‘राम्रो देखिन्न भनेर स्वीकारेँ, तर अभिनेता बन्छु भनेर लागिरहेँ’

‘राम्रो देखिन्न भनेर स्वीकारेँ, तर अभिनेता बन्छु भनेर लागिरहेँ’

नवाजुद्दीन सिद्दीकी आफूले आफैंलाई कलाकार भन्नुभन्दा अरूले कलाकार भनेको ज्यादा रुचाउँछन्। 

उत्तरप्रदेशको मुजफ्फपुरको बुधना गाउँमा जन्मिएका नवाज बलिउडमा आफ्नो पहिचान बनाउन ठूलो संघर्ष गर्ने थोरै कलाकारमध्ये पर्छन्। मुम्बई आउनुअघि नै उनले बलिउडमा पाइला राख्न ठूलो चुनौती सामना गरेका थिए। 

'द माझी माउन्टेन म्यान', 'दल लन्च बक्स', 'बदलापुर', 'मन्टो', 'रइस', 'किन', 'बजरंगी भाइजन', 'तलास'जस्ता सुपर हिट फिल्ममा नवाजुद्दिनले अभनय गरिसकेका छन्।

४९ वर्षीय नवाज फिल्ममा अन्य सदावहार र भारतीय फिल्मले जन्माएको 'हिरो' भन्दा फरक छन्। सन् २०१२ मा आएको 'ग्याङ्स अफ वासेपुर' बाट भने उनले आफूलाई बलिउडमा स्थापित गर्न सफल भए। 

आमाबाहेक उनको घरमा कसैलाई विश्वास थिएन कि उनी अभिनेता बन्न सक्छन्। धेरै अन्य कलाकारभन्दा फरक, नवाजुद्दिन सिद्दिकीले सिनेमा जगतमा प्रवेश गर्ने कुनै सपना बनाएका थिएनन्। ग्रामीण र साधारण परिवारबाट आएका नवाजले सधैं पढेपछि जागिर पाउने सोच राख्थे। 

आफ्नो कलेज दिनबारे कुरा गर्दै नवाज भन्छन्, 'विज्ञानमा स्नातक गरेपछि म लामो समय घुमफिर गरेँ, कारखानामा काम गरें र त्यो समयमा कसैले मलाई थिएटरबारे देखाए र त्यही क्रममा मैले कलाकार र दर्शकको केमेस्ट्रीमा रहेको महसुस गरें। अनि योभन्दा सुन्दर क्षेत्र अरू हुनै सक्दैन भन्ने मेरो दिमागमा आयो। 

थिएटरको शुरुवाती दिनमा नवाजले निकै दुःख गरे। सुरुमा उनले थिएटरमा सरसफाइको काम पनि गरे। उनी त्यहाँ मानिसहरूलाई चिया खुवाउँथे। उनले त्यहाँ लगभग सबै प्रकारका काम गरे। 

नवाज भन्छन्, 'ब्याकस्टेजमा काम गर्दा, मानिसहरूलाई चिया खुवाउँदै गर्दा एक दिन मैले एउटा सानो भूमिका पाएँ। पहिलो भूमिका मात्र एक लाइनको थियो। त्यसपछि मैले दुई लाइनको भूमिका पाएँ। यो सबै काम वडोदरामा चलिरहेको थियो। त्यसपछि त्यहाँबाट नेसनल स्कुल अफ ड्रामा न्यु दिल्ली (एनएसडी) गएँ। 

'एनएसडीमा गएर अभिनय भनेको के हो भन्ने थाहा पाएँ'

उनले एकपटक आफ्नी आमालाई नवाजले अभिनेता बन्न चाहेको बताएका थिए। त्यतिबेला उनका आफन्त पनि त्यहाँ थिए। उनी गएपछि ती आफन्तले नवाजकी आमालाई भने, ‘कस्तो बकवास कुरा गरिरहेको छ, कसैले बुझाइदिनुस्। तर माफ गर्नुहोस्, आफ्नो बच्चा सबैभन्दा सुन्दर देखिन्छ, तर आफ्नो बच्चाको अनुहार त हेर।'

उनले यी सबै कुरा झ्याल पछाडिबाट सुनिरहेका थिए। भन्छन्, 'मलाई असाध्यै अनौठो लाग्यो र मेरो अनुहारमा के समस्या छ भनेर सोच्न थालें। मैले म राम्रो देखिँदैन भन्ने कुरा स्वीकार गरेँ तर साथसाथै मैले यो पनि निर्णय गरें कि म राम्रो देखिन्नँ। यसका बाबजुद म अभिनेता बनेरै छाड्छु भनेर लागेँ।'

