१२ जना बचतकर्ताको ८२ लाखभन्दा बढी रकम लिएर सहकारीका बजार प्रतिनिधि फरार !

१२ जना बचतकर्ताको ८२ लाखभन्दा बढी रकम लिएर सहकारीका बजार प्रतिनिधि फरार !

काठमाडौँः हाल देशभर सञ्चालनमा रहेका धेरैजसो सहकारीहरूले बचतकर्ताको पैसा नदिएर समस्यामा पारेका छन्। 

कतिपय सहकारीहरूका सञ्चालकहरूले त बचतकर्ताको रकम दिन आनाकानी गरेको मात्र होइन, पैसा नै लिएरसमेत भाग्ने गरेका समाचारहरू आउन थालेका छन्। 

यस्तोमा काठमाडौँ महानगरपालिका-१६ बालाजुमा रहेको सतप्रयास बचत तथा ऋण सहकारीका बजार प्रतिनिधि सुमन महर्जन बचतकर्ताको रकम लिएर फरार भएका छन्। 

सहकारी(कार्यालय) को छाप किर्ते गरी र बचतकर्तालाई नक्कली पासबुक दिएर ८२ लाख रुपैयाँभन्दा बढी असुलेर उनी फरार भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ। 

नजिकका साथीभाइ तथा छिमेकीलाई विश्वासमा पारेर उनले उक्त रकम लिएर भागेका हुन्। 

छिमेकी नरेश प्रधानले प्रहरीकहाँ उजुरी दिएपछि यसबारे खुलेको हो। 

महर्जन उक्त सहकारीमा ६९ सालदेखि कार्यरत थिए। 'इमानदारीपूर्वक काम गरिरहेको देखेर बचत गर्यौँ, उनले भनेकै कागजपत्रमा सही गर्यौँ तर पैसा खाएर भाग्लान् भन्ने सोचेकै थिएनौँ,' प्रधानले उकेरासँग भने। 

आफूले ११ वर्षदेखि उक्त सहकारी संस्थामा बचत गरेको प्रधानले बताए। २ वर्षयता भने महर्जनले प्रधानलगायतको रकम सहकारीमा जम्मा नगरेको पाइएको छ। यसबारे पनि प्रधानले एक महिनाअघि मात्र आफूहरूले थाहा पाएको बताए। 

महर्जन भागेपछि काठमाडौँ महानगरपालिकामा उजुरी दिएका प्रधानले भने, ‘हामीले उसलाई विश्वास गरेर मुद्दती खातामा रकम जम्मा गर्यौँ। प्रमाणपत्र पनि दिएकै थियो। तर त्यो त सहकारीको औपचारिक होइन रहेछ।'

आफूहरूको सबै पैसा महर्जनले झिकेर हिँडेका उनले आरोप लगाए। महर्जनले पैसा झिकेपछि सहकारी संस्थाले पनि जानकारी नदिएको प्रधानले गुनासो गरे। आफ्नो ३ लाख, श्रीमतीको १९ लाख र भिनाजुको १२ लाख रुपैयाँ सहकारीमा बचत गरेको नरेश बताउँछन्। 

आफ्नो सम्पर्कमा आएका १२ जना बचतकर्ताको ८२ लाख ६२ हजार १  सय ८ रुपैयाँ लिएर महर्जन भने यतिबेला बेपत्ता छन्। 

उक्त बचत तथा ऋण सहकारीकी अध्यक्ष अप्सरा पौडेलका अनुसार सहकारीका महर्जन त्यहाँका पुराना कर्मचारी हुन्।

'राम्रै काम गरिरहेको थिए, तर एक महिनाअघि मुद्दति खातामा रकम जम्मा गराई कार्यालयको छाप दुरुपयोग गरेर बचतकर्तालाई नक्कली प्रमाणपत्र दिएछन्,' उनले भनिन्, 'अहिले सहकारीको सम्पर्कमा महर्जन छैनन्।'

महर्जन कार्यालय नआएको एक महिना भएको पौडेलले बताइन्। 'हामीले कार्यालयको कागजात किर्ते बनाई सम्पर्कमा नआएको भनी प्रहरीकहाँ जाहेरी दिएका छौँ,' उनले भनिन्। 

यता महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले महर्जनविरुद्ध दुई प्रकारका जाहेरी आएको बताए।

‘सहकारीले किर्ते कागजात गरी बचतकर्ताको रकम लिएर भागेको, पासबुकमा हिनामिना गरेको भनी उजुरी दिनुभएको छ,' कुँवरले भने, ‘महर्जनको परिवारले छोरा हराएको खोजी गरी पाऊँ भनी निवेदन दिनुभएको छ।’

महर्जनको खोजी भइरहेको उनले बताए। 

२८ जेठ, २०८०, १९:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।