सरकारी जागिर खाएका रोहिणीलाई हाजिर गरेपछि हाकिमले घरको काम गर्न लगाउँथे

सरकारी जागिर खाएका रोहिणीलाई हाजिर गरेपछि हाकिमले घरको काम गर्न लगाउँथे

उमेरले ६७ वर्ष पार गरिसकेका रोहिणीप्रसाद भट्टराई अहिले पनि उत्तिकै जोसिला र आँटिला छन्। 

चाउरिएका गाला, खुम्चिएको निधार अनि काँपिएका हातहरू कतिखेर गल्छन् पत्तो छैन। तर एकसुरले ब्रस समातेर, बाल्टिनमा चोपल्दै ठुल्ठूला भित्ताहरूमा रंग पोतिरहन्छन्। 

उनले यसरी अरूको घर रंग्याउन थालेको ४० वर्ष भइसक्यो। अहिलेसम्म कतिको घर रंग्याए, कति स्कुलमा बुट्टा भरे उनले हिसाबकिताब राखेका छैनन्। 

तर जीवन रंगीन भएको हेर्ने धोको भने कहिल्यै पूरा गर्न नसकेकोमा उनलाई आफैंप्रति ग्लानि हुन्छ। आफ्नै सपना र बुढेसकालको अनुहारमा भने रङ भर्न नसकेको भन्दै बेलाबेलामा खिन्न हुन्छन्। 

सरकारी जागिर खाने हुटहुटी बोकेर सिन्धुपाल्चोकका जन्मिएका रोहिणी २०३५ सालमा काठमाडौं आए। 

हुलाक कार्यालयमा हल्काराका लागि निवेदन र अन्तर्वार्ता दिए। त्यसको केही दिनपछि उनको नाम पनि निस्कियो तर, टाढाको ठाउँका लागि। 

'आफ्नो गाउँमा दिएन। गोर्खा, रामेछापतिर जा भन्दै थ्यो,’ काठमाडौँ आएको पल सम्झँदै रोहिणी भन्छन्, 'साइकल जान्या छ भनेको थ्यो, छैन भनेपछि त्यो काम पनि पाइएन। त्यसपछि रिसको झोकमा काठमाडौँमै बसेँ।’ 

घण्टाको दुई रुपैयाँ ज्याला

त्यसका कामका लागि उनले मासिक १५० रुपैयाँ दिइने भनिएको थियो। जागिर नगरेका उनी एक्लै काठमाडौं आए पनि केही आफन्तले भने सुरुवाती दिनमा सहयोग गरे। 

एक जनाले त जागिर पनि लगाइदिए। त्यसबेला विमानस्थलको धावनमार्ग बनाउने 'प्रोजेक्ट’ चलिरहेको थियो। उनले त्यही सामान मिलाउने काम पाए। घण्टाको दुई रुपैयाँ दिन्छु भनेपछि उनी पनि खुसी भए। र काममा लागिहाले।  

ज्यामी, मिस्त्रीहरूले निर्माणका लागि यो यो सामान चाहियो भन्दै चिट बोकेर आउँथेँ। उनी त्यै चिटका आधारमा उनीहरूलाई सामान बोकाएर पठाउँथे। 

घण्टाको हिसाबमा पैसा पाउने भए पनि १५-१५ दिनको समयमा मात्र उनले पाउँथे। घण्टाको २ रुपैयाँ पाउने भएपछि कहिलेकाहीँ त उनी २४ सै घण्टा पनि काम गर्थे। महिनामा कहिलेकाहीँ त उनी ५ देखि ७ सय रुपैयाँसम्म कमाउँथे। 

कोटेश्वरमा कोठा लिएर बसेका उनलाई त्यति पैसाले जत्ति पनि पुग्थ्यो। तर, प्रोजेक्ट सकिएपछि भने उनी फेरि बेरोजगार भए। 

अनि डुल्दाडुल्दै एक जना साथी भेटे। र, अन्नपूर्ण होटेलमा जागिर पाए। 'कुक हेल्पर’ काम गर्ने अवसर पाएका उनले केही महिनामै थुप्रै मान्छेसँग चिनजान गर्न भ्याए। 

त्यसैमध्ये एक अञ्चलाधीश पनि थिए। 'मलाई सरकारी जागिर खाने इच्छा थ्यो। त्यै भएर उहाँसँग कुरा गरेँ। अनि होटेलको काम छोडेर म उहाँसँगै गएँ,’ रोहिणी सम्झिँदै भन्छन्। 

