प्रहरी कुटेर भाग्ने बलात्कार आरोपीलाई लगाइएको हतकडी भेटियो, पीडित परिवारको सदस्यको हत्या गर्ने धम्की

प्रहरी कुटेर भाग्ने बलात्कार आरोपीलाई लगाइएको हतकडी भेटियो, पीडित परिवारको सदस्यको हत्या गर्ने धम्की

सुर्खेत : प्रहरी कुटेर फरार भएका बलात्कार आरोपी शंक बुढालाई लगाइएको हतकडी फेला परेको छ।

कालिकोट पलाँता गाउँपालिकाकी एक महिलालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गर्न गएको प्रहरीलाई कुटेर भागेका बुढालाई लगाइएको हतकडी पाँच दिनपछि घरभन्दा करिब तीन किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।

गत वैशाख २५ मा जिल्ला प्रहरी कार्यालय कालिकोटमा बलात्कारको उजुरी परेपछि पक्राउ गर्ने गएको टोलीमाथि बुढाका आफन्त र गाउँलेले ढुङ्गामुढा गरेपछि उनी हतकडीसहित भागेका थिए।

बुढाका आफन्तको ढुङ्गामुढामा परेर सैन अस्थाई प्रहरी पोष्ट करदेबका प्रहरी सहायक निरीक्षक लक्ष्मीरुद्र रावत र पीडित परिवारका आफन्त धनमान विक घाइते भएका थिए। प्रहरी सहायक निरीक्षकलाई सामान्य चोट लागेको थियो। 

बुढा अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी बताउँछ। तर, दुई दिनअघि मात्र उनी पीडित महिलाको घरमा आएर छत र भर्याङ तोडफोड गरेको स्थानीयले बताएका छन्।

घटनापछि पीडित महिलालाई जिल्ला प्रशासन कार्यालयमा राखिएको र सँगै बस्दै आएकी उनकी नन्द आफन्तको घरमा गएकोले शंकले उनीहरूलाई भेटाउन सकेनन्।

प्रहरीमा परेको उजुरी अनुसार बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि बलात्कार गरेका थिए। पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।

त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार पक्राउ गर्न चार जना प्रहरी टोली उनको घर पुगेको थियो।

‘केही दिनअघि फरार शंक राति आएर पीडित महिलाको घरमा छत र भर्याङ फुटाएर गएछन्,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक तथा निमित्त प्रमुख शुवराज बमले भने, ‘उनलाई प्रयोग गरिएको हतकडी पनि घरदेखि तीन किलोमिटर टाढा फेला परेको छ।’

खोजी तीव्र पारिए पनि भौगोलिक विकटता र सञ्चारले काम नगर्दा पक्राउ गर्न समस्या भएकाे बम बताउँछन्। आरोपितको घर जंगल नजिक रहेको र ६/७ घर मात्रै भएकोले प्रहरीलाई पनि जोखिम रहेको उनको भनाइ छ।

स्थानीयका अनुसार शंकले पीडित परिवारको एक जनालाई मारेर मात्रै जेल जाने धम्की दिँदै आतङ्क मच्चाइरहेका छन्।

३० बैशाख, २०८०, १५:४०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।