फेसबुकमा टेलिकममा कर्मचारी आवश्यकताबारे नक्कली विज्ञापन, जागिरको प्रलोभन देखाएर ठग्ने गिरोह सक्रिय

फेसबुकमा टेलिकममा कर्मचारी आवश्यकताबारे नक्कली विज्ञापन, जागिरको प्रलोभन देखाएर ठग्ने गिरोह सक्रिय

काठमाडौँ : सामाजिक सञ्जालमा नेपाल टेलिकममा कर्मचारी आवश्यक भन्दै ठगी गिरोह सक्रिय देखिएको छ। टेलिकमले विज्ञापन गरेको छैन। तर ठगी गर्ने नियतले फेसबुक ग्रुप, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा कर्मचारी आवश्यकताबारे नक्कली विज्ञापन फैलिइरहेको छ।

नक्कली विज्ञापनमा आफू नजिकको टेलिकमको शाखामा काम गर्न पाइने, काम फोन उठाउने, अनि पारिश्रमिक मासिक ३० हजार रुपैयाँमाथि उल्लेख छ। ठगी गिरोहले आवेदनबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ मागेको छ।

कार्यालयको नाममा नक्कली विज्ञापन निस्किएको चाल पाएपछि नेपाल टेलिकमले विज्ञापन आधिकारिक नभएको र गलत सूचनाको भ्रममा नपर्न भन्दै विज्ञप्ति नै निकालेको छ।

बुधवार प्रकाशित विज्ञप्तिमा टेलिकमले विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरूको नामसमेत जोडी गलत सूचना प्रवाह भएको उल्लेख गरेको छ।

''कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।

१० जेठ, २०८०, १८:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।