बालकृष्णको बयान सकियो, आङटावाको बयानपछि मुद्दा प्रक्रिया

बालकृष्णको बयान सकियो, आङटावाको बयानपछि मुद्दा प्रक्रिया

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने भन्दै ठगी गरेको आरोपमा समातिएका १४ जनामध्ये १३ जनाको बयान सकियो।

जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलवारसम्म १३ जनाको बयान सक्काएको हो। मंगलबारे बालकृष्ण खाँणको बयान सक्कियो।

मङ्गलवार दिनभर खाँणको बयान भएको थियो। बुधवार सोमबार आत्मसमर्पण गरेका आङटावा शेर्पाको बयान लिने सरकारी वकिलको तयारी छ।

शेर्पाको बयान सकिएसँगै १६ आरोपीमध्ये १४ जनाको बयान सकिने छ।दुई जना भने फरार छन्।

पक्राउ आरोपीको बयान सकिएपछि प्रहरीले अनुसन्धानकोक्रममा खुलेका प्रमाण र साक्षीको आधारमा सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय र सुझावसहितको प्रतिवेदन बुझाउँछ।

सोही प्रतिवेदनको आधारमा सरकारी वकिलले मुद्दा हेर्ने सरकारी वकिलमार्फत अदालतमा अभियोग पत्र दर्ता गर्नेछ।

१४ हिरासतमा, दुईजना फरार
अहिले प्रहरी हिरासतमा पूर्व गृहमन्त्री  खाँणसँगै, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्व गृह सचिव टेकनारायण पाण्डे छन्।

यसैगरी टोपबहादुरका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई,रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ हिरासतमा छन्।

डा राईका छोरा नीरज र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन्।

एक सय जना पीडित, २३ करोड बिगो

शरणार्थी ठगी प्रकरणमा ठगिएको भन्दै एक सय छ जनाले प्रहरीमा जाहेरी दिएका छन्।

जाहेरीकर्ताहरूको दाबी अनुसार२३ करोड २५ लाख रुपैयाँ ठगी भएको खुलेको छ। नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान पैसा बुझाएका अधिकांशले पैसा फिर्ता पाएकाले उजुरीको सङ्ख्या कम देखिएको हो।

सानु भण्डारीले नै बयानमा आफूले ८० जनाको पैसा फिर्ता गरेको तर काम मिलाउने भन्दै उच्चतहकाले लिएको पैसा फिर्ता नहुँदा अन्यलाई पैसा दिन नसकेको दाबी गरेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि खाँणले एक करोड फिर्ता गरेको दाबी समेत सार्वजनिक भएका छन्।

२ जेठ, २०८०, २३:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।