नवलले हलवाला र वितरकले रकम हिनामिना गरेको आरोप लगाएपछि कार्यक्रममै चर्काचर्की, प्रदीप उठेर हिँडे

नवलले हलवाला र वितरकले रकम हिनामिना गरेको आरोप लगाएपछि कार्यक्रममै चर्काचर्की, प्रदीप उठेर हिँडे

काठमाडौंः आगामी वर्षका लागि चलचित्र क्षेत्रबारे सरकारले छुट्टयाएको बजेटबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय र निर्माता संघका अध्यक्ष नवल खड्काबीच चकाचर्की भएको छ।

आर्थिक वर्ष २०८०/८१ म चलचित्र क्षेत्रलाई छुट्याइएको बजेटबारे छलफल गर्न बिहीबार अनामनगरमा चलचित्र पत्रकार संघले अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको थियो। 

कार्यक्रममा निर्माता संघका अध्यक्ष खड्काले हलवालाहरू र फिल्म वितरकले रकम हिनामिना पारेको आरोप लगाएपछि हल सञ्चालक समेत रहेका उदय कार्यक्रममा जंगिए।

‘मैले जति फिल्म बनाए पनि साथीहरूले मलाई निर्माता हैन हलवालाका रुपमा हेर्नुहुन्छ। किनभने म सत्य बोल्छु। म व्यावसायिक कुरा बोल्छु। हामी व्यवसायी हौँ। जसले जे सुकै ठूला कुरा गरोस्’, उदयले भने,’ राष्ट्रियताको कुरा गरोस्, राष्ट्रवादीका कुरा गरोस् अथवा यो देशको योगदानको कुरा गरोस्। अन्ततः त्यो व्यवसायमै जोडिन्छ।’ 

एक समय विकास बोर्डमा सदस्यसमेत रहेका उनले देशका लागि चलचित्र बनाएको भनेपछि खड्कालाई लक्षित गर्दै एक हप्ता नेपाल अधिराज्यभर फिल्म सित्तैमा चलाइदिने प्रसंग निकाले। जसका लागि उनले सित्तैमा दिन पनि माग गरे। 

‘साँच्चिकै देशका लागि चलचित्र बनाएको हो भने त पैसा नहुनेले पनि हेर्न पाउनुपर्यो नि भन्दा बुरुक्क उफ्रिनु भो। मेरो यति पैसा कसले दिन्छ, मेरो यति पैसा डुब्छ भन्नुभयो। जहाँ पैसा डुब्ने र उठ्ने कुरा गर्छ नि त्यहाँ व्यवसायी हुन्छ। यहाँ कसैले ठुलो कुरा नगर्दा हुन्छ।' 

उनले राष्ट्रियताका लागि चलचित्र बनाएको हो भने अनुदान शाखामा कुरा गर्नुपर्ने अनि दर्शकलाई निःशुल्क देखाउनुपर्ने तर्क गर्दै राष्ट्रियतामाथि टेकेर व्यापार गरिरहेका आरोप लगाए। 

‘नवलजी अहिले पनि  निर्माता संघको अध्यक्ष होइन, उहाँ कलाकार संघको अध्यक्षको हिसाबले कुरा गर्नुहुन्छ। किनभने चलचित्र निर्माता संघ व्यावसायिक संघ हो,’ उदयले कार्यक्रममा भने’, व्यवसायी संघको मान्छेले अर्को व्यवसायीलाई तैँले चोर्छस्,यसले चोर्छ भन्न मिल्दैन। यदि कसैले चोरी गर्छ भने समात्ने काम सरकारको हो।’ 

उनी जंगिएपछि आयोजक संस्थाका महासचिव रघु सापकोटाले उदयलाई रोक्न खोजे। तर उनी आफूलाई चोर आरोप लागेको भन्दै रोकिएनन्। 

उनले चलचित्र संघ सम्बन्धित विषय भएकोले बोल्न पाइने र यदि आफ्नो संस्थाका सदस्यले गल्ती गर्छ र सरकारले कारबाही गर्छ भने ती सदस्यको पक्षमा कहिल्यै नलाग्ने बताए। 

‘कसैले कुनै व्यवसायीलाई ट्याक्स चोरी गर्छ भन्नु अपराध हो। हामीले समयमा ट्याक्स तिरेका छौँ,’ उनले भने’, यदि हामीले कम तिरेका छौँ भने सरकारले हेर्छ। हामीले कुन निर्माताले कति ट्याक्स तिर्छौँ भनेर कहिल्यै बोलेका छौँ ? थाहा छ नि हामीलाई कसले कति ट्याक्स तिर्छ।' 

उनले आफू पनि निर्माता भएको बताउँदै खड्काभन्दा बढी फिल्म आफूले बनाएको र खड्काभन्दा पुरानो प्रोड्युसर भएको दाबी गरे। 

खड्काले भने आफूले हलवालालाई आरोप नलगाएको दाबी गरे। उनले केही फिल्म वितरकले निर्मातालाई डुबाउने गरेको कुरा मात्र उठाएको भन्दै आफ्नो भनाइको बचाइ गर्न खोजे। 

‘मैले हलवालालाई आरोप लगाएको छैन। हालसाल करको कुरा उठेको छ। अनि हलवालाले फिल्म लगाउने हो कि वितरकले फिल्म लगाउने हो ?’ उनले भने’, मैले हलवालाको होइन वितरकको कुरा गरिराखेको छु। तपाईंले हलवालाको कुरा गरेर किन आक्षेप लगाउनुहुन्छ।' 

उनले भीमदत्त फिल्म बनाउँदा उदय वितरक रहेको र आफूले ६५ वर्षमाथिकालाई फिल्म देखाऊ भनेको बताए। हलमा परिचयपत्र लिएर आउँदा हलवालाले फिल्म उतारेको उनको आरोप थियो। 

उदयले पुनः बोल्न खोजे। तर कार्यक्रमको माहोल बिग्रँदै गएपछि आयोजकले थप बोल्न दिएनन् अनि उनी उठेर कार्यक्रमस्थलबाट बाहिरिए।

१८ जेठ, २०८०, २२:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।