एकातर्फ बुटवल ट्राफिक चोकको ‘कुकर कफी’, अर्कातर्फ भीड कम गर्न लगाइएको ‘२ वटा कुर्ची’ नियम

एकातर्फ बुटवल ट्राफिक चोकको ‘कुकर कफी’, अर्कातर्फ भीड कम गर्न लगाइएको ‘२ वटा कुर्ची’ नियम

बुटवल : बुटवलको ट्राफिक चोकमा लहरै ठेलामा राखिएका विभिन्न मांसहारी र शाकाहारी खानेकुरा तथा कफी, लस्सी खानेहरुको जमघटले साँझको परिवेशलाई चलायमान बनाउँछ। 

ट्राफिक चोक यसरी चलायमान हुन थालेको तीन दशक हुन लागिसक्यो। तीन दशकमा व्यापारी फेरिए, आउने मानिस फेरिए, परिवेश पनि बदलियो। तर ट्राफिक चोक अहिले पनि उसैगरी चलायमान छ।

साँझपख बसिबियाँलो गर्ने थलो बनेको ट्राफिक चोकको दुई दशक अगाडिदेखि कुकर कफीसँग साइनो छ। दुई दशकअघि बुटवलबाट सुरु भएको कुकर कफी अहिले पनि सबैका लागि लोकप्रिय छ।

जाडोमा कफी, गर्मीमा लस्सी खाने ट्राफिक चोक धेरैका लागि जक्सन हो। साथीभाइहरुसँग भेटघाट गर्ने यो थलोमा पुग्दा धेरैलाई एउटा दृश्यले ध्यान खिच्छ। त्यो हो, २ वटा कुर्ची।

बुटवलको इतिहास समेत मानिने कुकर कफी उत्पत्ति स्थान ट्राफिक चोकमा रहेका ठेलामा देखिने २ वटा कुर्ची आखिर किन राखिन्छ? धेरैले सोच्ने प्रश्न हो यो।

२ वटा कुर्ची व्यवसायी आफैंले चाहेर राखेका भने होइनन्। बुटवल उपमहानगरपालिका वडा नं. ६ ले गरेको भद्र सहमतिको नियम व्यवसायीले पालना गरेका हुन्।

भीडभाड धेरै हुने र ठेला राख्ने पछाडिका घरका व्यापारीले धेरै भीड हुँदा आफ्नो व्यापार नभएको गुनासो बुटवल उपमहानगरपालिका वडा नं. ६ लाई राखेपछि वडा र व्यापारीबीच २ वटा कुर्ची मात्र राख्ने र व्यवसाय चलाउने भद्र सहमति भएको थियो।

‘त्यहाँ १०/१२ वटा कुर्ची राख्दा हाम्रो व्यवसाय भएन भनेर घरमा पसल गर्नेहरुले गुनासो ल्याएपछि पसलका व्यवसायी र स्वरोजगार व्यवसायबीच २ वटा मात्र कुर्ची राख्ने भद्र सहमति भएको हो,’ बुटवल उपमहानगरपालिका वडा नं. ६ का निवर्तमान अध्यक्ष जगदीश आचार्यले भने।

तर यो भद्र सहमतिले भीड कम गराएको त छैन। बरु सेवाग्राहीले सास्ती मात्र व्यहोर्नु परेको छ।

कुनै बेला लहरै कुर्ची राखेर कफी र लस्सीमा झुम्नेहरू अहिले दुईवटा कुर्चीबाहेक कोही नजिकैको सिडिमा त कोही उठेरै कफी र लस्सी खाने गर्छन्। 

२ वटा कुर्ची मात्र राख्नुलाई धेरैले व्यवसायीलाई दुःख दिने नियत भएको बताउँछन्। ‘ट्राफिक चोकमा आएपछि कफी, लस्सी खान्छौं। कुर्ची २ वटा छ। भिड हुन्छ। भिड कम हुन्छ भनेर यसरी २ वटा कुर्ची राख्दा हामीलाई असहज भएको छ,’ तिलोत्तमा शान्तीचोकबाट लस्सी खान पुगेकी अमृता सुवेदीले भनिन्।

