बजार चलायमान नहुँदा तनावमा व्यापारी, खाली हुन थाले व्यावसायिक सटर

बजार चलायमान नहुँदा तनावमा व्यापारी, खाली हुन थाले व्यावसायिक सटर

सुर्खेत : कर्णालीका उद्योगी तथा व्यवसायीहरु पछिल्लो समय आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।

देशमा जारी आर्थिक संकटको प्रभाव वीरेन्द्रनगरमा पनि पर्न थालेको छ। कोरोना भाइरस र आर्थिक मन्दीको कारण थला परेको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव अहिले वीरेन्द्रनगरमा पनि देखा परेको छ।

यहाँ धमाधम व्यावसायिक सटरहरु खाली हुन थालेका छन्। कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका सटरहरु आर्थिक मन्दीका कारण धमाधम बन्द हुन थालेका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए।

एकातिर आर्थिक मन्दी र अर्का तिर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को ब्याजका कारण वीरेन्द्रनगरमा ख्याति कमाएका व्यापारीसमेत धरासायी बन्दै छन्। सात प्रतिशतका दरले लिएको ऋण अहिले १५ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यता रहेको व्यवसायीहरु बताउँछन्।

व्यापारीहरुसँग बैंकको किस्ता तिर्ने पैसा नै नभएपछि कसैले सामान नै घरमा लिएका छन्। यसका साथै बैंकले व्यवसायमा ताला लगाउन थालेपछि व्यवसाय नै बन्द गर्नुको विकल्प नरहेको व्यापारीहरु बताउँछन्।

तनाव हटाउन अभिमुखीकरण

सुर्खेत स्थित उद्योगी, व्यापारीहरुलाई मानसिक तनाव व्यवस्थापन गर्न अभिमुखीकरण गरिएको छ। कोरोना महामारी र त्यस यता उत्पन्न भएको आर्थिक संकटका कारण उनीहरुमा परेको मानसिक तनाव हटाउने उद्देश्यले अभिमुखीकरण गरिएको हो।

कोसिस नेपालको सहयोग र सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा गरिएको अभिमुखीकरणमा ७० जना व्यापारी सहभागी भएका थिए।

पछिल्लो केही वर्ष यता कोरोना र आर्थिक मन्दीका उद्योगीहरुमा तनाव सिर्जना भएपछि तनाव व्यवस्थापन सम्बन्धी सीप सिकाएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए। उनका अनुसार अब सबै व्यापारीलाई यो अभिमुखीकरण गरिने छ।

‘कोरोना र पछिल्लो समयमा आर्थिक तरलताको अभाव र बजार चलायमान नहुँदा व्यापार भएन। उद्योगी र व्यवसायीहरुलाई बैंक, घरबेटी, र साहुले तनाव दिन थाले,’ अध्यक्ष कँडेलले भने, ‘त्यसैको कारण उद्योगी र व्यापारी व्यापारबाट पलायन मात्रै होइन, आत्महत्या गर्नेसम्मको स्थिति आयो। त्यसैलाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरेका हौं।’

अध्यक्ष कँडेलले केही महिना पहिले काठमाण्डौंको संसद भवन अगाडि एक व्यवसायीले आत्मदाह गरेको घटना बताउँदै सुर्खेतमा पनि केही व्यापारीले आत्महत्याको प्रयास गरेको कुरा सुनिएपछि उनीहरुलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था आएको बताए।

बजारमा आर्थिक मन्दी हुँदा यो चुनौतीलाई अवसरमा बदल्न उनीहरुसँग अन्तरक्रिया गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ।

‘बैंकको चर्को ब्याजदर, सस्तो लिलाम, कालो सूची, घरभाडा जस्ता कुराहरुले व्यापारीहरु अहिले तनावमा छन्। सधैं व्यवसायी फाइदामा जाने कुरा भएन। अहिले व्यापारी घाटामा हुँदा सरकारले त्यसको व्यवस्थापन गर्न सकेन,’ उनले भने।

अध्यक्ष कँडेलका अनुसार सुर्खेतमा ८० प्रतिशतसम्म व्यापार हराएको छ। बजारमा सामान नबिक्ने र उधारोको पैसा समेत नउठ्दा करिब ३० हजार व्यवसायीहरु समस्यामा परेका छन्। तीमध्ये ९० प्रतिशत व्यापारीले बैंक तथा वित्तीय क्षेत्रबाट ऋण लिएर व्यापार गरेका छन्। सुर्खेत उद्योग वाणिज्य संघमा मात्र ६ हजार व्यापारी आबद्ध छन्।

 

१८ जेठ, २०८०, ०८:२७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।