उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्न शिक्षाकर्मीहरुको आग्रह

उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्न शिक्षाकर्मीहरुको आग्रह

काठमाडौं : स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रमलाई रोक्न शिक्षाकर्मीहरुले आग्रह गरेका छन्।

शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो संख्या पाँच सयका हाराहारीमा रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशमा अध्ययनका लागि पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ। अघिल्लो आवको सोही अवधिमा यसका लागि रु ४३ अर्ब ६७ करोड बाहिरिएको थियो।

‘उच्चशिक्षाको वर्तमान अवस्था’ बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) द्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेन्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनु लगायतका समस्या देखिएको जनाएका छन्।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्ताल मुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौं रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नीतिगत रुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोच बमोजिम परिणाम आउन नसकेको स्वीकार गरे।

६ जेठ, २०८०, ११:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।