सेवाग्राही मात्र होइन, त्यहाँका साना व्यापारीहरु पनि यो कुर्चीको नियमबाट आजित छन्। ‘कुर्ची राख्न दिंदैन। दुईवटा कुर्चीमा ग्राहकलाई राखेपछि अरुलाई के गर्ने? उठेरै खुवाउनुको विकल्प छैन,’ व्यवसायी शिव भण्डारीले भने।

पसलका व्यवसायीले धेरै भीड हुने बताए पनि साना स्वरोजगार व्यवसायीहरू साँझ ७ बजे मात्र ठेला लिएर आउने गरेका छन्। ट्राफिकचोक चलायमान हुने यो समयमा अधिकांश पसलहरु बन्द भइसकेका हुन्छन्। त्यसैले पनि कुर्ची राख्न नदिने सहमति त्यति व्यवहारिक दखिंदैन।

कुकर कफीको जिउँदो इतिहास ट्राफिक चोक

सानो लगानीमा व्यापार गरेका स्वरोजगार व्यवसायीले ट्राफिक चोकमा १५ वर्षभन्दा बढी बिताइसकेका छन्। यहींबाट सुरु भएको कुकर कफी देशभर फैलियो।

अहिले कुकर कफीको स्थान नयाँ अत्याधुनिक मेसिनले लिएको छ। कफी त बन्छ तर नयाँ तरिकाले। त्यो बेला कुकरमा पानी पकाउने र सानो अर्को मेसिन जोडेर त्यसबाट प्रेसरले निस्किने बाफ (स्टिम) को प्रयोगबाट दूध र चिनी घोलेर कफी बनाउँथे।

अहिले मेसिनले क्षणभरमै कफी तयार गरिदिन्छ। तर पनि कतिपय व्यवसायहरुले चिनारीका रुपमा कुकर कफी राख्ने गरेका छन्। ‘लाइन नभएको अवस्थामा यसको प्रयोग गरिन्छ। तर निकै कम मात्र। नयाँ मेसिनले पुरानो तरिकालाई विस्थापित गरेको छ,’ बुटवल बेलबासका व्यवसायी रवीन्द्र खरेलले भने।

कुनै बेला बसपार्क, अस्पताल र ट्राफिक चोकमा रातभर कुकर कफीको व्यापार हुन्थ्यो। तर अहिले साँझ ७ बजेदेखि राति १० बजेसम्म मात्र  प्रशासनले ठेलामा व्यापार गर्न दिएको छ। 

कुकर कफीको इतिहासलाई प्रशासनले समेत वेवास्ता गरेको खरेल बताउँछन्। ‘व्यवसायीले व्यापार गर्ने वातावरण सरकारले बनाउनुपर्छ। सुरक्षाका नाममा १० बजे नै पसल बन्द गर्नुपर्छ भन्ने सरकारको काम ठीक होइन। सरकारले त २४ घण्टा तिमी व्यापार गर। सुरक्षा हाम्रो जिम्मा भयो भन्नुपर्छ,’ उनले भने।

खरेलले पाँच वर्षदेखि बुवाले गर्दै आएको कुकर कफी व्यापार गरिरहेका छन्। बुवाले गरेको कुकर कफी व्यापार नजिकबाट देखेका रवीन्द्रले कफी व्यापार सुरु गर्नुअघि फेन्सी पसल र ईलेक्ट्रोनिक पसलमा काम गर्थे।

तर बुवाको मृत्यु भएपछि उनले बुवाले गरेकै कर्म रोजे। ‘१५ वर्ष जागिरे जीवन बिताएँ। पाँच वर्षअघि भाइ पनि रोजगारीका सिलसिलामा विदेशमा पुग्यो। त्यसपछि बुवाले गरेको व्यवसाय मर्न दिनु हुँदैन भनेर यो व्यवसाय गर्नतर्फ लागें,’ उनले भने।

कुनै बेला यात्रु नै ग्राहक हुने ट्राफिक चोकको कुकर कफीका ग्राहक अहिले युगल जोडी, किशोर–किशोरी, कर्मचारी, व्यवसायी, बैंकर, युवाको समूह आदि हुन्।

दिनभर व्यस्त जीवन व्यतीत गर्नेहरूको जमघट बनेको ट्राफिक चोकमा कफी र लस्सीको स्वाद लिन पाल्पा, सालझण्डी, बर्दघाट, भैरहवाबाट पनि ग्राहक आउने गरेका छन्।

२७ जेठ, २०८०, ०८:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।