६ दिनपछि पक्राउ परे प्रहरीलाई नै कुटपिट गरी फरार भएका बलात्कार आरोपी

६ दिनपछि पक्राउ परे प्रहरीलाई नै कुटपिट गरी फरार भएका बलात्कार आरोपी

सुर्खेत : पक्राउ गरी कालिकोट सदरमुकाम ल्याउँदै गर्दा प्रहरीलाई नै कुटपिट गरी हतकडीसहित फरार भएका बलात्कार आरोपी शंक बुढा पुनः पक्राउ परेका छन्।

उनलाई वडा नम्बर ७ को दुर्सी खोलाबाट भाग्दै गर्दा आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए।

‘विगत ६ दिनदेखि हामीले विशेष अप्रेशन चलाइरहेका थियौं। आज बिहान मात्रै भाग्दै गर्दा उनलाई पक्राउ गर्न सफल भएका छौं। उनकी अन्टीको पनि खोजी गरिरहेका छौं,’ निरीक्षक बमले भने, ‘बुढालाई पलाँताको थिर्पुबाट जिल्लामा ल्याउँदैछौं।

जिल्लाको पलाँता गाउँपालिका–६ सैनका बलात्कार आरोपी ३१ वर्षीय बुढालाई यही वैशाख २५ गते प्रहरी पक्राउ गर्न गएका बेला स्थानीय र बुढाका आफन्तले प्रहरी माथि ढंगामुढा गरेका थिए।

बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए।

सोही घटनामा एक जना सहायक प्रहरी निरीक्षक र एक जना पीडितका आफन्त घाइते भएका थिए। बलात्कार आरोपी बुढालाई लगाइएको हतकडी भने वैशाख २६ गते उनको घर नजिकै भेटिएको थियो। सोही दिन राति बुढाले पीडित महिलाको घरमा गई तोडफोड समेत गरेका थिए।

बुढाले पीडित महिलाका आफन्तलाई मारेर मात्र जेल जाने भन्दै धम्की समेत दिंदै आएका थिए। बुढालाई पक्राउ गर्न जाँदा प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने उनका ७ जना आफन्तलाई प्रहरीले पक्राउ गरेको थियो।

उनका आफन्त २८ वर्षीय मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा र ३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा लगाइएको छ।

बुढाकी कान्छी आमा (अंकलकी श्रीमती) भने अझै फरार छन्। उनको नाममा पनि प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गराएको छ।

यो पनि

बलात्कार आरोपीलाई पक्रँदा प्रहरीमाथि ढुङ्गामुढा, दुई जना घाइते

प्रहरी कुटेर भाग्ने बलात्कार आरोपीलाई लगाइएको हतकडी भेटियो, पीडित परिवारको सदस्यको हत्या गर्ने धम्की

३१ बैशाख, २०८०, १३:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।