कमलामाईका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

कमलामाईका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

सिन्धुली : कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ।

१४ वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो।

कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताइन्। 

धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ। कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन्। 

मिनी ट्रेलर पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने उनले बताइन्। 

अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरूलाई यन्त्र उपलब्ध गराइएको देवकोटाले बताइन्। 

छनोटमा परेका किसानले कृषिलाई व्यवसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने उनको भनाइ थियो। 

किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन्।

कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६४ जना किसानलाई मिनी ट्रेलर र चार जना किसानलाई पावर ट्रेलर वितरण गरेको कृषि शाखाका सरोज फुयालले जानकारी दिए।

यस आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा एक सय ७० जनालाई टनेल प्लाष्टिक, ८५ जनालाई मौरीको घर र २५ मेट्रिक टन धानको बीउ वितरण गरेको थियो। 

१८ असार, २०८०, ०९:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।