नेटवर्किङको आवरणमा ठगी धन्दा चलाएका युनिटी सञ्चालकको रोकिएको जग्गा गुपचुप बेचिँदै

नेटवर्किङको आवरणमा ठगी धन्दा चलाएका युनिटी सञ्चालकको रोकिएको जग्गा गुपचुप बेचिँदै

काठमाडौः नेटवर्किङ व्यवसायको आवरणमा सर्वसाधारणलाई भ्रममा पारेर ठगी गरेको भन्दै युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकहरूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

सर्वसाधारणको रकम ठगी गरेको भन्दै उसका सम्पत्ति र बैंक खाताहरू कानुनतः रोक्का गरिएका छन्। तर अदालतले रोक्का राखेको जग्गा मिलेमतोमा बिक्री भइरहेको खुलेको छ। 

२०७२ जेठ १४ गतेदेखि २०७७ सम्म सर्वोच्चमा युनिटीसम्बन्धी चार मुद्दा छन्। ०७२ जेठ १४ मा सर्वोच्चमा सरकारी पक्षले पुनरावेदन दायर गरेको देखिन्छ। २०७४ चैत २१ मा मुख्य प्रतिवादीविरुद्ध सर्वोच्चमै पुनरावेदन दर्ता भएको थियो। यसका अध्यक्ष काशी गुरूङ लगायतहरू पनि पुनरावेदन बोकेर सर्वोच्च गएका थिए।

सर्वोच्चमा रहेको मुद्दाको छिनोफानो भएको छैन। तर सोही कम्पनीका लगानीकर्ता र कम्पनीको नाममा अदालतले रोक्का राखेको जग्गाहरू भने मिलेमतोमा एकपछि अर्को गर्दै बिक्री भइरहेको देखियो।

जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा युनिटीको नाममा १ अर्ब १५ करोड रुपैयाँ घरजग्गामा लगानी भएको, ४१ करोड २८ लाख रुपैयाँ बैंक मौज्दात रहेको खुलेको थियो। युनिटी र त्यसमा संलग्नहरुको जग्गा रोकिएको थियो। तर अहिले जग्गा भटाभट बिक्री हुन थालेका छन्।

उकेराको सम्पर्कमा आएका स्रोतअनुसार उनीहरूले काठमाडौँको स्वयम्भूमा रहेको युनिटीको जग्गा बिक्री गरिसकेका छन्।

स्वयम्भुमा रहेको युनिटीको जग्गा सिटिजन्स बैंकमा धितो थियो। ऋण नतिरेको भन्दै बैंकले लिलामीमा चढाउँदै सोही समूहका सदस्यमध्ये हर्क लामालाई धितो सकार्न लगाएर स्वयम्भूको जग्गा बिक्री गरेका थियो।

त्यसमा युनिटी प्रकरणमा जोडिएर सफाइ पाएका घरजग्गा कारोबारी कालु गुरुङको भूमिका प्रमुख देखिन्छ। बलराम सैजु र नेत्रराज राजवंशीबीच स्वयम्भूको जग्गा कारोबारबारे भएको कुराकानीको अडियो उकेराले फेला पारेको छ।

अडियोमा सो जग्गा बिक्री गरेबापत युनिटीका सञ्चालकहरूबीच पैसा बाँडफाँट भएको र यसमा गुरुङले भूमिका खेलेको देखिन्छ।

उक्त अडियोमा नेत्रले भनेका छन्,'कालु दाइले मजाले भन्नुभयो। उहाँ सम्माननीय मान्छे हो। बिगार्न पनि सक्छ। उहाँले बढी पैसा लगे पनि दुखमनाउ गर्न हुन्न भनेर मजाले भन्नुभयो।'

सोही समूहले काठमाडौँको साङ्लामा रहेको तीन रोपनी चार आना जग्गा अदालतबाट खुला गराएर बिक्री गर्ने तयारी गरिरहेको प्राप्त प्रमाणले देखाउँछ। युनिटीका सञ्चालकमध्ये ओमलाल गुरुङको नाममा साङ्लामा तीन रोपनी चार आना जग्गा खुलेको थियो।

सो जग्गा राजश्व अनुसन्धान विभागले रोकेको थियो। युनिटीबारे राजश्व छलीमा राजश्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो। वादी नेपाल सरकार अनि प्रतिवादी काशीराम गुरुङसमेत रहेको मुद्दामा ओमलाल गुरुङको सरोकार नभएको भन्दै सम्बन्धित मालपोत कार्यालयमा रोक्का फुकुवाको आदेश आयो। २०७८ असार २० को आदेशमा सर्वोच्चका सह-रजिस्टारको हस्ताक्षर छ।

सोही आदेशमा टेकेर २०७८ असार २० गते सर्वोच्चको मुद्दा तथा रिट महाशाखाले मालपोत कार्यालय टोखालाई अन्य कुनै मुद्दा वा निकायबाट रोक्का राख्नु नपर्ने भए युनिटीको हकमा रोक्का फुकुवा गर्न पत्र लेख्यो। पत्रमा उपरजिष्टार उषा श्रेष्ठ र मुद्दा फाट नम्बर १ की सुनिता कार्कीले हस्ताक्षर गरेकी छन्।

युनिटीमा संलग्नहरूको सम्पत्ति विवरण उल्लेख प्रतिवेदनमा गुरुङलाई सो समूहमा संलग्न रहेको प्रस्ट उल्लेख छ। विवरणको ६ नम्बरमा गुरुङको नाम उल्लेख छ, जहाँ उनको नाममा रहेको साङ्लाको जग्गाको विवरण उल्लेख छ। साङ्लामै युनिटी लाइफको नाममा एक रोपनी एक आना जग्गासमेत देखिन्छ।
अदालतमा पेशी सरेको सर्यो

पत्रमा जुन मुद्दा नम्बर उल्लेख छ सर्वोच्चको विवरणमा सो मुद्दा चलिरहेको देखिन्छ। अर्कोतर्फ सुनिता कार्की फाँटवाला रहेको ओमलाल गुरुङले काशीराम गुरुङसहितलाई प्रतिवादी बनाएर दायर गरेको मुद्दा समेत चलिरहेकै देखिन्छ।

अदालतमा सबै मुद्दा विचाराधीनै छ। मुद्दाहरू स्थगित र हेर्न नमिल्ने हुँदै २०८० जेठ २ मा ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ परेको थियो। त्यो पनि हेर्न नमिल्ने हुँदै सुनुवाइ नै रोकियो। काशिरामविरुद्ध ओमलालले दिएको ठगी मुद्दा समेत फैसला भएको छैन।

२१ जेठ, २०८०, १९:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।