताको बढोत्तरी हुनुपर्छ।

सरस्वती सदन र सँगै रहेको अर्को भवन जोगाएर अघि बढ्नुपर्छ। नब्बे सालको भूकम्पछि बनाइएको भब्यतालाई संरक्षण हुनुपर्छ। गरिमामय भवन संरक्षण गर्नैपर्छ। प्राङ्गणलाई थप स्तरोन्नति गरेर अघि बढ्नुपर्छ।

यता, बागबजारदेखि जमलसम्मको बास्तुकला र ऐतिहासिक भब्यतालाई सुरक्षित गरिनुपर्छ। सौन्दर्यता र महत्वको उजागर गरिनुपर्छ भन्ने लाग्छ। त्रिचन्द्र नेपालको पहिलो महाविद्यालय हो, केन्द्रीय क्याम्पस कीर्तिपुरभन्दा अघि नै निर्माण भएकाले यसको जग्गालाई पनि जर्गेना गर्नुपर्ने हाम्रो दायित्व छ। यसको स्वामित्वमाथि अरु कसैको हस्तक्षेप नहोस्।

​​​​​​​अर्को महत्वपूर्ण भनेको शैक्षिक पाटो हो। यो क्याम्पसको शैक्षिक इतिहास पनि जोगाउनुपर्ने अवस्था छ। बढोत्तरी गर्नुपर्ने छ। यसलाई शैक्षिक हब जस्तो बनाइनुपर्छ।

जमलमा रहेको जग्गामा २० तले अर्को भवन बनाए हुन्छ। ऐतिहासिक भवनको अगाडि आधुनिक भवन बनाउँदा राम्रो भएन। यो मुर्ख्याइँ हो नि!

हामी टोकियो विश्वविद्यालय, स्टान्डफोर्ड विश्वविद्यालय अघितिर पुग्दा जुन शैक्षिक अनुभुति हुन्छ, त्रिचन्द्र पुग्दा त्यस्तै होस्। पर्यटकीय र शैक्षिक महत्व दर्शाउने किसिमको हुनुपर्छ।

हिले घन्टाघरको पूर्वतिर पाँचतले घर बनाउने भन्ने सुनेको छु। यसले क्याम्पसको ऐतिहासिकता मेटिन सक्छ।

यो त ‘ठाउँ न ठहर बुढीको रहर’ भएजस्तो भयो। यस्तो साँघुरो ठाउँमा अग्लो घर बनाउनु भनेको राक्षस उभिएजस्तै हो। हो, समस्याहरू छन्। क्लासहरू नपुगेका होलान्। यसका लागि लागि अन्य उपाय सोच्नुपर्छ। सबै विषय नपढाएर छानेर विषय पढाए पनि भइगयो नि! त्यसको विकल्प जमलमा रहेको जग्गामा २० तले अर्को भवन बनाए हुन्छ। ऐतिहासिक भवनको अगाडि आधुनिक भवन बनाउँदा राम्रो भएन। यो मुर्ख्याइँ हो नि!

पशुपति मन्दिर अगाडि २० तले भवन बनाउँदा मन्दिरको महत्व के होला? त्यसैले ऐतिहासिकता जोगाऔं भन्ने हाम्रो जोडबल हो।
(कुराकानीमा आधारित)

१८ असार, २०८०, १७:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।