लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीहरूको केन्द्र बनाउँछौं : प्रचण्ड

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीहरूको केन्द्र बनाउँछौं : प्रचण्ड

लुम्बिनी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लुम्बिनी क्षेत्रको विकासमा सरकारले विशेष चासो राखेको बताएका छन्।

लुम्बिनीमा आयोजित २५६७ अ‌ौं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बोल्दै दाहालले वृहत्तर लुम्बिनीको विकासमा चासो दिएको बताए। 

उनले लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गर्दै तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने क्रममा रहेको बताए।

प्रधानमन्त्रीले विश्वमा शान्तिको सन्देश फैलाउने लुम्बिनीलाई विकाससँगै बौद्धमार्गीहरूको केन्द्र बनाउने पनि बताए। 
क्रान्ति र शान्ति एक अर्काका पूरक भएको तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुन नसकेको उनले उल्लेख गरे।

पर्यटन मन्त्री सुदन किराँतीले भने बुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताए। उनले लुम्बिनीलाई धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्दै पर्यटक आगमनको केन्द्र बनाउने बताए।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जाने विमानलाई नियमित गरिने बताउँदै थप मुलुकमा उडान गर्ने तयारी भइरहेको उल्लेख गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउन सके संसारभरका बौद्धमार्गीलाई आकर्षित गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरेका छन्।

२२ बैशाख, २०८०, १२:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।