छोराको नक्कली लाइसेन्स बुझाएकी पूर्वसांसद विन्दिया यातायात कार्यालयले बोलाउँदा गइनन्

छोराको नक्कली लाइसेन्स बुझाएकी पूर्वसांसद विन्दिया यातायात कार्यालयले बोलाउँदा गइनन्

काठमाडौः मदिरा पिएर सवारी चलाएर पैदल यात्रुको ज्यान लिएका रवीन सिंह कार्कीको लाइसेन्सबारे सोधपुक्ष गर्न बागमती प्रदेश यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बोलाउँदा पूर्वसांसद (आमा) विन्दिया कार्की अनुपस्थित भएकी छन्।  

यातायात कार्यालयका प्रमुख राजकुमार कपालीले दिएको जानकारीअनुसार कार्कीलाई ३ हप्ताअघि फोन गरेर कार्यालय बोलाइएको थियो। 

‘चैत २६ गते काठमाडौँ आएपछि यातायात कार्यालय आउँछु भन्नुभएको थियो। हालसम्म आउनुभएको छैन,' उनले भने, ‘उहाँ कार्यालय आइदिए छानबिन गर्न सहज हुन्थ्यो।’ 

रविनले चलाएको कारको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु र अर्का एक जना मजदुर गम्भीर घाइते भएका थिए।  

रविनले आमाको नाममा रहेको गाडी चलाएर दुर्घटनामा पर्दा एक यात्रुको मृत्यु भएको थियो। सवारी चालक अनुमति पत्र नभएका उनले पछि नक्कली प्रमाण पत्र पेस गरेका थिए।

रविनले आफ्नो भनेर जिल्ला प्रहरी कार्यालय मोरङमा पेश गरेको सवारी चालक अनुमति पत्र भेषबहादुर माझी नाम गरेका व्यक्तिको नाममा देखिएको थियो। तर उक्त पेश गरिएको लाइसेन्स पनि लाइसेन्स नभई ट्रायलमै फेल भएको कागज मात्र भएको पुष्टि भइसकेको छ। 

उक्त नम्बरबाहेक सबै कागजातमा रविनकै नाम देखिन्छ भने अहिले उनले त्यही किर्ते कागज प्रयोग गरेर बनाएको लाइसेन्स प्रयोग गरिरहेका छन्। उक्त लाइसेन्स यातायात व्यवस्था विभागले समेत खारेज गरेको छैन।

राजनीतिक पहुँचकै भरमा दुर्घटनामा चालकको पहिचान खुले पनि प्रहरीले कार्कीलाई उन्मुक्ति दिन खोजेको छ।विराटनगरस्थित एयरपोर्ट रोडमा २०७८ जेठमा राति प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारको ठक्करबाट मजदुर भारतीय नागरिक ३५ वर्षीया मुकेश शर्माको मृत्यु भएको थियो । 

घटनापछि जिल्ला अदालत मोरङले रविनविरुद्ध साढे तीन वर्ष कैद सजाय तोकेको थियो। तर उच्च अदालतले मदिरा पिएर नभई टायर पड्किएर दुर्घटना भएको देखिएको भन्दै सजाय घटाएर ६ महिना २५ दिन बनाएको थियो। 

सर्वोच्च अदालतमा पुनरावेदन जाने विकल्प बाँकी थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन नगर्न निर्देशन दिएर रविनलाई सवारी ज्यानमा उन्मुक्ति दियो।

रविनको नामको सवारी चालक अनुमति पत्र भन्दै उनकी आमा विन्दियाले पेश गरेको सरकारी विवरण किर्ते भएको प्रमाणित भइसकेको छ। तर सम्बन्धित निकायका जिम्मेवार अधिकारीहरूले सरकारी दस्तखत छाप किर्तेमा पनि उन्मुक्ति दिन खोजिरहेका छन्।   

प्रहरी बयानमा रविनले यातायात व्यवस्था कार्यालय कोसीबाट सवारी चालक अनुमति पत्र लिएको दाबी गरेका थिए। पछि बयान बदल्दै उनले काठमाडौँबाट 'ए' र 'बी' वर्गको अनुमति पत्र लिएको दाबी गरेका थिए।

उनले लाइसेन्सको सक्कल प्रति पेस गर्न सकेनन्। सक्कल हराएको दाबी गरे। उनकी आमाले सवारी चालक अनुमति पत्रको विवरण भन्दै प्रहरीमा यातायात कार्यालयको विवरण पेस गरेकी थिइन्। तर बुझाएको कागजातमै प्रस्ट रूपमै ट्रायलमा फेल भएको विवरणहरू भए पनि प्रहरीले वास्ता गरेन। 

सर्वोच्च अदालतले सवारी ज्यानसम्बन्धी फैसलाबाट बनाएको नजीरले  सवारी चालक अनुमति पत्र नभएकाले सवारी चलाएर कसैको ज्यान गए लापरबाही ठहरिने व्याख्या गरेको छ। 

त्यही सजायबाट जोगिन मिलेमतोमा नक्कली सवारी चालक अनुमति पत्र बनाएको पुष्टि भएको हो।  

उच्च अदालतबाट भएको पत्राचारसहित निर्णयको प्रमाणित प्रति माग्दै उकेराले निवेदन दिएको दिए पनि महान्यायाधिवक्ता कार्यालयले निर्णय प्रमाणित हुने सामान्य पत्र मात्र दिएको थियो।

सो पत्रले रविनउपर महान्यायाधिवक्ता कार्यालयले २०७९ साउन २ गते  मुद्दा दोहोर्याउनुपर्ने बदनियतपूर्ण निर्णय गरेको पुष्टि भएको छ। 

अदालतमा पुगेको लाइसेन्सको प्रमाण नक्कली भएको पुष्टि भएको डेढ वर्षपछि बल्ल अनुसन्धानमा जुट्यो यातायात कार्यालय

नक्कली लाइसेन्सको घनचक्कर : पूर्व सांसद्को छोरामाथि छानविन गर्न प्रहरीदेखि अख्तियारसम्म टक्टकिए

सांसद्को छोरालाई जोगाउन यसरी बनाइयो नक्कली लाइसेन्स, किर्तेसहितको मुद्दा चलाउनुपर्नेलाई सवारी ज्यानमै उन्मुक्ति

१५ बैशाख, २०८०, १५:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।