अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

काठमाडौं : प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय सञ्चार माध्यम एवं सामाजिक सञ्जालबाट दुष्प्रचार भएको भन्दै त्यसो नगर्न आग्रह गरेको हो।

एथेष्ट प्रमाणविना र अपुष्ट स्रोत/बयानको हवला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ।

‘समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य/तथ्य एवं सन्तुलन विमुख भइ सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो’, काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन उसले आग्रह गरेको छ।

पेसागत आचरणविपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान/छानबिन लगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)को दफा ४(३), ४(६) र ५(११) उल्लङ्घन हुन्छ।

काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ।

४ जेठ, २०८०, १७:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।