टोफल आईबीटी परीक्षा समय एक घन्टा छोट्टियो, जुलाईबाट दुई घन्टामै परीक्षा सकिने

टोफल आईबीटी परीक्षा समय एक घन्टा छोट्टियो, जुलाईबाट दुई घन्टामै परीक्षा सकिने

काठमाडौं : टोफल आईबीटी परीक्षा सन्चालन गर्ने इटिएसले परीक्षा प्रणालीमा सुधार गर्दै परिक्षाको समय छोट्याएको छ।

२०२३ जुलाई २३ बाट परीक्षा दुई घण्टाभन्दा कम समयमा सकिने इटिएसले जनाएको छ। परीक्षा दिन तीन घण्टा लाग्ने गरेकोमा अब दुई घन्टामै सकिने विज्ञप्तिमा उल्लेख छ।

नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलको लागि लेखन’ कार्य तोक्ने र त्यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने, पठन खण्ड छोटो हुने र अंकभार नभएका सबै प्रश्नहरू हटाइने विज्ञप्तिमा उल्लेख छ।

२०२३ जुलाइबाट परीक्षाका लागि रेजिस्ट्रेसन प्रक्रिया सरल हुने,परीक्षामा सामेल हुन चाहनेहरूले आफैँ अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रुपमा रजिस्टर गर्न सक्ने इटिएसले जनाएको छ।

२०२३ जुलाई २६ बाट परिक्षार्थीले प्राप्त गर्ने अंक पारदर्शी हुने, परिक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भए लगत्तै हेर्न सक्ने र अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन्।

‘शिक्षा र सिकाइका क्षेत्रमा ईटीएसले नयाँ प्रविधिको प्रयोग गरेर मूल्याङ्कन गर्ने प्रक्रियालाई नवीन बनाउँदै लगेको छ, टोफल त्यो प्रयासको केन्द्र हो,’ ईटीएसका सीईओ अमित सेवकले भने, ‘यी परिवर्तनहरू हाम्रा ग्राहकहरू र सरोकारवालाहरूको आकांक्षा बमोजिम विकसित गरिएको हो। उनीहरूलाई  सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो।’

टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परिक्षार्थीले पनि नयाँ परिवर्तनहरूलाई अनुभव गर्न चाहेमा नि:शुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्नेछन् वा त्यो लागु हुनु अगावै पनि परीक्षामा सामेल हुनसक्ने विज्ञप्तिमा उल्लेख छ।

टोफलको अकान्टमार्फत निशुल्क  २०२३ अप्रिल ३० भित्र परीक्षाको मिति परिवर्तन गर्न सकिने, नयाँ विकसित टोफल आईबीटी नि:शुल्क अभ्यास सामाग्रीहरुको अद्यावधिक संस्करण टोफलको वेबसाइटमा उपलब्ध भइसकेको बिज्ञप्तीमा उल्लेख छ। स:शुल्क परीक्षा तयारी सामाग्रीहरू आगामी केही सातामा अद्यावधिक गरिने उल्लेख छ।

२५ बैशाख, २०८०, १७:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।