भैरहवा विमानस्थलमा आफन्त लिन जानेलाई बस्ने ठावै छैन, तर सवारीसाधन लाने बित्तिकै तिर्नुपर्छ सेवा शुल्क

भैरहवा विमानस्थलमा आफन्त लिन जानेलाई बस्ने ठावै छैन, तर सवारीसाधन लाने बित्तिकै तिर्नुपर्छ सेवा शुल्क

बुटवल : दक्षिण कोरियाबाट काठमाडौं आइपुगेका हेमन्त पाठकले काठमाडौंबाट भैरहवा जनका लागि गत शुक्रबार राति ८ बजेको बुद्ध एयरको टिकट लिएका थिए।

उनले भाइ सुवास पाठकलाई लिन रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको आन्तरिक टर्मिनलमा बोलाए। 

दाजुले बोलाए अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ बेतइबाट हेमन्त दाजुलाई लिन ८ बजे अघि नै विमानस्थलमा पुगे। तर बुद्ध एयरको जहाज काठमाडौंबाट भैरहवाका लागि समयमा उड्न सकेन।

बाहिर उभिएको छ। विमान कुरेको छ। यो कुराइ २ घण्टा भए पनि रातभर जस्तो भयो। टुसुक्क बस्ने ठाउँ छैन.

८ बजे भैरहवाका लागि उड्ने भनेको बुद्ध एयरको जहाज राति १०:१२ मा मात्र भैरहवा विमानस्थलमा ओर्लियो। 

दाजुलाई लिन पुगेका हेमन्तले ८ देखि १० बजेसम्म दुई घण्टाको समय बढो मुस्किलले विताए। कहिले ट्याक्सी पार्किङमा बसे। कहिले मोटरसाइकल पार्किङमा बसे। कति समय उभिएरै बसे।

उडान ढिला हुँदा हाल भैरहवा विमानस्थलमा आफन्त लिन पुग्नेहरु सबैको हालत सुवासको जस्तै हुन्छ। विमानस्थलमा आफन्त, साथीभाइ जो कसैलाई लिन गए पनि भैरहवा विमानस्थल भित्र ‘नो ईन्ट्री’ छ।

बाहिर कुनै प्रतीक्षालय छैन। खानेपानीको प्रबन्ध समेत राम्रो छैन। आफ्ना मान्छेलाई कुर्नुपर्दा भौतारिंदै यताउती डुल्नुको अर्को विकल्प छैन।

अहिले पानी परेको छैन र जहाँ बसे पनि भो। तर पानी पर्दा आफन्त, साथीभाइ लिन गएकाहरु कहाँ बस्ने हो। केही व्यवस्था छैन।

‘दाजुलाई पिक अप गर्न गएको दुई घण्टा कुर्नुपर्यो। न यहाँ बस्ने ठाउँ छ। न कुनै व्यवस्थापन छ। विमानस्थलभित्र जान टिकट देखाउन भन्छ। विमानस्थलमा सामान्य कुरुवा स्थल बनाउन त सकिन्छ होला नि,’ उनले भने।

दुई घण्टा विमानस्थलमा बिताउँदा रात नै विमानस्थलको बाहिर बिताए जस्तो भएको उनले बताए।

‘बाहिर उभिएको छ। विमान कुरेको छ। यो कुराइ २ घण्टा भए पनि रातभर जस्तो भयो। टुसुक्क बस्ने ठाउँ छैन,’ उनले भने ‘समयमा विमान आए त ठीक हो। तर दुई/चार घण्टा विमान डिले हुँदा हामी जस्तै आफन्त लिन आएकाहरु कहाँ बसेर कुर्ने। यसको व्यवस्थापन सम्बन्धित एयरलाइन्स कम्पनीले गर्ने कि विमानस्थल व्यवस्थापकले गर्ने हो? गर्नुपर्छ।’

बुटवल लक्ष्मीनगरका कृष्ण बहादुर कार्की (राजु) शुक्रबार राती नै आफन्तलाई लिन भैरहवा विमानस्थलमा पुगे। ७ः२५ मा काठमाडौंबाट भैरहवाका लागि बुद्ध एयरको जहाज डिले हुँदा भैरहवा आउन २ घण्टा बढी सयम लाग्यो।

७ बजे नै विमानस्थलमा पुगेका कार्कीले पनि त्यही बाहिर मुस्किलले साढे २ घण्टा बिताए। ७ः२५ बजेको विमान गौतमबुद्ध विमानस्थलमा ९ः५० मा आएको थियो।

