१० कक्षाकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पद्मोदय स्कुलका डीआई श्रेष्ठ पक्राउ

१० कक्षाकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पद्मोदय स्कुलका डीआई श्रेष्ठ पक्राउ

दाङ : आफ्नी विद्यालयकी कक्षा १० मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेश श्रेष्ठ पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय दाङमा पीडिततर्फबाट जाहेरी दर्ता भएपछि प्रहरीले आरोपी श्रेष्ठलाई बिहीबार बेलुकी पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राजन गौतमले श्रेष्ठविरुद्ध पीडित विद्यार्थीले यौन दुर्व्यवहार जाहेरी दर्ता गराएको जानकारी दिए। 

उनले आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए। 

श्रेष्ठले आफूलाई यौन दुर्व्यवहार गरेको पीडित बालिकाले प्रहरीसमक्ष प्रारम्भिक बयान दिइसकेकी छन्। 

श्रेष्ठले 'कोसँग बोल्छेस्,कस्तो कुरा गर्छेस् भन्दै कुममा हात राखेर यताउती गरेको' र 'कोही साथीलाई भने मार्दिन्छु भनेको’ बयानमा खुलाएकी छिन्। 

पीडित छात्राले सामाजिक सञ्जाल फेसबुकबाट आफूमाथि भएको घटना सार्वजनिक गरेकी थिइन्। उक्त स्टाटसमा छात्राले ‘यो मान्छेभन्दा जनावर राम्रो हुन्छ’ लेखेकी थिइन्।

लुम्बिनी प्रदेशका डीआईजी उमेशराज जोशीले आरोपितलाई पक्राउ गरेर मुद्दा दर्ता गर्न  जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले यसविषयमा आफू गम्भीर भएको र विद्यार्थीले भनेको घटना प्रशासन शाखामा भएको बताए। 

आरोपित श्रेष्ठले आफू निर्दोष भएको र दुर्व्यवहार गरे/नगरेको सीसी क्यामेराको दृश्यले देखाउने दाबी गरेका थिए।

७ असार, २०८०, २१:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।