टप फाइभ : दैलेखमा आगोमा पोलिनेहरूको व्यथा, करोडौंको मेसिन किनेर चौरमा थन्क्याउने उपकुलपतिको दौडमा

टप फाइभ : दैलेखमा आगोमा पोलिनेहरूको व्यथा, करोडौंको मेसिन किनेर चौरमा थन्क्याउने उपकुलपतिको दौडमा

काठमाडौं : बिहीबार (आज) एमालेको पाँचौं केन्द्रीय कमिटी बैठक बस्यो। शनिबारसम्म बस्ने बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदन पेश गरे। सो क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरण, देशको आर्थिक अवस्था समसायिक विषयमा आफ्ना भनाइ राखे। बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले निलम्बित सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको बताए।

यस्तै बिहीबार नै कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बस्यो। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणको विषयमा संस्थापन र इतर पक्षबीच रामै छलफल भयो। छलफलले तत्काल खाँणलाई निलम्बन नगर्ने निष्कर्षमा पुग्यो। कांग्रेसका एक पदाधिकारीले सञ्चारकर्मीमाझ पक्राउ पर्दैमा कोही दोषी नहुने भन्दै अदालतको आदेशसम्म पर्खने संकेत गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार विहान दैलेखको आठबिस नगरपालिकामा आगलागीमा परेर घाइते भएका १२ जनाको बारेमा समाचार प्रकाशित गर्यो। समाचारमा आगलागीमा परेकाहरूको स्वास्थ्य अवस्था र डाक्टरहरूको भनाइसमेत समावेश गएिको छ। सो आगलागीमा परेका एक जनाको आज मृत्यु भयो।
पूरा समाचारः जंगलभित्र बाटो खन्दै गर्दा चारैतिरबाट आगोले घेरेपछि...

त्यसैगरी उकेराले बिहीबार दिउँसो चार महिनासम्म चलेको लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनमा जनचासोका सवाल कम, राजनीतिक दाउपेच बढी भएको समाचार छाप्यो। जनताका प्रतिनिधि चुनिएर प्रदेश सभामा पुगेका सांसदहरुले चार महिनासम्म जनजीविकाका सवाल सदनमा उठाएनन्। उनीहरू सरकार गठन र फेरबदलमै रमाए।
पूरा समाचारः विश्वासको मत लिनमै सकियो लुम्बिनी प्रदेशसभाको चार महिना

अपरान्ह उकेराले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा विवादित छविका डा. भुपेन्द्र बस्नेतको नियुक्तिको तयारी भएको समाचार प्रकाशित गर्यो। प्रतिष्ठानको पदाधिकारीको चार वर्षे कार्यकाल सकिएको डेढ महिनापछि कांग्रेस निकट चिकित्सकहरूको संगठनै बस्नेतलाई उपकुलपति बनाउनुपर्ने लबिङमा सक्रिय देखिए।
पूरा समाचारः जहाँ पुग्यो त्यहिँ बदमासी : ३९ करोडको मेसिन किनेर चौरमा थन्काएका डा. भुपेन्द्र अब उपकुलपति हुने दौडमा

अपरान्ह नै उकेराले अर्थविद् डा. अरुणकुमार सुवेदीको विचार प्रकाशित गर्यो। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा अगामी बजेटका लागि प्रस्तुत गरेको नीतिगत आधारका विषयमा उनले आफ्ना अभिव्यक्ति राखे। अर्थमन्त्रीले प्रस्तुत गरेको १६ पाने आधारको शीरदेखि पुच्छारसम्म हेर्दा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने कुरा मार्गनिर्देशन गर्ने आधार पत्रले निरास बनाएको उनले उल्लेख गरेका छन्।
पूरा समाचारः विश्व अर्थतन्त्रसँगको ‘ट्युनिङ’ किन ‘ब्रेक’ गर्न खोज्दैछन् अर्थमन्त्री!

बेलुकी उकेराले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्तिपरिषद्को मन्त्रीसमेत अनुसन्धानमा तानिँदा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सल्लाहकार मात्र तानिएको विषयमा समाचार प्रकाशित गर्यो।
पूरा समाचारः नक्कली शरणार्थी प्रकरण : देउवाका गृहमन्त्रीसमेत पक्राउ पर्दा ओलीका भने सल्लाहकारबाटै बढेन अनुसन्धान?

२८ बैशाख, २०८०, २२:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।