तर अच्ममको कुरा उनले ती अञ्चालाधीशको नाम बिर्सेछन्। कार्यालय सहयोगी भएर काममा गएको भए पनि उनी कहिले पाले बन्नुपर्थ्यो त कहिले अञ्चलाधीशको घरको रेखदेख। 

अफिसमा हाजिर लगाएर हाकिमको घर रेखदेख

'त्यतिबेला उहाँको घर बनिराखेको थ्यो। कार्यालयमा हाजिर गरिसकेपछि मलाई चै घरमा त्यहाँ के-के भइरहेको छ, हेर्दे भन्नुहुन्थ्यो,’ विगत सम्झिँदै उनी भन्छन्, 'म पनि ५ बजेसम्म त्यहाँ मिस्त्रीहरूले गरिरहेको काम हेरेर बस्थेँ।’ 

घर बनाउन सुरु गरेदेखि अन्तिमसम्म त्यहाँ बसेर रखेदेख गरेको उनलाई फाइदै भयो। घर निर्माणका सबै काम हेर्न पाए। 

'मलाई रङ लगाउनबाहेक तार फिट गर्न र गाह्रो लगाउन पनि आउँछ,’ रोहिणी भन्छन्, 'अञ्चलाधीशको घर बनिसक्यो अनि मैले जागिर पनि छाडिदिएँ।' 

त्यो जागिरको तलबले उनलाई पुग्दैन्थ्यो। 'मलाई रङ लगाउने काम चै सजिलो लाग्यो। त्यसमा पैसा पनि बढी आउने जस्तो देखेर सरकारी काम छोडेर यसमा लागेँ’, उनले हास्दै सुनाए।

'रङ लगाउन सिकेपछि अरू काम खोज्दै हिँड्नुपरेन'

त्यसपछि भने उनले अर्को काम खोज्दै हिँड्नुपरेन। सरकारी जागिर खाने इच्छा पनि सधैँका लागि मारिदिए। 

'एसएलसी पास भएको छैन म। त्यो नभएपछि लेखनदास पनि नपाउने रहेछ। पिउनको जागिर खाए पनि राम्रो लागेन,’ अँध्यारो मुख बनाउँदै उनले भने। 

गाउँमा खेतीपातीले खानलाउनबाहेक पढाइ खर्च जुटाउन उनलाई गाह्रो थियो। घरका सबैले खेतीपातीको काम गर्थे। पढाइ पूरा गर्न पाएनन्। तर ८ कक्षा भने उनले पास गरेका रहेछन्। 

'कामको खाँचो भएन’

'उमेर गएपछि पढ्न मन पनि नलाग्ने रहेछ,' रोहिणी पढाइ पूरा गर्न नपाएको दुःख सम्झेर भन्छन्, 'काठमाडौँ आएपछि कमाउन थालेको त थ्यो, तर २०-२२ वर्षको मान्छेले सानो कक्षामा के पढ्नु भन्ने लाग्यो।’

सुरुवाती दिनहरूमा घरहरू रंग्याउन थालेका उनले केही समयपछि नै विद्यालयहरूको पनि रङ लगाउने ठेक्का नै पाए। 

ग्यालेक्सी स्कुलमा मात्र उनले ०४३ साल देखि ०४९ सालसम्म रङ लगाए। 'कामको खाँचो भएन। स्कुल ठूलो भएपछि टेन्डर लगाउन थाल्यो,' भन्छन्, 'आफूले पाइनँ, अनि त्यहाँबाट निस्किएँ।’ 

तलबको आधारमा काम गरेका उनले छोड्ने समयसम्म महिनाको दुई हजारका दरले मात्र पैसा पाए। 

पछि उनले ज्यालामा पनि काम गर्न थाले। ज्यालामा भने उनले एक्लै काम गर्थे। ठेक्का हुँदा भने उनले साथीभाइहरूलाई पनि साथमा लाने गरेका छन्। 

अहिले उनलाई घर खर्च धान्न कमाउनुपर्ने आवश्यकता त छैन। तर काम गरिरहन्छन्। 'घर खर्च त सबै केटाकेटीहरूले टार्छन्। मैले त सहयोग गरेजस्तो मात्र गर्ने हो,' रोहिणी भन्छन्, 'मसँग पैसा माग्न छाडिसके त्यै पनि आफूले कमाएको पैसा उनीहरूलाई दिई राख्न मन लाग्छ।’ 

