सञ्चार रजिष्ट्रारको कार्यालयबाट २२२ पत्रकार, प्राविधिक र व्यवस्थापक प्रशिक्षित

सञ्चार रजिष्ट्रारको कार्यालयबाट २२२ पत्रकार, प्राविधिक र व्यवस्थापक प्रशिक्षित

हेटौंडा : सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले चालु आर्थिक वर्षमा सञ्चालन गरेका आवासीय तालिमबाट २२२ जना पत्रकार, प्राविधिक तथा व्यवस्थापक प्रशिक्षित भएका छन्।

ती मध्ये करीव ३८ प्रतिशत महिला छन्। डेटा ड्रिभन पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा आठ जना महिला छन्।

अनलाई पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ३७ जनामा १४ जना महिला छन्। मोबाइल पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा १८ जना महिला छन्।

रेडियो प्राविधिक तालिम पाउने ५५ जनामा १२ जना महिला छन्। पत्रकार महिलाका लागि सञ्चालित समाचार लेखन तथा सम्पादनकलाबाट प्रशिक्षित पत्रकार महिला २३ जना छन्।

सञ्चार रजिष्ट्रार कार्यालयले सीप र समावेशीतालाई प्राथमिकतामा राख्दै आएको छ। बागमती प्रदेशको पत्रकारिताको गुणस्तरवृद्धिका लागि सीप सिकाउने प्रयास जारी रहने सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए।

कार्यालयबाट अहिलेसम्म अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति प्रकाशित भइसकेका छन्।

चाँडै नै साइबर सुरक्षा, विधागत (बिट) पत्रकारिता र उहिलेको पत्रकारिताको भाग दुई प्रकाशित गरिने सापकोटाकाे भनाइ छ। उनले यस्ता अध्ययन सामग्रीले पत्रकारिताको गुणस्तर वृद्धिका लागि योगदान पुर्याउने विश्वास व्यक्त गरे।

१४ असार, २०८०, १७:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।