Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

काठमाडौं : दिल्लीको एक व्यक्तिगत अपार्टमेन्टमा पैसै-पैसाले भरिएको फ्ल्याट छ। जसमा छन्, दुई हजार अनि एक सय भारतीय रूपैयाँ।

धन व्यवस्थापन गर्न सक्रिय गिरोहले फ्ल्याटै भाडामा लिएर बसेका छन्, जसमा भारतीय नागरिकहरूसमेत संलग्न छन्। फ्ल्याटमा पुग्न सहज भने छैन।

निकै चरणको सुरक्षा घेरा पार गरेपछि मात्रै पैसा राखेको स्थानमा पुग्न सकिन्छ। त्यहाँ पुग्दा आँखा नै तिरिमिरी पार्ने दृश्य देखिन्छन्। बैंक हो या व्यक्तिगत अपार्टमेन्ट छुट्याउनै कठिन।

दिल्लीको यहि अपार्टमेन्टमा आफूसँग भएको रकम व्यवस्थापन गर्न अहिले केही नेपालीहरूको भिड लाग्ने गरेको छ। 

स्थान नखुलाउने सर्तमा यी सबै सामग्री तयार भएकाले नयाँ दिल्लीको कुन स्थान हो अनि यसमा संलग्न को-को हुन् भन्ने विषय यो समाचारमा खुलाइएको छैन।

अपार्टमेन्टमा भेटिए एक भारतीय नागरिक, जो आफूलाई डाक्टरको उपनामले चिनाउन रूचाउँछन्। भारतमा पहिलो पटक नोटबन्दी लागेदेखि नै नेपालीहरू उनको सम्पर्कमा पुगेका रहेछन्।

भारतले एक हजार र पाँच सयको पुरानो नोट नचल्ने भन्दै नोटबन्दी गर्यो। सटहीको सुविधा दिएको थियो भारत सरकारले तर स्रोत भएको रकम मात्र।

त्यहि बेला भारतमा रहेको कालोधन नेपाल भित्रिए। नेपाल सरकारले नै नेपाली बैंकमा रहेको भारतीय नोट साट्न पहल पनि नगरेको हैन। तर, सम्भव भएन। नेपालको सरकारी तहबाटै प्रतिबन्धित नोट साटिने आशमा नेपाल भित्रिएका प्रतिबन्धित नोट चलेन।

नोट बजारमा ल्याउन पनि सम्भव नभएपछि खुला सिमानाको फाइदा उठाउँदै नेपाल भित्रिएको प्रतिबन्धित भारतीय नोट लिएर उनीहरू उही दिल्लीमा रहेको डाक्टरको सम्पर्कमा पुगे। उनले सहजै ती नोटहरु साटिदिए।

‘त्यो बेला सयको २५ रूपैयाँमा नोट साटिएको थियो। एक करोड बराबरको प्रतिबन्धित नोट दिएमा बजारमा चल्ने २५ लाख आउँथ्यो,’ जानकार स्रोतले भन्यो, ‘पैसा भारतमै लिन्छु भने पनि पाइने। नेपालमै लिन्छु भने पनि सहजै पठाइदिन्थे।’

प्रतिबन्धित मात्रै हैन, स्रोत नखुलेको सम्पत्ति पनि सोही गिरोहले सहजै व्यवस्थापन गर्दै आएको खुल्यो। नेपाली रूपैयाँ भने चल्दैन। नेपाली नोटलाई भारतीय नोटमा सटही गरेर गिरोहलाई दिएपछि उनीहरूले जुन देशमा भन्यो त्यही देशमा सहजै पठाइदिने गरेका रहेछन्।

उनीहरूले नोटलाई सामान भन्छन् अनि जुन देशमा पठाउनुपर्ने हो त्यसलाई चाहिँ जग्गा।

भारत सरकारले अहिले पुन: २ हजारको नोटमा प्रतिबन्ध लगाएको छ। सरकारले दिएको साट्ने म्याद अझै बाँकी छ। तर, बैंकको सट्टा डाक्टरको अपार्टमेन्टमा दुई हजार दरका नोट साट्न आउनेहरू पनि उत्तिकै देखिए।

जानकार स्रोत अहिले बजारमा चल्ने २ हजारको नोट साट्न आउनेहरू कालो धनका कारोबारी रहेको बताउँछन्। बैंकमा नोट साट्न जाँदा सरकारी रेकर्डमा बस्ने र पछि सरकारले त्यसको स्रोत खोज्नसक्ने भन्दै स्रोत खुलाउन नसक्नेहरूले उनै डाक्टरको सहयोग लिइरहेको देखियो।

अहिले चल्तीमा रहेको दुई हजार भारतीय रूपैयाँको नोटको मूल्य पनि उही २५ प्रतिशत नै हो।

जानकारका अनुसार डाक्टरले राख्ने २५ प्रतिशत कमिसनमा उनको भागमा ५० प्रतिशत मात्र पर्छ। बाँकी २५ प्रतिशत नोट साट्न चाहने व्यक्तिलाई ल्याउने अनि उनको समूहका अन्य सदस्यहरूले पाउँछन्।

नोट साट्न चाहनेहरूलाई गिरोहको सम्पर्कमा ल्याउन गिरोहका प्रमुख डाक्टरको समूहका सदस्यसँगै भारतका विभिन्न शहरमा रहेका नेपालीहरू समेत देखिए।

मुख्य त भारतको दिल्लीमा बस्ने नेपालीहरूले नेपालबाट रकम मगाउने गरेको देखियो। उनीहरूले करोडौं रकम स्थलमागर्गबाटै भारतको दिल्ली पुर्याउने र त्यहाँबाट अधिकांश हुण्डी गरेर तेस्रो देश लैजाने गरेको जानकार स्रोत बताउँछ।

असार ४, २०८० सोमबार २०:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।