क्या फुर्सदिला लुम्बिनीका मन्त्री, १५ दिनदेखि न काम न कार्यालय

क्या फुर्सदिला लुम्बिनीका मन्त्री, १५ दिनदेखि न काम न कार्यालय

बुटवल : मुख्यमन्त्रीले मन्त्रालय नतोकेपछि लुम्बिनी प्रदेशका तीन विना विभागीय मन्त्री फुर्सदिला भएका छन्। वैशाख १४ गते मन्त्रीमा नियुक्त भएका उनीहरू १५ दिनदेखि उद्घाटन, भाषणबाजी र बधाई थाप्नमै व्यस्त छन्।

लुम्बिनी प्रदेशमा हाल माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विना विभागीय मन्त्री छन्। उनीरूले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग शपथग्रहण गरेका थिए।

मास्की दाङ क्षेत्र नम्बर ३(२) बाट निर्वाचित हुन् भने लोसपाबाट विना विभागीय मन्त्री बनेका पाण्डे रूपन्देही क्षेत्र नम्बर ३(१) बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दिया क्षेत्र नम्बर २(२) बाट निर्वाचित सांसद् हुन्।

पाण्डे यसअघि पनि मन्त्री बनिसकेका छन्। यसअघिको प्रदेश सभामा सबैभन्दा धेरैपटक बोल्ने सांसद् कुनै पनि मन्त्रालयको जिम्मेवारी नपाएपछि स्थानीय कार्यक्रममै व्यस्त भएका हुन्।
प्रदेशसभाले अब छिट्टै बजेट अधिवेशन बोलाउँदैछ। यस्तोमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा अध्ययन गर्नुको साटो मन्त्रीहरू उद्घाटन र बधाई थाप्नमै व्यस्त बनेका छन्।

मन्त्री पाण्डेले आफू स्थानीय कार्यक्रममा हिडिरहे पनि जनताका सुझावहरू लिने गरेको बताए। उनले आफू कार्यक्रममा रहँदा प्राप्त सुझावहरूलाई सदन र नीति तथा कार्यक्रममा समावेश गर्ने पनि बताए।

‘म दाङ, नेपालगञ्जमा पनि पुगेर कार्यक्रममा सहभागिता जनाएको छु। मुख्यमन्त्रीसँग पनि निरन्तर छलफलमा छु,’ उनले भने, ‘कस्तो नीति कार्यक्रम ल्याउने भन्नेमा हामीले सांसदहरूसँग पनि छलफल गरिरहेका छौँ।’

पाण्डेले आफ्ना निर्वाचन क्षेत्रका जनताले बहुवर्षीय योजनालाई प्राथमिकतामा राख्न आग्रह गरेको समेत बताए। साथै उनले शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार विकासका योजना ल्याउन निर्वाचन क्षेत्रका जनताले माग रहेको उल्लेख गरे।

अर्का विना विभागीय मन्त्री धनबहादुर मास्की पनि दाङकै स्थानीय कार्यक्रममा व्यस्त बनेका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको गृह जिल्लाका मास्कीले अहिले मन्त्रालयको जिम्मेवारी नभएकाले आफ्ना निर्वाचन क्षेत्रकै कार्यक्रममा व्यस्त भएको बताए। उनले कार्यक्रममा जनताले दिएका सुझावहरूलाई ग्रहण गरेको बताए।

‘विना विभागीय मन्त्री बने पनि मुख्यमन्त्रीसँग नियमित सम्पर्कमा छु। प्रदेशलाई कसरी आत्मनिर्भर बनाउने बारेमा हाम्रो छलफल भइरहेको छ। उत्पादनमुखी कार्यक्रम कस्ता ल्याउने भन्नेमा पनि हाम्रो छलफल भइरहेको छ’, उनले भने।

यस्तै मन्त्री चौधरी पनि बर्दियाको आफ्नो क्षेत्रमा सम्मान तथा बधाई थाप्नमा व्यस्त छन्।

भागबन्डा मिलाउन मन्त्रालय थप्ने तयारी
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भागबन्डा मिलाउन एउटा मन्त्रालय थप्ने तयारी गरेका छन्।

१० मन्त्रालय रहेकोमा एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या ११ पुर्याउन लागिएको छ। साना दलहरू सहित बनेको सरकार भागबन्डा मिलाउनकै लागि मन्त्रालय थप्ने निचोडमा मुख्यमन्त्री चौधरी पुगेका हुन्।

गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले मुख्यमन्त्री सहित ४ वटा मन्त्रालयको पाउने छ। माओवादी केन्द्रले तीनवटा मन्त्रालय पाएको छ भने अन्य साना दललाई एक–एक मन्त्रालय दिने तयारी गरिएको छ।

गठबन्धनभित्र माओवादीलाई आर्थिक मामिला, आन्तरिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय दिने लगभग सहमति छ। अन्य दल र कांग्रेसले लिने मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन।

मन्त्रिपरिषद्मा अब कांग्रेसबाट तीनजना र माओवादीबाट दुईजना मन्त्री थपिने छन्। माओवादीले कृष्णा केसी र दीपेन्द्र पुनलाई सरकारमा पठाउने तयारी गरेको छ। कांग्रेसभित्र भने अझै को मन्त्रिपरिषद्मा जाने टुंगो लागेको छैन।

२९ बैशाख, २०८०, ०७:०२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।