ओलीले सरकारलाई सोधे, 'धरहरासँग तपाईंको दुश्मनी किन ?'

ओलीले सरकारलाई सोधे, 'धरहरासँग तपाईंको दुश्मनी किन ?'

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले आफ्नो पालामा भएका विकासका काम अहिलेको सरकारले लथालिंग बनाएको आरोप लगाएका छन्। 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा उनले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाए। 

भूकम्पले क्षतविक्षत् पारेका अधिकांश संरचना आफ्नो कार्यकालमा उत्साहका साथ सम्पन्न भएको दाबी गर्दै ओलीले धरहरा पनि शानदार रूपमा उभिएको बताए।  

'अहिले अलपत्र पारिएको छ, देशलाई ठूलो घाटा बनाइएको छ, यो इतिहाससँग पनि तपाईंलाई शत्रुता किन ? मलाई अचम्म लाग्छ,' उनले प्रश्न गरे। 

धरहरा आफूले बनाएको नभई भीमसेन थापाको पालामा बनेको बताए। 'इतिहासले निर्माण गरेको हो। अनि त्यो धरहरासँग तपाईंहरूको दुश्मनी किन ? 

रानीपोखरी पनि पहिलेभन्दा राम्रो देखिएको र दरबार स्कुललगायत देशका विभिन्न विद्यालय भवनहरूमा बालबालिकाहरूले ढुक्कसँग पढ्न पाउने स्थिति पनि आफैंले निर्माण गरेको उनले दाबी गरे।

वर्षौँदेखि सम्पन्न हुन नसकेका मेलम्ची खानेपानी आयोजनाको धेरै काम आफ्नो पालामा सम्पन्न भएको भन्दै उनले भने, 'त्यतिबेला नेकपा एमालेको सरकार नबनेको भए अहिले पनि मेलम्ची एउटा ड्रिमकै रूपमा रहन्थ्यो। रियालिटी हुन्छ कि हुँदैन भन्ने कुरा मान्छेलाई आशा लाग्ने थिएन।'

एमालेले मेलम्चीको पानी काठमाडौंमा ल्याएको र त्यो काममा एमाले युद्धस्तरमा लागेको उनले दाबी गरे। ओलीले भने, 'अहिले यो दुई वर्षमा हिउँदमा अलिकति आउँछ, बर्खा लागेपछि पानी बन्द। सरकारलाई सायद थाहा छैन।' 

 

 

७ जेठ, २०८०, १३:२८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।