प्रचण्ड कामरेड : दशा र दिशा

प्रचण्ड कामरेड : दशा र दिशा

‘मिलीजुली बसौँ, बाँडिचुँडी खाऊँ’ आजका मितिसम्म काठमाडौँ शहरको राजनीतिक सत्ता यही मान्यतामा टिकेको छ। उति बेला पन्चहरू बाँडिचुँडी खान्थे। यति बेला बहुदलवादीहरू बाँडिचुँडी खाइरहेका छन्। कहिले नेपाली नागरिकलाई भुटानी बनाएर बाँडिचुँडी खाएका छन् त कहिले पशुपतिनाथको जलहरी बनाउन कफल्दो सुनको प्रयोग गरेर बाँडिचुँडी खाएका छन्।

जुन प्रधानमन्त्रीले सरकारी ढुकुटीबाट बनेको पशुपतिनाथको जलहरीमा आफ्नो नाम कुँदाउन लगाएका थिए तिनका बारे के हुन्छ ? भन्न सकिँदैन। दशौं पटक जोख्दा पनि र दशौं पटक रगड्दा पनि जलहरीमा प्रयोग भएको सुनको स्तर र तौल यकिन हुन सकेको छैन। पशुपति विकास कोषका हाकिमहरू तरतरी आँशु झारेर नौटंकी देखाउँदै छन्।

देशमा व्यवस्था नयाँ छ, तर नेता पुरानै छन्। पुरानै चलन जारी छ। उहिले पन्चायतकालमा ‘सरकार लागेको’ लोकतन्त्रवादी आन्दोलनका क्रान्तिकारी नेता सुवर्ण शमशेर राणाको सम्पत्ति पचाउन नेता र कर्मचारीहरू जालसाजीको जालो बुन्दैछन्।

भनिन्छ, देशमा धेरै परिवर्तन भएको छ। तर ती परिवर्तनलाई संख्यामा एक, दुई, तीन भनेर देखाउने उदाहरण छैन।

सक्नेले पन्चायतकालमा शाही नेपाल वायुसेवा निगम र लोकतान्त्रिक समयमा उड्डयन प्राधिकरणको नाममा गठन भएका सरकारी संस्थानको ब्रम्हलूट गरेकै छन्। ती लुट्ने र लुटाउनेको नाम उल्लेख गर्ने हो भने ‘युट्युब’ मा आगो बल्नेछ। यो जनता रमाउने बाटो हुनेछ। निःशुल्क मनोरञ्जनको बाटो।

कुनै दिगो हवाई नीतिविना पालिएका सेता हात्तीमा कति धमिरा लागे र कति धमिजा लागे भनेर जाँगर चले पत्रकार साथीहरूले केलाए हुन्छ।

गएको चुनावपछिको परिदृश्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्ड कामरेडलाई मिलीजुली सरकारको नेतृत्व गर्न दिन तयार नभएपछि प्रचण्ड कामरेडले एमाले सहितका दलको सहयोगमा सरकार बनाउनु भयो। तर, त्यो सरकार टिक्ने आधार कमजोर थिए। सरकार छ महिना पनि टिक्न सकेन। त्यसपछि राष्ट्रपतिको चुनाव राष्ट्रिय सहमतिका आधारमा गर्ने प्रचण्ड कामरेडको प्रस्ताव कारगर भयो।

उहाँको नेतृत्वको सरकार कायम राख्न कांग्रेस सरकारमा छिर्ने भयो। माओवादी, कांग्रेस, समाजवादी, जसपा, लोसपा लगायतका दलको मिलीजुली सरकार बन्यो। यसपछि देशको घटनाक्रममा तीव्रता आयो। हेर्दाहेर्दै प्रचण्ड कामरेडको सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर मानिसको अवैध निर्यात गर्ने खेलको भण्डाफोर गर्यो।

