एसिया कप हुने स्थानबारे बल्ल बोले जय शाह

एसिया कप हुने स्थानबारे बल्ल बोले जय शाह

एजेन्सी : एसियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष एवं भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसिया कप आयोजना गर्ने देशबारे अन्तिम निर्णय हुने बताएका छन्।

बिहीबार एक भारतीय मिडियासँगको कुराकानीमा शाहले आईपीएल फाइनलको क्रममा एसियन क्रिकेट काउन्सिलका अन्य प्रतिनिधिहरू पनि उपस्थित हुने भन्दै सोही समयमा प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देश वा राष्ट्रको अन्तिम निर्णय हुने बताएका हुन्।

उनले भने, ‘एशिया कप आयोजना गर्नेबारे अन्तिम निर्णय भइसकेको छैन। हामी आईपीएलमा व्यस्त छौं तर श्रीलंका क्रिकेट बोर्ड, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष प्रतिनिधिहरू आईपीएलको फाइनल हेर्न आउँदैछन्। कपको बारेमा छलफल गर्छौं र उपयुक्त समयमा अन्तिम निर्णय लिन्छौं।’

यसपटक एसिया कप आयोजनाको जिम्मा पाकिस्तानलाई दिइएको छ। तर भारतीय क्रिकेट टोलीले सुरक्षाको कारण देखाइ त्यहाँ नजाने बताइरहेको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल ल्याएका थिए। तर, यो योजना पनि अहिले पाकिस्तानले स्थगित गरेको छ।

एसीसी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले नजम सेठीको हाइब्रिड मोडलमा श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानका खेलहरू पाकिस्तानमा र भारतका खेलहरू अन्य कुनै ठाउँमा खेलाउने प्रस्ताव गरेको उल्लेख गरेको छ। तर, एसीसीले यो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन।

११ जेठ, २०८०, १७:५४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।