असरल्ल तारले कुरुप बुटवल

असरल्ल तारले कुरुप बुटवल

बुटवल : दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकको अव्यवस्थित तारले बुटवलमा दुर्घटनाका जोखिम बढेको छ।

बुटवलका चोक-चोकमा तार भुईंमै असरल्ल हुँदा पैदल यात्रुदेखि सवारी चालकसमेत जोखिममा परेका हुन्। विद्युत्का पोल नै ढल्नेगरी गुजुल्टो पारिएको तारले बेला–बेलामा आगलागीसमेत हुने गरेको छ। तारको भारकै कारण कतिपय विद्युत्का पोलहरू नै बाङ्गिएका छन्।

बुटवलको योगिकुटी, मिलनचोक, बसपार्क, देविनगर, अस्पताललाइन, ट्राफिकचोक, हाटबजार, दिपनगर, गोलपार्क क्षेत्रमा अहिले भित्री सडक र मुख्य राजमार्गमा भुईंमा असरल्ल तार छाडिएको छ।

अहिले बुटवलको मुख्य सडक निर्माणधीन अवस्था छ, फुटपाथ पनि अस्तव्यस्त। त्यहि फुटपाथमा लत्रिएका अव्यस्थित तारका कारण पैदलयात्रुलाई हिड्न सकस भएको छ। दृश्य प्रदूषण त हुने नै भयो।

मिलनचोकदेखि तीनकुनेतर्फ जाने सडकका पोल–पोलका तार चुँडालेर भुईंमै छाडिएको छ। यो सडक पनि अहिले निर्माणाधीन नै छ।

शहरको सुन्दरता कायम गर्न स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्छ। बुटवल उपमहानगरले सक्रिय ढङ्गले नलाग्दा बुटवल दिनप्रतिदिन कुरुप बन्दै गएको छ।

उपमहानगरका प्रमुख खेलराज पाण्डे भने शहरको सौन्दर्यकरणलाई प्राथमिकतामा राखेर तारको व्यवस्थापन गरिरहेको दाबी गर्छन्।

६ महिनाअघि विद्युत् कार्यालयका प्रमुख संयोजक, दूरसञ्चार कार्यालय र सम्बन्धित वडाध्यक्ष सदस्य रहने गरी समिति बनाएर तार व्यवस्थापनको कार्य सुरु गरेको उनी बताउँछन्।

‘बुटवलमा २२ वटा केबलका संस्थाहरू रहेछन्। तर ३/४ वटा मात्र नगरमा सूचीकृत छन्। बाँकी सम्पर्कमा आएका छैनन्। करको दायराभित्र नआएका सबैका तार अब व्यवस्थापन नगरे वडाले काट्छ’, उनले भने।

तर, त्यसको प्रभाव अहिलेसम्म देखिएको छैन। तारहरू असरल्ल नै छन्। दैनिक मोटरसाइकल चालक र पैदल यात्री अल्झेर लडिरहेकै छन्।

आफूहरूले पटक–पटक सूचना जारी गर्दा पनि इन्टरनेट र केबल सेवा प्रदायकले अटेर गरेको उनको भनाइ छ। विद्युत् प्राधिकरणलाई तार व्यवस्थापनका लागि आग्रह समेत गरेका उनको भनाइ छ।

‘हामीले तार अशोभनीय भयो, व्यवस्थापन गर्नुस् भनेर पटक-पटक सूचना जारी गर्दा पनि नभएपछि अहिले वडा कार्यालयले तारको व्यवस्थापन थालेको छ’, उनले दाबी गरे।

तार व्यवस्थापनको काम वडाले गर्ने भनेपछि वडा नम्बर ६ ले धमाधम तार काट्न सुरु गरेको छ। बुटवल उपमहानगरपालिकाले सम्पर्कमा नआउने संस्थाको तार पोलबाट हट्ने चेतावनीसमेत दिएको छ।

‘वडा नंं ६ को तार हटाउँदा दूरसञ्चारकै तार परेछ। त्यसपछि दूरसञ्चारको एक जना प्रतिनिधि राखेर तार हटाउन भनेको छु सवै वडामा। सम्पर्कमा नआउनेको तार पोलबाट हट्छ’, नगरप्रमुख पाण्डे भन्छन्।

वडा कार्यालयले तारको व्यवस्थापन नगरे नगरले दिने १० प्रतिशत बजेट रोक्का गरिनेसमेत उनको चेतावनी छ।

नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख नवराज ओझा भने विद्युत्को पोलमा अन्य सेवाप्रदायक संस्थाहरूको तार भएकाले व्यवस्थित हुन नसकेको बताउँछन्। प्राधिकरणसँग भने तत्काल तार व्यवस्थापनको योजना नभएको उनको भनाइ छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिहं थापा अव्यवस्थित तारका कारण सडक दुर्घटनाहरू बढिरहेको बताउँछन्। तारमा अल्झिएर कयौं मोटरसाइकल र स्कुटर चालक लडेको सुनाउँछन्। त्यस्ता दुर्घटनालाई अभिलेखमा नराखिने उनको भनाइ छ।

१३ जेठ, २०८०, ०८:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।