विमानस्थलमा जो कसैलाई छाड्न या ल्याउन जाँदा विमानस्थलको पार्किङमा गुडेपछि सेवा शुल्क बापत रकम तिर्नुपर्छ।त्यहाँबाट गुडेका कारण नै यात्रीले यो रकम तिर्नुको विकल्प छैन।

‘अहिले पानी परेको छैन र जहाँ बसे पनि भो। तर पानी पर्दा आफन्त, साथीभाइ लिन गएकाहरु कहाँ बस्ने हो। केही व्यवस्था छैन,’ उनले भने।

उनले विमानस्थल व्यवस्थापन पक्षले साना काममा ध्यान नदिंदा आफू जस्तै धेरैले दुःख पाएको बताए।

आफन्त, साथीभाइ र इष्टमित्र लिन जानेहरु मात्र होइन, विमानस्थलमा यात्रुको सहजताका लागि राखिएका ट्याक्सीका चालकहरुको पनि गुनासो उस्तै छ।

‘पहिले भित्र एक कुनामा कुर्न पाइन्थ्यो। तर त्यो सबै अहिले एयरलाइन्सले कब्जा गरेका छन्। हामी पनि दिनभर यही घाममा बस्ने हो। बाहिर त पानीको समेत प्रबन्ध छैन,’ एक ट्याक्सी चालकले भने।

हुन पनि विमानस्थलमा बाहिर एउटा पनि प्रतीक्षालय छैन। आफन्त लिन जानेलाई भित्र जाने अनुमति छैन। जो कोही आफ्ना इष्टमित्र, आफन्त लिन विमानस्थलमा पुग्दा सडकमै बस्नुपर्ने वाध्यता छ। तर बाहिर चर्को घाममा न त छहारी छ, न पानी पर्दा ओत लाग्ने ठाउँ।

पार्किङ पनि नाम मात्रको छ। दिनभर पार्किङमा गाडी राखे ओत लाग्ने ठाउँ छैन। भैरहवामा हुने चर्को गर्मीमा खुला आकाशमुनी गरिने पार्किङले सवारी साधनमा समस्या छिटो आउँछ।

भैरहवा विमानस्थलको अर्को समस्या हो, पार्किङ शुल्क। विमानस्थलमा जो कसैलाई छाड्न या ल्याउन जाँदा विमानस्थलको पार्किङमा गुडेपछि सेवा शुल्क बापत रकम तिर्नुपर्छ। मोटरसाइकलका लागि १०, ट्याक्सी र कारका लागि ५० रुपैयाँ। त्यहाँबाट गुडेका कारण नै यात्रीले यो रकम तिर्नुको विकल्प छैन।

पार्किङको ठेक्का लिएका ठेकेदारका कर्मचारी विमानस्थलले बढ्दो मूल्य विडिङ गरेर पार्किङ ठेक्का लगाएका कारण सेवा शुल्क लिने गरेको बताउँछन्। विमानस्थलमै भेटिएका ती कर्मचारीले यात्रुको सहजता विमानस्थल व्यवस्थापनले सोच्ने हो भने पार्किङको ठेक्का लगाउनै नहुने बताए।

उता भैरहवा विमानस्थलका प्रमुख हंसराज पाण्डेले भने अन्तर्राष्ट्रिय टर्मिनल बनाउने क्रममा आन्तरिक टर्मिनल ओझेलमा परेको बताए। उनले आन्तरिक टर्मिनलतर्फ धेरै समस्याहरु रहेको भन्दै त्यहाँका समस्याको समाधानका लागि केन्द्रसँग समन्वय भइरहेको जानकारी दिए।

‘यहाँको सबै विकासको काम केन्द्रबाट हुन्छ। समस्या छ। हामीले मानिस ओत लाग्ने सेटसहित पार्किङलाई व्यवस्थित गर्न समन्वय गरिरहेका छौं। छिटो समाधान निकाल्ने प्रयासमा छौं,’ उनले भने।

उनले आन्तरिक टर्मिनलतर्फ सेट निर्माण र पार्किङ व्यवस्थापनका लागि टेण्डर भए पनि केही मुद्दा मामिलाका कारण काम अघि बढ्न नसकेको बताए।

‘पार्किङ पनि नाम मात्रको छ। फुटेको छ। दिनभर पार्किङमा गाडी राखे ओत लाग्ने ठाउँ छैन। खुला आकाशमुनि पार्किङ छ। भैरहवामा हुने चर्को गर्मीमा खुला आकाशमुनी गरिने पार्किङले सवारी साधनमा समस्या छिटो आउँछ। यसको पनि व्यवस्थापन गर्न लागेका छौं,’ उनले भने।

२४ बैशाख, २०८०, ०८:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।