यो कुकर्ममा कांग्रेसका बाहूबली नेता बालकृष्ण खाँण, माओवादी छाडेर एमालेतिर लागेका अर्का चतुरतम नेता टोपबहादुर रायमाझीसहित दर्जनौँ तानिए।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल लगायतका थुप्रै नेता, प्रणेता र उपनेताहरू, सल्लाहकार र उच्चस्तरीय व्यक्तिहरू शङ्काको घेराभित्र छन्। बादल र रायमाझीका छोराहरू नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर देश कटाएको मुद्दामा डामिनेगरी झोसिएका छन्। विश्वास गरौँ, तिनले पक्कै पनि सजाय पाउने छन्।

यो सत्य हो, भ्रष्टाचारको फोहोरी खेलमा देशलाई चुर्लुम्म डुबाउने व्यक्तिहरूको अन्त्य कदापि शान्तिपूर्ण हुँदैन। अहिले सरकारले जुन जुन काण्डको फाइल खोलेको छ ती सँगै काण्डहरूका फाइल खुल्दै जानेछन्।

परिणामस्वरूप आगामी धेरै वर्षसम्म नेपालको सङ्घीय राजधानी कान्तिपुरको आकाशमा गिद्ध र चीलहरू मडारिई रहनेछन्।

चरम दुःख सहेर बसेका भुटानी शरणार्थीको पहिचान मेटेर उनीहरूको बिल्लिबाठ गराउने, सरकारकै आँखा अगाडि सरकारी सम्पत्ति हडप्ने र देवतालाई चढाएको सुनको जलहरी कोट्याएर आफ्नो नाफा निकाल्नेहरूका विरुद्ध जनतामा अझै जागृति आएको छैन। यो गम्भीर कुरा हो।

जनताले राजनीतिक धेरै घुमाउरा कुरा बुझेका हुँदैनन्। उनीहरूलाई परिप्रेक्ष्यमा सबै कुरा सम्झाउनु सञ्चारकर्मीहरूको कर्तव्य हो।

बुधवारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्ड कामरेड अलिकति उत्तेजित, निकै उत्साहित र निकै पुलकित देखिनु भएको थियो। यो अस्वाभाविक थिएन।

प्रचण्ड कामरेड काम गर्न सक्ने क्षमतावान् व्यक्तित्व हो। अहिलेका घटनाक्रम उहाँको अग्रसरतामा अगाडि बढेका छन् भन्न संकोच मान्नु पर्दैन।

तर, सरकारलाई काम गर्न नदिने वातावरण बढ्दै गएको छ। यसलाई कसरी रोक्ने? उहाँको मनको पोखरीमा यो प्रश्नले पौडी खेली रहेको होला।

अमेरिकाका राष्ट्रपति तथा आफ्नो जमानाका लोकप्रिय अभिनेता रोनाल्ड रेगनले सन १९८६ मा भनेका थिए –'अंग्रेजी भाषामा केही शब्द एकदमै डरलाग्दा छन् : आइ एम फ्रम दि गभर्नमेन्ट एन्ड आइ एम हेल्प टु हियर।'

आजको समयमा प्रचण्ड कामरेडका लागि रोनाल्ड रेगनका यी शब्दहरू मननीय छन्। सरकारमा रहेको मानिसले आफू त्यहाँ (जनता) सहयोग गर्न उभिएको छु भन्नु अहिलेको नेपालका लागि उत्तिकै कठिन अभिव्यक्ति मात्र नभएर विडम्बना नै हो।

भन्छन् नि, ‘थुतुनोले दम्भ कहन सकिन्छ। व्यवहारमा प्रदर्शन गर्न त बाहुबली नै हुनु पर्दछ।’

नेपालको सन्दर्भमा यति बेला प्रचण्ड बाहुबली नै हुनुहुन्छ। यो कुरामा कुनै शंका छैन। राजनीतिमा जसले साहस गर्दछ जीत उसैको हुन्छ। प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले पाँचै वर्षमा तत्कालीन शाही नेपाली सेनाको आकार पैँतालिस हजारबाट बढाएर नब्बे हजार बनाउनुपर्ने बाध्यताको सिर्जना गरिदिएको थियो।

त्यो फौजले नपुगेर तत्कालीन सरकारले थपमा पन्ध्र हजार सशस्त्र प्रहरी बलको व्यवस्था गर्यो। त्यो परिस्थितिमा सरकार आतङ्कित थियो।