हाल गोलढुंगामा डेरा गरी बसिरहेका उनका चार छोरी अनि एक छोरा छन्। छोरा भने अन्तै बस्छन्। 

जीवनको लामो समय रंग्याएरै बिताएका उनले आफ्नै घर भने बनाउन नसक्दा दुःखी हुन्छन्। 'अहिलेसम्म घर चै बनाउन पाएको छैन। ५ जना छोराछोरीलाई पढाउन गाह्रो छ नि। एउटाले त पीएचडी गर्दैछ। अरू थोकमा ध्यान दिन पाएन, छोराछोरी पढोस् भन्ने मात्र भयो,' उनले सुनाए। 

आफूले पढ्न नपाएको गुनासो उनले फेरि पोखे, 'मेरो योग्यता कम भएर त हो नि, एसएलसी वा आईए मात्र पढेको भए अहलेसम्म सचिव सर भएर निस्किन्थेँ। त्यो उक्लिनलाई खुड्किलो नै भएन,’ बोल्दाबोल्दै उनी भावुक सुनिए। 

आफूले पढ्न नपाए पनि आफ्ना सन्तानले भने दुःख गर्न नपरोस् भन्ने उनलाई लागिरहन्छ। त्यसैले सन्तानको पढाइमा आफूले ध्यान दिएको बताउँछन्।

'आराम गरेर बस्न परोस् जस्तो लाग्दैन’

उमेर बढ्दै गए पनि उनले काम गर्न छाडेका छैनन्। 'काम गर्दा मलाई आनन्द आउँछ,' भन्छन्, 'अहिलेसम्म त्यस्तो औषधि खाएर बाच्नु परेको छैन।’ 

रंग लगाउने काममा धेरै परिवर्तन आएकाले सजिलो हुँदै गएको उनको अनुभव छ। 

अहिले उनी रङ लगाएर दिनको १५ सय देखि तीन हजार रुपैयासँसम्म कमाउँछन्। 

'पारिश्रमिक त घर मालिक हेरीहेरी हुन्छ। कतिले काम गर्ने बित्तिकै भन्याजति पैसा दिन्छन्, कतिले काम गरेको महिनौँसम्म पनि दिँदैनन्।' 

रङ लगाउँदा कति ठाउँमा त उनलाई 'अब छोराछोरीले गरिहाल्छन् नि, नगर्नू' भनेर पनि भन्ने गरेका उनी बताउँछन्। 

'तर, मलाई आराम गरेर बस्न परोस् जस्तै लाग्दैन,' रोहिणी भन्छन्,  'धान्न सक्ने काम गर्ने हो। कहिलेसम्म सकिन्छ गर्ने हो। काम नभएको बेलामा साथीहरू भेट्ने अनि खाने।'

घरकाले पनि काम नगर्न भन्न थाले

उनलाई अब भने घरमा पनि काम नगर्न भन्न थालेका छन्। 'कस्तो छ काम भन्छन्। म राम्रै छु भन्छु,’ उनले भन्दै गए, 'आफूलाई चाहिएको बेला उनीहरूलाई लेऊ भनिराख्न परेन नि। बरु उल्टै अझै पनि दिन पाइरहेको छु।’ 

कसैले पनि पछि यस्तो हुन्छु भनेर सोच्याजस्तो नहुने जिन्दगीप्रति उनको बुझाइ छ। 

'जिन्दगीले डोहोर्याएर कहाँ पुर्याउँछ, त्यसमै सन्तुष्टि हुनुपर्ने रहेछ। मैले के सोचेको थिएँ, अहिले के भइरहेको छ,' सरकारी जागिरप्रति उनले फेरि लगाव राख्दै भने, 'मलाई सरकारी जागिर खाएर राम्रो पोस्टमा पुग्ने मन थ्यो। तर, त्यो हुन पाएन।'

भविष्य विकास नहुने काम गरेको भन्दै नरमाइलो लागेको भान गर्छन्। 'पढेको भए त राम्रो काम गरेबापत पोस्ट बढ्थ्यो नि। केही छैन, अब केटाकेटीले आफूले भनेअनुसार गर्न पाउलान् नि।’

२५ बैशाख, २०८०, १७:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।