अस्ट्रेलिया जाने पैसा जुटाउन चोरी, पठाओको प्रयोग, हाम्रो बजारबाट विक्री

अस्ट्रेलिया जाने पैसा जुटाउन चोरी, पठाओको प्रयोग, हाम्रो बजारबाट विक्री

ललितपुर : अस्ट्रेलिया जान आवश्यक रकम जुटाउन प्रेमी-प्रेमिका नै मिलेर चोरी गर्ने गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले सुबोध श्रेष्ठ र उनकी प्रेमिका रोशनी महर्जनलाई पक्राउ गरेको हो।

प्रहरी अनुसन्धानमा सुबोधको पृष्ठभूमि यस अगाडि पनि चोरीमा संलग्न रहेको तर पछि सूचना प्रविधि सम्बन्धी तालिम लिएर अहिले आफ्नै काम गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू दुवै अस्ट्रेलिया जान आइएलटिएसको तयारीमा रहेको र अस्ट्रेलिया जान चाहिने रकम जोहो गर्न चोरी गर्ने गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरूको साथबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य सूचना प्रविधिका सामानहरू फेला पारेको जानकारी दिएको छ।

सुबोध २०६१ मा चोरी मुद्दामा पक्राउ परेर ९ महिना जेल परेका थिए।  उनी जेलबाट छुटेपछि सूचना प्रविधिसम्बन्धी काम सिकेर आफ्नै पसल खोलेका थिए।

उनी काम लिन उपत्यकाका विभिन्न सूचना प्रविधि सम्बन्धी काम गर्ने कार्यालयहरू जान्थे। पछि उनले त्यही कार्यालयहरूमा चोरी सुरु गरेको ललितपुर प्रहरीको दाबी छ।

ललितपुर प्रहरीका अनुसार उनी दिउँस व्यापारको प्रयोजनले जान्थे। कार्यालय रेकी गर्थे। अनि फर्किएर आएर बेलुका त्यही चोरी गर्थे।

उनीहरूले जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोबल लिङ्क टेक्नोलोजीमा चोरी गरेको प्रहरीको दाबी छ।

ललितपुरका अन्य स्थानमा एकै शैलीका चोरी बढेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो। सोल्टीसिटी अपार्टमेन्टमा भएको चोरीपछि भने सुबोध र रोशनी पक्राउ परे।

प्रहरीका अनुसार उनीहरूले चोरीका लागि पठाओको प्रयोग गर्थे। तर प्रहरीले ट्र्याक गर्ने डरले एकै कामका लागि पनि भिन्न भिन्न पठाओ चालकको प्रयोग गर्ने गरेका थिए।

चोरी गरेको सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ। उनीहरूले चार स्थानमा चोरी गरेको पुष्टि भएको तर आठ स्थानमा उस्तै शैलीको चोरी भएकाले उनीहरू नै संलग्न हुन् या अन्य समूहबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दियो।

१० असार, २०८०, १९:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।