साढे २ केजी सुन बरामद प्रकरणः बुटवलका बालाजी र लक्ष्मीपती सुनचाँदी पसल सिल

साढे २ केजी सुन बरामद प्रकरणः बुटवलका बालाजी र लक्ष्मीपती सुनचाँदी पसल सिल

बुटवल : रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको संलग्नता देखिएको छ। 

बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसलको उक्त सुन प्रकरणमा संलग्नता देखिएको हो। १० असारमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदह नाका हुँदै नेपालबाट भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले झण्डै साढे २ केजी सुन बरामद गरेको थियो। 

सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरूका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

अहिले बालाजी र लक्ष्मीपती सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए।

‘दुवै पसललाई सिल गरी अनुसन्धान भइरहेको छ। यसबारे अरू अहिले बताउन मिल्दैन। पछि यसबारे जानाकारी आउँछ’, उनले भने। 

बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन। लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक भने इन्द्र सुनारकी श्रीमती हुन्। 

सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको र त्यही अनुसन्धानबाट बालाजी सुनचाँदी पसल पनि संलग्नता देखिएको पसल सिल गरेको उनले बताए।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५.३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो।

करिब २ करोड मूल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधानअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए। 

बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो।

१८ असार, २०८०, ०७:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।