प्रतिनिधि सभा बैठकमा फेरि हंगामा, सभामुखलाई सदन चलाउनै हम्मे-हम्मे

प्रतिनिधि सभा बैठकमा फेरि हंगामा, सभामुखलाई सदन चलाउनै हम्मे-हम्मे

काठमाडौं : प्रतिनिधिसभा सोमबारको बैठकमा फेरि हंगामा मच्चिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा उठेका प्रश्नको जवाफपछि स्पष्टीकरण दिने क्रममा सूर्य थापाले उठेर विरोध जनाएका हुन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए।

त्यसैक्रममा सांसद सूर्य थापाले उठेर संविधानको १११ को ९ को १० पछिको तर पछिको व्यवस्था पढेर सुनाए।

उनले भने, ‘त्यसैले नयाँ संसद् आएपछि पहिलाका विचाराधीन विषय निष्क्रिय हुने व्यवस्था गरेको छ। यसमा प्रधानमन्त्रीले हाकाहाकी झुट बोलिरहनुभएको छ। संविधान विपरीत भयो खेद प्रकट गर्छु।’

त्यसपछि प्रधानमन्त्रीले आफूलाई प्रष्ट पार्न दिन आग्रह गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरे।

त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए। त्यसपछि पुन प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि केहीबेर प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकिएको छ।

त्यसपछि फेरि एमालेका अर्का सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्किृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए।

उनले भने,‘अहिलेको विधेयकमा यो अनुसार छ? यसलाई हिजोको अदालतको आदेशले पनि पुष्टि गरिसक्यो, त्यसैले यहाँ तपाईँले बहस गर्ने होइन। चुप लागेर बस्नुस्।’

त्यसलाई स्पष्ट पार्दै कांग्रेस सांसद् विश्वप्रकाश शर्माले संविधानको धारा १११ को उपधारा १० लाई स्मरण गराए।

त्यस उपधारा पढेर सुनाउँदै उनले भने, ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ भनेर संविधानमा लेखिएको छ।’

उनले अगाडि थपे, ‘नागरिकता विधेयक संसदमा विचाराधी हो र? नागरिकता विधेयक त दुई–दुईपटक संसदबाट पारित भएर राष्ट्रपतिकोमा गएको विधेयक होइन र? अब यो विधेयक संसदमा कसरी विचाराधीन भयो? विचाराधीन हुन त संसदमा नै हुनुपर्छ होइन र? संसदबाट पारित भएर राष्ट्रपतिकोमा गएर बसेको विधेयक कसरी विचाराधीन हुन्छ?’

त्यसपछि पनि अमरेश कुमार सिंहले आफ्नाे भनाइ राख्न खोजेपछि सभामुखले समय दिए। उनले पनि नागरिकता विधेयक र विधेयक प्रमाणीकरणको धाराकै विषायमा आफ्ना कुरा राखे।

त्यसपछि भने सभामुखले सांसदहरूलाई सम्झाएर प्रधानमन्त्रीलाई पुन: बोल्ने समय उपलब्ध गराए। यसबीचमा सभाुमख घिमिरेलाई संसद चलाउनै हम्मेहम्मे भएको थियो।

२२ जेठ, २०८०, १५:१२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।