हिन्दी फिल्म चल्न नदिने निर्णयबाट ब्याक भए मेयर बालेन्द्र, हलमा लाग्यो’जरा हटके’

हिन्दी फिल्म चल्न नदिने निर्णयबाट ब्याक भए मेयर बालेन्द्र, हलमा लाग्यो’जरा हटके’

काठमाडौँ : काठमाडौँ महानगर क्षेत्रका हलमा भारतीय फिल्म चल्न नदिने अडानबाट मेयर बालेन्द्र शाह पछि हटेका छन्। उच्च अदालत पाटनले अल्पकालीन आदेश मार्फत हलमा भारतीय फिल्म चल्न दिन आदेश दिएपछि बिहीबार शाहले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए।

शाहले सामाजिक सञ्जालमा भारतीय फिल्म आदिपुरुषमा सिताबारे रहेको प्रसङ्ग नहटाएसम्म हिन्दी फिल्म महानगर क्षेत्रमा प्रदर्शन नगर्न लेखेका थिए।

उनको अडान अनुसार काठमाडौँ महानगर क्षेत्रका हलहरूमा निगरानी गर्न नगर प्रहरी नै परिचालन गरिएको थियो। तर ती नगर प्रहरीहरू शुक्रवारबाट फिर्ता भए।

हल स्रोतका अनुसार बिहीबारबाटै हलहरूमा नगर प्रहरी आएर बसेका थिए। तर शुक्रवारबाट उनीहरू हटेका छन्।

नगर प्रहरी हटेपछि हलहरूले आफ्नो सेड्युल अनुसार भारतीय फिल्म प्रदर्शन सुरु गरेका छन्। शुक्रवार महानगर क्षेत्रका केही हलहरूमा हिन्दी फिल्म 'जरा हटके जरा बचके' को प्रदर्शन भयो।

क्युएफएक्सको चेनमा रहेको सिभिल मल अनि छाँया सेन्टरमा यो फिल्म प्रदर्शन भयो। एफक्युव सिनेमाज्ले पनि यो हिन्दी फिल्म प्रदर्शन गर्ने भएको छ।

८ असार, २०८०, १८:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।