उद्घाटन अघि नै लुम्बिनी केवलकारले खेपेको आलोचना : महँगो टिकट, बीचमै अड्किने समस्या

उद्घाटन अघि नै लुम्बिनी केवलकारले खेपेको आलोचना : महँगो टिकट, बीचमै अड्किने समस्या

बुटवल : बुटवल हिल्सद्वारा प्रवर्धित लुम्बिनी केवलकारको आज (बिहीबार) देखि औपचारिक सुरुवात भएको छ।

जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यस केवलकारले महँगो टिकट र अनियमित विद्युतका कारण बीचमै अड्किने समस्या भएपछि सुरु मै आलोचना खेपेको छ।

बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केवलकारको निर्माण प्रक्रिया २०६० सालदेखि अघि बढेको थियो। केवलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

केवलकारको सफल परीक्षण पछि जेठ १५ गते देखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो।

आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केवलकार सञ्चालनमा आएसँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि हुने अपेक्षा गरिएको छ।

महँगो टिकट

सर्वसाधारणका लागि खुला भइसकेको लुम्बिनी केवलकारले टिकटदर भने महँगो राखिएको गुनासो छ।

केही समयका लागि ७५० रुपैयाँ टिकट शुल्क भए पनि प्रालिले वसन्तपुरसम्मको केवलकार यात्राका लागि प्रति यात्रु १ हजार शुल्क राखेको छ। विद्यार्थी र स्थानीयलाई २५ प्रतिशत छुट हुने प्रालिले जनाएको छ।

पर्यटन प्रवर्द्धन गर्ने योजनासहित सुरु भएको केवलकारले टिकटदर महँगो राखेपछि सबैले आलोचना गरेका छन्।

अनियमित विद्युतका कारण बीचमै अड्किने समस्या

लुम्बिनी केवलकारमा विद्युत अनियमित हुँदा बेला बेलामा सेवा भने अवरुद्ध बनेको छ। सेवा अवरुद्ध हुँदा पनि केवलकारले चर्को आलोचना खेप्नुपरेको छ। गत हप्ता तिलोत्तमाका मिन तिवारीले लाइन गएपछि केवलकार भित्र १० मिनेट अड्किएको भन्दै आलोचना गरिएको थिए। 

‘हामी वसन्तपुर पुगेर फर्कँदै थियौं, अचानक हावा हुरी चल्यो त्यसपछि बिचमै रोकियो,’ उनले भने। तिवारीका अनुसार उनीहरु १० मिनेट रोकिनुभन्दा अघि र पछि ५/६ पटकसम्म केवालकार रोकिएको थियो। लुम्बिनी केवलकार प्रालिका परियोजना प्रमुख गोकुल साउदले विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा समस्या भएको बताए। 

भारतीय धार्मिक पर्यटकलाई लक्षित गरि मन्दिर निर्माण

केवलकारको टप स्टेसन पाल्पा र रुपन्देहीको सिमानामा पर्ने वसन्तपुर डाँडामा भारतको गुवाहाटीमा रहेको मन्दिरकै शैली र आकृतिमा कामाख्यादेवी मन्दिर निर्माण गरिएको छ।

कामाख्यादेवीको दर्शन गरे मनोआकांक्षा पुरा हुने र सांसारीक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। मुख्य मन्दिरकोमाथी रहेको गजुर शक्तिको प्रतिकको रुपमा रहेको छ भने गुम्बा आकारको स्वरुपलाई शिवको प्रतिकको रुपमा निर्माण गरिएको छ।

मन्दिर निर्माण गर्दा वैदिक वास्तु चक्रमा आधारित रहेर निर्माण गरिएको र वास्तु अनुसार अष्टकोणहरुमा कामाख्या देवीका हस्तवेदी निर्माण गरि मध्यभागमा देवीको प्रतिमा प्रतिस्थापन गरिएको छ। 

यहाँ कामाख्यादेवीको अतिरिक्त गणेश, सूर्य र विष्णुका प्रतिमा प्रतिस्थापन गरिएको छ। त्यस्तै मन्दिरको पछाडि कैलाशकै स्वरूपमा रहेको पहाडमा भगवान कामेश्वर पञ्चमूखी पशुपतिनाथ स्थापना गरिएको छ।

केवलकारको माथिल्लो स्टेसन रहेको वसन्तपुरमा बनेको कामाख्या मन्दिरमा जाने श्रद्धालुहरुको संख्या हाल बढिरहेको छ। अहिले दैनिक ५ सय देखि ८ सय जनासम्म वसन्तपुर जाने गरेको साउदले बताए।

बुटवलको गर्मीबाट बच्ने गन्तव्य

३ अर्ब रुपैयाँको लागतमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजना भित्र रिसोर्टदेखि जीपलाइन चलाउनेसम्मका योजना छन्।

केवलकारको टप स्टेसनमा खाजा नास्ताका लागि रेस्टुरेन्ट, जीपलाइन, स्विमिङ पोखरी लगायतका संरचना तयार भइरहेका छन्।

दोस्रो चरणमा पाँचतारे होटल, कम्प्लेक्स लगायतका संरचना निर्माण गर्ने योजना प्रालिको छ। मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलामध्ये प्रतिगोन्डुलामा ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिन्छ।

झण्डै तीन किलोमिटरको दूरीमा केवलकारका ९ वटा टावर छन्। सरकारले केवलकार सञ्चालनका लागि ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकारका लागि दिएको छ।

बुटवलको गर्मीबाट आजित भएका बुटवलबासी केही समय शीतलताका लागि भए पनि वसन्तपुरमा जाने गरेका छन्। बुटवल र वसन्तपुरको तापक्रम १० डिग्रीसम्म फरक पर्छ। बुटवलको अधिकतम तापक्रम ४२ डिग्री हुँदा त्यहाँ अधिकतम ३५ डिग्री हुने गर्दछ।

​​​​​​​

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केवलकार सञ्चालन भएसँगै भारतीय पर्यटकहरुको गन्तव्य वसन्तपुर हुने बताए।

‘यहाँ ठूला रिसोर्ट र एडभेन्चरहरु बन्दै छन्। सबै सम्पन्न भएपछि भारतबाट गर्मी छल्न पर्यटकहरु यहाँ आउँछन्। यसबाट यस क्षेत्रको पर्यटन व्यवसाय पनि चलायमान हुने अपेक्षा गरिएको छ,’ उनले भने।

उनले विदेशी र स्वदेशी पर्यटकलाई नै लक्षित १५० कोठा र क्यासिनोसहितको पाँचतारे होटल निर्माण गर्न लागिएको बताए।

२५ जेठ, २०८०, ०८:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।