पोखरा महानगरपालिकाले कृषि क्षेत्रमा उत्पादनको ७० प्रतिशत अनुदान दिने

पोखरा महानगरपालिकाले कृषि क्षेत्रमा उत्पादनको ७० प्रतिशत अनुदान दिने

पोखरा : कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत कृषि अनुदान दिने भएको छ। 

महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताइन्। 

भू-उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू-उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ।

सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ कुलो निर्माण तथा मर्मतका लागि साना सिँचाइ कार्यक्रममा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। भिरालो पाखो जमिनमा आकाशे पानी संकलन गर्न प्लास्टिक पोखरी निर्माणका लागि विशेष प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

आगामी वर्ष कृषियन्त्र उपकरण मर्मत अभियान सञ्चालन गरिने बताउँदै उपप्रमुख गुरुङले त्यसका लागि ३५ लाख रुपैयँ बजेट विनियोजन गरेको बताइन्।

व्यावसायिक कृषि उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन अभियान, मल, बीउ, बिरुवालगायत कृषि सामग्री व्यवस्थापन, आलु उत्पादन कार्यक्रम, हिउँदे बाली अभियान, चैतेधान प्राविधिक सहयोग कार्यक्रम, माछापोखरी क्षेत्र विस्तारजस्ता कार्यक्रमका लागि एक करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन्। 

स्थानीय कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यमा थप वस्तुको न्यूनतम मूल्य तोकी कृषकलाई प्रोत्साहन दिने उद्देश्यले समर्थन मूल्यभन्दा न्यून हुन आउने मूल्य अनुदान दिनका लागि महानगरले ६० लाख विनियोजन गरेको छ।

१३ असार, २०८०, ०९:३४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।