टेकनाथ रिजालमाथिको आरोप : गैरभुटानीलाई संस्थाको सदस्य बनाएर भुटानको ठेगाना दिए

टेकनाथ रिजालमाथिको आरोप : गैरभुटानीलाई संस्थाको सदस्य बनाएर भुटानको ठेगाना दिए

काठमाडौं : भुटानी शरणार्थीका सम्मानित नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि भुटानी समुदायमा तरङ्ग आयो।

जसले भुटानी शरणार्थीको अधिकारका लागि जीवनका उर्जाशिल समय खर्चिए उनी नै नक्कली भुटानी बनाउने गिरोहमा संलग्न रहेको भन्दै पक्राउ पर्दा तरङ्ग आउनु सामान्य नै हो। उनको भूमिका के थियो प्रष्ट खुलेन। प्रहरीले अनुसन्धान सक्याउने बेलामा रिजाललाई समातेको थियो।

कतै रिजाल अनाहकमा पोलिएका त हैनन् भन्ने शंकाबीच उनले नक्कली भुटानी बनाउन सक्रिय गिरोहसँग सात लाख रकम लिएको दाबी आयो। किन उनले पैसा लिएका थिए? कतै सहयोग भनेर पो फसाएका थिए कि?

उकेराले उनी पक्राउ पर्नुको कारण फेला पारेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको प्रमाण अनुसार रिजालले गिरोहको रणनीति अनुसार गैर भुटानी नेपाली नागरिकलाई भुटान मानव अधिकार संगठनको सदस्य बनाएका थिए।

रिजालले गिरोहले उपलब्ध गराएको नेपाली नागरिकको नाम भुटानी नागरिकको रूपमा संगठनको सूचीमा राखेका थिए। उनले नेपाली नागरिकलाई भुटानी परिचय पत्र बनाउने गिरोहलाई सूचीकृत र प्रमाणित हुन बाँकी भुटानी शरणार्थीको नाम र ठेगाना उपलब्ध गराएका थिए।

रिजालले उपलब्ध गराएको नाम र ठेगानाको आधारमा गिरोहले सक्कली ठेगाना राखेर नक्कली भुटानीको नाम चढाएका थिए। यति मात्रै हैन, आरोप विवरण अनुसार उनले गिरोहका सक्रिय योजनाकारहरूबाट पटक-पटक पैसा लिएको विवरण देखिएपछि नै उनको खोजी शुरू गरेको थियो।

उनी काठमाडौं आए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेश गरेर म्याद लिएको थियो।

८ जेठ, २०८०, २१:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।