बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन

बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन

बुटवल : बुटवलमा एकपछि अर्का सहकारीहरू समस्यामा पर्दै गएका छन्। शिवशिखर, सुप्रिम, उपकार र आगन्तुक सहकारीपछि बुटवलकै अर्को सहकारी सप्तदिप बहुद्देश्यीय सहकारी पनि समस्यामा परेको छ।

अहिले यस सहकारीका सदस्यहरु दैनिक जसो कार्यालयमा पुगे पनि सहकारीका सञ्चालकहरु भेटिंदैनन्। सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्कविहीन भएका छन्। 

‘हामीले खाइ नखाइ दुःखले रकम जम्मा गर्यौ। तर अहिले सहकारीमा ताला लगाएको छ। यस बारे हामी कहाँ गएर बोल्ने?’ सहकारीकी सदस्य लक्ष्मी मल्लले भनिन्।

कार्यालयमा कुनै पनि सूचना नटाँसी सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताहरुले सहकारीमै धर्ना दिन थालेका छन्। विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर सञ्चालकहरु सम्पर्कविहीन भएपछि सहकारीमा धर्ना दिन आएको मल्लले बताइन्। 

‘मिटिङ बसेर असार मसान्तसम्म क्लिएर गर्छौ भन्नुभयो। टोकन पनि वितरण गर्नुभयो। तर दुई महिनाको टोकनको मिति सकिंदा पनि रकम पाएकी छैन,’ उनले भनिन्। उनले सञ्चालकहरुले आफूहरुलाई झूट बोलेर धोका दिएको समेत बताइन्।

सानो व्यवसायबाट जम्मा गरेको पैसा सहकारीमा बचत गर्दै आए पनि संचालकहरु नै सम्पर्कविहिन भएपछि बिचल्लीमा परेको मल्लको भनाइ छ।

अर्का बचतकर्ता सिता घिमिरेले वैशाख १० गते पैसा दिने भनी सहकारीले टोकन दिए पनि अहिलेसम्म आफूले रकम फिर्ता नपाएको बताइन्। बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोही टोकन लिएर सहकारीमा जाँदा कार्यालयमा ताला लगाइएको पाएको उनको भनाइ छ।

कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफूलाई धेरै जानकारी नभएको बताए। संचालकहरु सम्पर्कविहीन भएपछि पचास हजारदेखि पाँच लाखसम्म बचत गरेका बचतकर्ताहरु इलाका प्रशासन कार्यालय अगाडि समेत धर्ना दिन पुगेका थिए।  

यता आगन्तुक सहकारी, शिवशिखर सहकारी र सुप्रिम सहकारीले पनि अझै बचकर्ताको रकम फिर्ता दिन सकेका छैनन्।

शिवशिखर सहकारीका पुरै सञ्चालकहरु सम्पर्कविहीन बनेका छन्। सञ्चालकहरु सम्पर्कविहीन हुँदा बचतकर्ताहरु बिचल्लीमा परेका छन्।

शिवशिखर सहकारीले घरभाडा बापतको झण्डै २५ लाख रुपैयाँ समेत तिरेको छैन। अहिले पनि शिवशिखर सहकारीमा बचतकर्ता पुग्ने गरे पनि ताला लगाएको छ ।

त्यस्तै सुप्रिमले पनि बचकर्ताको रकम दिन सकिरहेको छैन। आगन्तुक सहकारीको अवस्था पनि उस्तै छ।

१९ बैशाख, २०८०, ०९:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।