अवार्ड नपाउँदा रन्थनिएकी श्रद्धा पाएपछि दंग

अवार्ड नपाउँदा रन्थनिएकी श्रद्धा पाएपछि दंग
तस्वीरः सुरेन्द्र थापा

काठमाडौं : नेपालमा हुने अधिकांश अवार्ड किनबेचमा हुने गरेको आरोप लाग्दै आएको छ।

केही महिनाअघि अभिनेत्री श्रद्धा श्रेत्रीले नेफ्टा अवार्डको उत्कृष्ट ५ मनोनयनमा फिल्म ‘कृष्णलीला’बाट आफू नपरेपछि यस्तै आरोप लगाएकी थिइन्। 

उनले गत मे १४ तारिखमा सामाजिक सञ्जाल फेसबुकबाट नै नेपालमा अवार्ड किन्न सकिने तर सम्मान भने कमाउन आवश्यक छ रहेको लेखेकी थिइन्।

श्रद्धाले लेखेको स्टाटसमा अधिकांशले सही थपेका थिए। 

तर,उनको त्यो आक्रोशको धैर्यता धेरै टिकेन। उनी आफैले लेखेको त्यो स्टाटस हालै भएको एउटा अवार्ड कार्यक्रमले बिर्साइएको छ।

यही जेठ २१ मा र्याडिसन होटलमा भएको क्याप्टिभेटिङ क्रियसन अवार्डमा डेब्यु नायिकाको अवार्ड हात पारिन्। उनले अवार्ड नै जितेपछि अचानक उनको रूप रंग नै बदलिएको छ। 

डेब्यु अभिनेत्रीको अवार्ड हातमा लिएपछि उनले खुसीका शब्द सामाजिक सञ्जालमा वर्षा गराइन्। एक महिनाअघि अवार्ड नपाउँदा सामाजिक सञ्जालमा पोखेको रिस उनले छिनभरमै बिर्सिइन्। 

उनले अभिनय गरेका पहिलो फिल्म नै ‘कृष्ण लीला’ हो। जुन गत भदौ २ गते हलमा लागेको थियो। यो फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेको थिएन। साथै उनको अभिनयले पनि प्रशंसा पाउन सकेन।

बरु उनको यही फिल्ममा अभिनेता पुष्प खड्कासँग नाम जोडिएर चर्चा चलाइयो। उनले पहिलो फिल्म गरेको एक वर्षभन्दा बढी बितिसक्दा पनि अर्को फिल्ममा काम पाउन सकेकी छैनन्।

उनी अभिनित म्युजिक भिडियो ‘मेसो मिलाएर’ भने चर्चामा छ।

जेठ २३, २०८० मंगलबार २१:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।