एनएसडीपछि नवाजको अर्को गन्तव्य मुम्बई

सपना पूरा गर्ने जिद्दीले उनलाई मुम्बई ल्यायो। तर उनलाई मुम्बईमा बाँच्न नै गाह्रो भयो। भन्छन्,  'त्यो समय यति अप्ठ्यारो थियो कि त्यो समयबारे सोच्न पनि मन लाग्दैन। कुनै दिन बिहानको खाना कसरी पाइने होला भन्ने सोच्ने गर्दथें। यस्ता कुराहरू भइरहेका थिए। परिस्थिति यस्तो थियो कि गोरेगाउँदेखि बान्द्रा जानुपर्दा हामीसँग अटोको पनि पैसा थिएन। हामी पैदल हिँड्ने गर्दथ्यौँ।'

...त्यो क्षण जतिबेला सबै कुरा टुट्यो जस्तो लाग्यो

नवाज त्यसबेलाको अवस्था सम्झिँदै भन्छन्, 'जीवनमा संघर्ष चलिरहेको थियो, तर त्यो दिन केही भयो, जब मेरो आत्मा टुट्यो। मसँग १०-१२ दिनसम्म पैसा थिएन। एक जना सिनियर भएको ठाउँमा गएँ। र उहाँसँग ५० रुपैयाँ मागेँ। उहाँसँग पनि १०० रुपैयाँ मात्र रहेछ, तर मलाई खुद्रा गरेर ५० रुपैयाँ दिनुभयो।'

उनले थपे, 'दुवैले केही क्षण एकअर्कालाई हेर्यौँ, तुरुन्तै म उनको अगाडि नतमस्तक भएँ। म त्यो दिन निकै रोएँ। 

दुःखले नछाडेपछि एक पल त उनलाई मुम्बई छाड्नु नै उपयुक्त हुने लागेको थियो। तर आफूलाई अभिनयबाहेक अरू केही थाहा नभए भन्दै उनले त्यस्तो निर्णय पनि लिन सकेनन्। 

नवाज सुरुका दिनमा जब अडिसनका लागि गएका थिए, डाइरेक्टरले उनलाई अभिनय गर्न नआउने भन्दै अस्वीकार गरेका थिए। यस्तो अवस्थामा अधिकांश स्थानबाट उनी अस्वीकृत भएका थिए। 

फिल्मी पर्दामा मौका पाएपछि...

नवाजले आफ्नो फिल्मी करियर निकै सानो भूमिकाबाट सुरु गरेका थिए, कुनै फिल्ममा अत्यन्त सानो दृश्य त कुनैमा संवाद मात्र। 

आफ्नो प्रारम्भिक भूमिकाबारे नवाज भन्छन्, 'मैले सरफरोश', 'शूल', 'एक चालिसकी लास्ट लोकल', 'मुन्ना भाइ', 'देव डी' गरें। यी सबै फिल्महरूमा मेरो भूमिका एउटै दृश्यको थियो। तर त्यो बेला काम एउटै थियो। कतिपय फिल्मका लागि पैसा पाएँ भने कतिपयमा पाइनँ। 

तर, केही समयपछि नवाजले त्यस्ता फिल्महरू अस्वीकार गरे, जसमा उनको एउटा दृश्यको भूमिका मात्र थियो। उनले अब ती फिल्ममा मात्र काम गर्ने निर्णय गरे, जसमा उनले दुई वटा दृष्यको भूमिका पाउनेछन्। तर, त्यसपछि भने उनले भनेजस्तो भूमिका पाउन सकेनन्। 

नवाज भन्छन्, 'तर त्यतिबेलासम्म 'पिपली लाइभ', 'पतंग' जस्ता फिल्महरू बन्न थालेका थिए र त्यसमा मैले राम्रा र ठूला भूमिकाहरू गर्न थालेँ। यी फिल्महरू महोत्सवहरूमा जान थाले र त्यहाँबाट मानिसहरूले तिनीहरूलाई चिन्न थाले। जसरी मानिसहरूले चिन्न थालेँ र काम पाउन थालेँ। 

हाल भने उनी श्रीमतीसँगको विवादका कारण चर्चामा छन्। 

यो विवाद र आफ्नो मौनताबारे नवाज भन्छन्, 'म मौन रहें र मलाई यसमा कुनै गुनासो छैन। त्यतिबेला पनि मेरो चाहना थियो कि मेरा छोराछोरीहरू स्कुल जान्छन् र अहिले जाँदैछन्, म धेरै खुसी छु।'

नवाजुद्दिनकी पत्नी आलियाले आफ्नी छोरी ९ वर्षको हुँदा नवाजुद्दीनका भाइले अश्लील भिडियो देखाए शोषण गरेको आरोप लगाएपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो। 

बीबीसी हिन्दीको सहयोगमा

२७ जेठ, २०८०, १४:५८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।