बिपी कोइरालाले आफ्नो डायरीमा लेख्नु भएको : काठमाडौँको स्मरण शक्ति निकै कमजोर छ। यहाँका मान्छेहरू नेपोलियनको समयका पेरिसवासी जस्तै छन् जो प्रतिदिन कुनै न कुनै चमत्कारको अपेक्षा गर्दछन्। प्रचण्ड कामरेडले काठमाडौँको कुरा बुझ्नु भएकै होला।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालमा माओवादी विरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय आतङ्कवाद विरुद्धको अभियानको एक अङ्ग घोषित गरेको अवस्था थियो त्यो।

त्यहीबेला माओवादी नेताहरूको टाउकाको मूल्य तोकिएको थियो। नेपाल निकै छोटो समयमा त्यो परिस्थितिबाट निस्किएर आजको परिस्थितिसम्म आइपुगेको हो।

बृहत् शान्ति सम्झौतापछिको सयमा नेपालको राजनीतिक घटनाक्रममा ठुलो विचलन आएको छैन। माओवादीहरू पटक पटक राज्य सञ्चालनको पहिलो लहरमा बस्न सफल भएका छन्।

तै पनि, देशको राजनीतिक अवस्था सामान्यकृत भई सकेको छैन। देशमा फैलिएको भ्रष्टाचारले राजनीतिक दल, नागरिक समाज, ब्यवसायीवर्ग, किसान, मजदुर र सर्वसाधारण जनता अत्याधिक पीडित भएका छन्।

आजका अधिकांश नेताहरू दम्भी साबित भएका छन्। उनीहरूमा देश विकासको जूनून छैन। हुटहुटी छैन। न्याय दिने चाहना र निर्णयगर्ने क्षमता दुवै छैन।

एउटा उदाहरण सिक्टा सिँचाइको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बाहुबली नेता तथा पेशाले ठेकेदार विक्रम पाण्डे मन्त्री भएको अवस्थामा उनको ठेकेदारीमा बनेको सिक्टा सिँचाइ आयोजना भासियो। त्यो ठाडो भ्रष्टाचार थियो। तर, सिक्टा आयोजना माटोको घुलनशीलताका कारण भासिएकोले कुनै कारबाही गर्नु नपर्ने निर्णय आयो अदालतबाट। त्यो हास्यास्पद निर्णय उल्टाउने ताकत कसैमा देखिएन।

अब समय आएको छ अर्बौँ लगानी भएको सिक्टा सिचाई माटोमा घुलमिल भएको रहस्य पत्ता लगाउने। यस्ता घटनाहरूमा प्रधानमन्त्रीले जनताको पक्षमा विवेकशील हस्तक्षेप गर्ने हो भने जनताले स्वच्छताको आभास पाउन सक्छन्।

मिलीजुली सरकारका बारेमा नेपालका अनुभवहरू भिन्न भिन्न छन्। साना र गरिब देशहरूमा मिलीजुली सरकारले उन्नतिका राम्रा काम गरेका छन्। तर, नेपाली जनताले अहिलेसम्म मिलीजुली सरकारबाट अपेक्षित प्रतिफल पाउन सकेका छैनन्।

२०४६ सालको परिवर्तनपछि पहिलो पटक नेपालमा मिलीजुली सरकारको प्रारम्भ गर्ने राजनीतिज्ञ नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा हुन्।

देउवाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनाएको अल्पमतको सरकारलाई हटाएर राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाएका थिए।

नेपालमा मिलीजुली होस् वा एकल, सरकारहरूको स्थायित्व सधैँ अलमलमा परेको छ। यो मामिलामा कुनै पनि दलका नेतामा राजनीतिक स्पष्टता देखिँदैन।

दलका नेताहरूले आफ्नै स्वार्थपूर्तिका लागि सरकारमा सहभागी हुने उद्देश्य बनाएका छन्। लोकहितको त अत्तोपत्तो छैन।

