देवरलाई बाबु बनाई छोराछोरीको नागरिकता लिने प्रपञ्च गरेपछि...

देवरलाई बाबु बनाई छोराछोरीको नागरिकता लिने प्रपञ्च गरेपछि...

बुटवल : बुटवलको वडा नम्बर १ बाट ३ जनालाई नागरिकताका लागि झुटो विवरण र सिफारिस गरेको पाइएको छ।

वडाध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ बस्ने ४३ वर्षीय रमेश कसौधन र ४२ वर्षीया सीता कसौधनका ३ जना छोराछोरी रहेको भन्दै नागरिकताका लागि झुटो विवरण सिफारिस गरेको पाइएको हो। तर अनुसन्धानका क्रममा रमेश र सीताबाट अहिलेसम्म कुनै पनि सन्तान नजन्मिएको खुलेको छ। 

उनीहरूले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनी विवरण पेश गर्दै नागरिकता दिलाउने प्रयास गरेका थिए। 

सिफारिस लगेर नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा पुगेका उनीहरूको सिफारिसमा झुठा विवरण पेश गरेको गोप्य सूचनाका आधारमा प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिई थप बुझ्न इलाका प्रहरी कार्यालय बुटवललाई अनुरोध गरेको थियो। 

त्यसपछि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानमा उनीहरूले झुटो विवरण देखाएर वडाध्यक्षबाट सिफारिस गरेको भेटिएको हो। इलाका प्रहरी कार्यालय बुटवलले नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्ष बस्नेत, छोरीहरूका बुवा भनिएका रमेश र आमा भनिएकी सीतासँग सोधपुछ गरेको थियो। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले कसौधनका ३ छोराछोरीहरूको विवरणबारे आवश्यक बुझ्न भनी प्रशासनबाट आएको अनुरोधअनुसार सोधपुछ गरेर प्रशासनमै पठाएको बताए। यसबारे उनले थप बताउन भने चाहेनन्। 

नागरिकताका लागि सिफारिस गरिएका सरिता कसौधन, मनोज कसौधन र सन्ध्या कसौधन रमेश र सीताका छोराछोरी नभएर रमेशका दाजु राजकुमार कसौधन र सीता कसौधनका भएको अनुसन्धानबाट खुलेको छ। 

राजकुमार र सीताबाट ३ छोराछोरी भएपछि सीताले आफ्नै देवर (रमेश) सँग विवाह गरेकी थिइन्। ‘राजकुमार रोजगारीका लागि भारत गएपछि सीताले रमेशसँग विवाह गरिन्। अहिले नागरिकता बनाउन सिफारिस लिन जाँदा ३ वटै सन्तान रमेश र सीताले आफ्ना हुन भनी झुटो विवरण पेश गरेको भेटिएको छ’, इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले भने। 

ज्ञवालीले प्रहरीको अनुसन्धानबाट पनि रमेश र सीताका छोराछोरी अहिलेसम्म नभएको र सिफारिस गर्दा झुटो विवरण पेश भएको भेटिएको उनले बताए।

यसबारे थप कारबाहीका लागि आफूहरूले जिल्ला प्रशासन कार्यालयमा पठाएको बताए। राजकुमारले तीन सन्तान आफ्नो भएको र आफू रोजगारीका लागि भारत गएको अवस्थामा श्रीमतीले रमेशसँग बिहे गरेको भनेर प्रहरीमा पनि बयान दिएका छन्। त्यही अनुसार हामीले कारबाहीका लागि सिफारिस गरेका हौँ’, उनले भने। 

नागरिकताका लागि झुटो विवरण पेश गरेकाले उनीहरूमाथि नागरिकता ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको ज्ञवालीले बताए। 

वडाध्यक्ष बस्नेतले भने रमेश र सीताबाटै सन्तान जन्मेको तर जेठी सन्तानको बिहे भए पनि अविवाहित भनी रमेशले वडामा झुटो विवरण दिएको बताए। 

वडाध्यक्ष नरेन्द्र बस्नेत

नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

१८ असार, २०८०, १३:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।