नियमित काम गर्दा पनि ८ महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

नियमित काम गर्दा पनि ८ महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

सुर्खेत : नियमित रूपमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूले आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन्।

संघीय सरकारले सुरुमा समायोजन भएका स्वास्थ्यतर्फका कर्मचारीका लागि मात्रै तलब पठाउने गरेको छ। पछाडि समायोजन मिलान गरेका, संशोधन र समायोजन नियमावली बनेपछि दुई वटा पालिकाको सहमतिमा वीरेन्द्रनगरमा हाजिर हुन आएका कर्मचारीहरूले भने तलब पाउन सकेका छैनन्। 

जसमा वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९४ जना र भेरीगंगा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वास्थ्यकर्मीहरू छन्। उनीहरूले मंसिर महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्।

आफूहरूले आठ महिनादेखि तलब भत्ता नपाउँदा घरव्यवहार चलाउन मुस्किल भएको वीरेन्द्रनगर-३ मा कार्यरत स्वास्थ्यकर्मी उदय थापाले बताए। 

‘निरन्तर कार्यालयमा काम गरिरहेका छौं, तर मंसिरदेखि तलब पाउन सकेका छैनौं’, थापाले भने, ‘तलब उपलब्ध गराउने कुरामा सरोकारवाला कार्यालय बेखबर छन्। जसले गर्दा घर खर्च चलाउनै मुस्किल भएको छ।’ 

गत साउन ३० मा संघीय मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले स्वीकृत दरबन्दीभन्दा बढीका कर्मचारीको तलब भत्ता नदिने र सोको व्यवस्थापन पालिकाबाटै हुनुपर्ने परिपत्र गरेको थियो। 

त्यसपछि वीरेन्द्रनगर नगर कार्यपालिकाले तलब-भत्ता व्यवस्थाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंमा अनुरोध गरेको थियो। 

तर मन्त्रालयबाट तलब भत्ताको सुनिश्चितता नभएकोले नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढीका कर्मचारीहरूको व्यवस्थापन मन्त्रालयबाटै हुने गरी काज फिर्तासमेत गरेको थियो। 

२०७८ मा वीरेन्द्रनगरमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू समायोजन भएर आएका थिए। स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका २०७७ बमोजिम वीरेन्द्रनगर नगरपालिकाको सहमति ल्याएर आएका कर्मचारीहरूलाई नै नगरपालिकाले तलब दिन सकेको छैन।

स्वास्थ्य मन्त्रालयले २०७७ सालमा ३८ जना कर्मचारीहरू वीरेन्द्रनगर नगरपालिकामा पठाएको थियो। लगत्तै ५६ जना स्वास्थ्यका कर्मचारीलाई मन्त्रालयले नगरपालिकामा पठाएको थियो। 

वीरेन्द्रनगर नगरपालिकामा स्वास्थ्यको साविक दरबन्दी ३८ जनाको हो। यो साविकको नगरपालिका हुँदाको हो। त्यसपछि पाँच वटा गाविसहरू यो नगरपालिकामा गाभिएका छन्।

अझै पनि वीरेन्द्रनगरमा आवश्यक स्वास्थ्यकर्मी पूर्ति हुन सकेको छैन।  समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरू वीरेन्द्रनगरको नगर अस्पताल, स्वास्थ्य चौकीहरूमा कार्यरत छन्। यसअघि स्वास्थ्य मन्त्रालयले ३८ जना स्वास्थ्यका कर्मचारीहरूका लागि दुई करोड ६३ लाख पठाएको थियो।

बजेट पुनः आउने आशमा नगरपालिकाले ९४ जना स्वास्थ्यका कर्मचारीहरूलाई असोजसम्मको तलब लिएको थियो। त्यसपछि मन्त्रालयबाट कर्मचारीका लागि तलब आएको छैन। 

संघीय र स्थानीय सरकारबीच तालमेल नमिल्दा स्वास्थ्यकर्मीहरू आठ महिनादेखि तलबविहीन भएका हुन्। 

दिनरात नभनी काममा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनमा संघ र स्थानीय सरकारले चासो नदेखाउनु दुःखद् रहेको नेपाल निजामती संघ सुर्खेतका अध्यक्ष गणेश थापाले बताए। 

‘आठ महिनासम्म तलब नपाउनु निकै दुःख कुरा हो। यो विषयमा हामीले सबै तहका सरोकारवालासँग पनि समन्वय गरेका छौं’,अध्यक्ष थापाले भने, ‘नगरपालिकाले पनि पहिला सहमति पत्रमा तलब भत्ताको व्यवस्थापन गर्ने छौं भनेर चुकेको छ। अहिले तलब भत्ताको व्यवस्था गर्न सक्दैनौं भन्नु गैरजिम्मेवारी हो।’ 

पछिल्लो समय समायोजन भएका र पालिकाको सहमतिपछि आएका वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका स्वास्थ्यका १०३ जना कर्मचारीहरूले तलब उपलब्ध गराइदिन भन्दै नगरपालिका, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीसँग पटक पटक भेट गरेका छन्।

दुई वर्षदेखि निरन्तर धाउँदा पनि स्वास्थ्यकर्मीको समस्या समाधान हुन  नसकेको उनीहरूको भनाइ छ। 

नगरपालिकाले धान्न नसक्ने भएपछि फिर्ता पठाएर माथिबाट तलब खानेगरी सहमति भएर कामकाजमा खटिए पनि तलब नआउँदा समस्या भएको वीरेन्द्रनगरकी नगरप्रमुख मोहनमाया ढकालले बताइन्। 

‘यताबाट फिर्ता गरेपछि माथिबाटै तलब खुवाउने भनेर सहमति भएर उहाँहरू हाजिरी हुनुभयो। केही समय पठाए पनि अहिले तलब आएको छैन’, प्रमुख ढकालले भनिन्, ‘यति ठूलो व्ययभार हामीले धान्न सक्ने स्थिति पनि भएन। तलब माग गरेका छौं। आएपछि कर्मचारीलाई दिन्छौं।’

११ असार, २०८०, १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।