खाजाघरबाट सुरु भएको होटल पौवाले ७ वर्षमै कसरी मार्‍यो छलाङ ?

खाजाघरबाट सुरु भएको होटल पौवाले ७ वर्षमै कसरी मार्‍यो छलाङ ?

बुटवल। आजभन्दा ७ वर्षअघि ७ वटा कोठासहित खाजा घरको रूपमा स्थापना भएको होटल पौवाले निकै कम समयमा हस्पिटालिटी क्षेत्रमा छलाङ मारेको छ। 

रूपन्देहीको सैनामैनास्थित सालझण्डीमा ०७३ सालमा खाजा घरको रूपमा सुरु भएको होटल पौवाले ७ वर्षको अवधिमा ठूला तारे होटल स्थापनासमेत गर्न सफल भएको छ। 

गुणस्तरीय र रैथाने नेपाली खानाको स्वाद उपभोत्तालाई दिने उद्देश्यसहित सुरु गरेको होटल पौवाले अहिले हस्पिटालिटी क्षेत्रमै आफ्नो फरक उपस्थिति बनाएको छ।

दौरा सुरुवाल, कालो कोटमा सजिँदै पौवाका कर्मचारीहरूले दिने आतिथ्यताले आन्तरिक एवं बाह्य पर्यटकहरू तानेको छ। 

गुल्मीको हुंगाका ध्रुव न्यौपानेको परिकल्पनाबाट सुरु गरेको भएको यो होटल अहिले ‘चेन विजनेश’को रूपमा देशभर फैलिसकेको छ। होटल पौवा प्रालिका अध्यक्ष दुर्गा भण्डारी हुन्। देशका प्रमुख शहरमा यसका एक दर्जन शाखा विस्तार भइसकेका छन्। 

न्यौपानेको परिकल्पना र यसप्रतिको लगाव अनि अध्यक्ष भण्डारीसहितको टिमको मिहिनेतले आज होटल पौवा प्रालिले छोटो समयमै लोभलाग्दो प्रगति गरिरहेको छ।

यो ‘चेन विजेनश’लाई व्यावसायिक रूपमा सफल बनाउन परिकल्पनाकार ध्रुव न्यौपाने, अध्यक्ष दुर्गा भण्डारी, प्रालिका निर्देशक विष्णु ज्ञवाली, प्रालिका ब्राण्ड प्रमुख विष्णु भण्डारीसहित अन्य लगानीकर्ता र कर्मचारीको उत्तिकै मिहिनेत छ। 

अध्यक्ष भण्डारीले हस्पिटालिटी क्षेत्रमा पौवाले छुट्टै पहिचान बनाउनुको मुख्य कारण ‘टिपिकल’ नेपाली खाना र पौवाको आतिथ्यता नै रहेको बताए। 

‘पहिलो कुरा हामीले नेपाली कल्चरलाई फोकस गरेका छौँ। त्यस्तै आतिथ्यतालाई प्राथमिकतामा राखेका छौँ। ग्राहकले खोज्ने भनेको कम खर्चमा होटलमा सन्तुष्टि कसरी लिने भन्ने हो। हामीले त्यसलाई पनि ध्यान दिएका छौँ।  त्यहीअनुसार मूल्यसूची तयार गरेका छौँ।'

३० जना ‘विजनेश’ बुझेका लगानीकर्ताबाट सुरू पौवाको ‘चेन विजनेश’ मा अहिले ६० करोडभन्दा बढी लगानी भइसकेको छ। 

पौवाले आगामी दिनमा पूर्वतर्फका केही जिल्लामा पनि शाखा विस्तार गर्ने तयारी थालेको छ। 

शाखा विस्तार गर्दा पौवाले स्थानीयलाई समेत सेयर सदस्यका रूपमा राख्ने योजना पनि बनाएको भण्डारीले बताए। ुत्यसबाहेक होटलमा कर्मचारीहरूलाई समेत सानो पुँजी भए पनि लगानी गर्छन,' उनले भने।  
अध्यक्ष भण्डारीका अनुसार हालसम्म ३१ जना कर्मचारी लगानीकर्ता भइसकेका छन्। 

‘अहिले हामीकहाँ विदेश जाने परिपाटी विकास भएको छ। युवालाई नेपालमा कसरी रोजगारी दिएर राख्न सकिन्छ भन्ने नै मुख्य उद्देश्यले कर्मचारीलाई लगानी गर्न प्रोत्साहित गरिरहेका छौँ,' उनले भने, 'जति सक्नुहुन्छ त्यति लगानी गर्नुस् भनेका छौँ। तलब पनि हुन्छ।'