मिलीजुली सरकार कमजोर हुन्छ भन्ने राजनीतिक धारणाले जरो गाडेको छ नेपालको राजनीतिमा। प्रचण्ड कामरेड आफैले माओवादी पार्टीलाई एमालेमा घुलित गराउँदा जुन प्रकारको अपमानको भार बोक्नु पर्यो त्यो नितान्त अराजनीतिक घटना थियो।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले संविधान र संवैधानिक प्रक्रियामाथि गरेको व्यभिचारले सबैलाई दुःखित तुल्यायो। ओलीको त्यो कामले नेपालको लोकतान्त्रिक प्रक्रियालाई अस्तव्यस्त तुल्यायो।

नेपाली राजनीतिको अर्को समस्या निर्वाचित जन प्रतिनिधि र कर्मचारी वर्गको टकराहटबाट सुरु हुन्छ। नेपालका उच्चस्तरीय कर्मचारीहरू अति जान्ने सुन्ने वर्गमा पर्छ । उनीहरू कसैको पनि चाकरी गर्न र कसैलाई पनि हेप्न खप्पिस हुन्छन्। सुकिला–मुकिला कर्मचारीसँग भयग्रस्त छन् नेपाली जनता। ती कर्मचारीका अगाडि बोल्नसम्म नसक्ने जन–प्रतिनिधि थुप्रै छन्।

लोकतन्त्रमा जनता मालिक हुन्छन्। तर, दाता कर्मचारी हुन्छन्। परापूर्वकालमा राजाको शासनकाल सुरु भएदेखि नै दरबार रिझाएर जनता कजाउने प्रवृत्ति विकसित भएको हो कर्मचारीहरूमा।

अधिकांश कर्मचारीहरू दरवारिया भारदारका हाँगा–बिंगा भएकाले पनि उनीहरू टुप्पोबाट पलाएका जस्ता देखिन्छन्। अतीतका कुनै सरदार वा सुबेदारको वंशमा आफूलाई झुन्ड्याएर ‘धाक’ जमाउने कर्मचारीको सङ्ख्या अहिले पनि घटेको छैन।

कर्मचारीतन्त्र जुवाको खाल बनेको छ। यो संस्थाका पूर्ववर्ती हाकिमहरूको पतन क्रमशः कसरी हुँदै आएको छ त्यो त जग जाहेर नै छ।

जे भए पनि अहिले प्रचण्ड कामरेडमा जोशको कमी छैन। उहाँ नेपालका सरकार प्रमुखहरूभन्दा अलिकति अलग हुन खोज्नु भएको होला। तर, देशको आर्थिक अवस्था सरकारले अवलोकन गरेको भन्दा र जनताले सोचेको भन्दा कठिन र जटिल छ। २००७ सालका अन्तरिम प्रधानमन्त्री मोहन शमशेरदेखि अहिलेका सर्व शक्तिमान प्रधानमन्त्री प्रचण्ड कामरेडसम्म – सबै सरकार प्रमुखहरूले देश विकासको कुरा गरेका छन्। तर, विकासका राजनीतिक आयामहरूबारे कसैले सोचेका छैनन्।

नेपालका राजनीतिक दलहरूमा राजनीतिक चेतनाको अभाव छ। यो कुरा प्रचण्ड कामरेडले बुझ्नु भएको छ होला।

प्रचण्डले शासनमा चमत्कारिक सुधारको ढोका खोल्ने सूत्रहरुकाबारे सार्वजनिक छलफल चलाउनु पर्दछ। बिचारलाई जति चलायमान बनाउन सक्यो देश पनि त्यति नै चलायमान हुन्छ। जनताको सरकार चलाउनेले जनतालाई निमुखा ठान्न मिल्दैन।

बिपी कोइरालाले आफ्नो डायरीमा लेख्नु भएको : काठमाडौँको स्मरण शक्ति निकै कमजोर छ। यहाँका मान्छेहरू नेपोलियनको समयका पेरिसवासी जस्तै छन् जो प्रतिदिन कुनै न कुनै चमत्कारको अपेक्षा गर्दछन्। प्रचण्ड कामरेडले काठमाडौँको कुरा बुझ्नु भएकै होला।

१५ असार, २०८०, १६:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।