स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाले सहयोग गर्ने

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाले सहयोग गर्ने

पाल्पा : रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो। 

आगामी आव २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ।

उक्त कार्यक्रम पाल्पाकै नमुना भएको नगरपालिकाले जनाएको छ। 

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए। 

'राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ', उनले भने, 'त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ।'

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन्।

१३ असार, २०८०, १०:४४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।