युवा विदेश पलायन रोक्न यसले मद्दत गर्ने उनले बताए। 

साथै उनले थोरै–थोरै पुँजी भएका धेरै जना मिलेर ‘हस्पिटालिटी’ र पर्यटन क्षेत्रमा नमूना काम गरौं भनेर पौवामा कर्मचारीलाई समेत सेयर दिएर मालिक बनाइएको बताए। 

देशभर फैलिँदै छ पौवा

खाजा घरको रूपमा सुरु होटल पौवाका तारे होटल र रिसोर्ट छन्। देशभरका सबै शाखाहरूका करिब ३२० भन्दा बढी स्तरीय कोठासहित पर्यटकहरूलाई पौवाले सेवा दिइरहेको छ।

होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले सालझण्डीपछि दाङको लमहीमा १० रूमसहित पौवाको दोस्रो शाखा विस्तार गरेका थिए। त्यसपछि भने क्रमशः होटलको शाखा विस्तारले गति लियो। 

भैरहवा विमानस्थल नजिकै २० वटा रूप, स्वीमिङ पुलसहित साढे २ बिघा क्षेत्रफलमा बाल उद्यानसहित पौवाको तेस्रो शाखा खुलेको थियो। उनका अनुसार यो होटललाई थप ५ कठ्ठा जग्गा थप गर्दै एक सय रुम बनाउने र पाँचतारे होटलको रूपमा विस्तार गर्ने योजना छ।

त्यस्तै होटल पौवाको कपिलवस्तुको गोरूसिंगेमा ८ वटा रुम छन्। जुम्लाको खलंगामा २८ रूमसहित होटल पौवा सञ्चालनमा छ।

दाङको भालुबाङमा २ सय जना क्षमताको क्याटरिङ र सेमिनार हलसहित २८ रूम छन्। ३५ रूम र ५०० जना क्षमताको सेमिनार हलसहित पौवाको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा छ।

त्यस्तै पाल्पाको तानसेन, गुल्मीको रेसुंगा डांडामा ३५ रोपनीमा बगैंचासहित पौवा रिसोर्ट सञ्चालनमा छ। दाङकै घोराहीमा १२ रूमसहित सञ्चालनमा छ। पोखराको लेकसाइड स्ट्रिट १ मा ४४ रूमसहित ११ औं शाखा सञ्चालनमा छ। 

हालै मात्र पौवाले काठमाडौंमा शाखा विस्तार गरेको छ। गौशाला काठमाडौंमा ६४ कोठासहित तीनतारे होटल हालै मात्र सञ्चालनमा आएको हो।

ब्राण्ड प्रमुख भण्डारीले पौवाका हरेक शाखामा ‘स्टाण्डर फोर लेभल’ को सर्भिसेज दिएको बताए। पौवाको स्लोगन ‘जहाँबाट आतिथ्यता सुरु हुन्छ’ भन्ने छ।

संस्कृति संरक्षणमा पनि भूमिका

प्रमुख चाडपर्वमा पौवाले संस्कृतिको जगेर्ना गर्ने भन्दै विभिन्न कार्यक्रम गर्ने गरेको छ। शिवरात्रि, कृष्णजन्माष्टमी, माघीलगायत पर्वमा पौवाले विभिन्न कार्यक्रम गर्ने गरेको छ। 

नेपाली संस्कृति, चाडपर्व तथा परम्परालाई धेरैले बिर्सँदै गएकाले पनि आफ्नो हस्पिटालिटीमा यस्ता संस्कृति संरक्षणका कार्यक्रमहरू गर्दै आएको होटलका प्रबन्धक विष्णु ज्ञवालीले बताए।

उनले नेपालमा हस्पिटालिटी इन्डस्ट्रिजको भविष्य धेरै राम्रो भएको तर सरकारले पर्यटन प्रवर्द्धनमा सक्नेजति काम नगर्दा ओझेलमा परेको बताए।

‘हाम्रा ऐतिहासिकता बोकेका धरोहरहरू, सम्पदाहरू नै प्रचारप्रसार गर्न सके विदेशी पर्यटकहरू नेपालमा बढीभन्दा बढी ल्याउन सकिन्छ,' उनले भने, 'सरकार र हस्पिटालीटी क्षेत्र दुवैलाई फाइदा पुग्छ।’

६ जेठ, २०८०, ०९:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।