चर्को गर्मीमा प्रतियोगिता गर्दा मैदानमै ढले खेलाडी, न समयमा रेस्क्यु न एम्बुलेन्स

चर्को गर्मीमा प्रतियोगिता गर्दा मैदानमै ढले खेलाडी, न समयमा रेस्क्यु न एम्बुलेन्स

बुटवल : बुटवलको चर्को गर्मीमा दोस्रो प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताका खेलहरू सञ्चालन भइरहँदा खेलाडीहरू मैदानमै ढल्न थालेका छन्।

हाल ३६ देखि ४० डिग्रीको बीचमा रहेको बुटवलको उच्च तापक्रमका बीचमा नै मंगलबारदेखि छनोट प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन खेलकै दिन एथ्लेटिक्स खेल खेल्ने क्रममा नवलपरासीकी एक खेलाडी गर्मीले मैदानमै ढलेकी थिइन्।

खेलाडी मैदानमा ढले पनि उनलाई तत्काल रेस्क्यु गर्ने टिम भने मैदानमा तयार थिएन। प्रतियोगिता सुरु हुने समयमा खेल मैदानमा रहेको एम्बुलेन्स पनि फर्केका कारण आधा घण्टापछि मात्र ती खेलाडीलाई अस्पताल पठाउन सकिएको एक प्रत्यक्षदर्शीले बताए।

‘खेलाडी मैदानमा ढलेपछि उनकै साथीहरूले हेल्थ डेक्समा ल्याए, तर त्यहाँ केही थिएन। आधा घण्टासम्म त्यही राखियो। सबैले अस्पताल लैजाने भनेपछि सदस्य सचिव जयप्रकाश भट्टराईकै गाडीमा राखेर अस्पताल लैजाने तयारी गरिरहकै बेला बल्ल एम्बुलेन्स आयो। निकै फितलो व्यवस्थापन देखियो,’ उनले भने।

राष्ट्रिय खेलकुद परिषद् र प्रदेश सरकारको लापरबाहीका कारण चर्को गर्मीमा खेलाडीहरू प्रतियोगितामा भाग लिनुपर्ने बाध्यतामा परेका हुन्।

राष्ट्रिय खेलकुद परिषदले पटक पटक प्रतियोगिताको म्याद सार्दै जानुका साथै प्रदेश सरकारले समेत छिट्टै बजेट निकासा नगरिदिंदा खेलाडीहरू गर्मी समयमै प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतामा परेका हुन्।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले राष्ट्रिय खेलकुद परिषदको खेल तालिकाअनुसार अहिले गर्मी याममा भए पनि प्रतियोगिता गराउनुपर्ने वाध्यता रहेको बताए।

हरेक वर्ष राष्ट्रिय खेलकुद परिषदले प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका बनाउँछ। गत वर्ष यो प्रतियोगिता लुम्बिनी प्रदेशमा असारमा भएको थियो।

गत वर्षको समयमा हिले मैदानमा पानीमा भिज्दै खेल खेलेका खेलाडी यस पटक भने चर्को गर्मीमा प्रतिस्पर्धा गरिरहेका छन्।

६ वटा पहाडी जिल्ला रहेको लुम्बिनी प्रदेशमा सो क्षेत्रबाट सहभागी खेलाडीहरू सबैभन्दा बढी समस्यामा परेका छन्।

‘पहाडको हावापानी र यहाँको हावापानी फरक छ। यो गर्मीमा खेलाडीहरूले भनेअनुसार क्षमता प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले खेल तालिका मिलाउँदा सबै जिल्लालाई सहज हुने गरी मिलाउनुपर्छ,’ बुटवलको एन्फा टेक्निकल सेन्टरमा खेलाडी लिएर आएका एक प्रशिक्षकले भने।

प्रदेशका सदस्य सचिव भट्टराईले पनि पहाडबाट आएका खेलाडीहरूलाई गर्मीमा प्रदर्शन गर्न केही कठिनाइ भएको स्वीकार गरे।

‘हामीले पालिकास्तरिय र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समयमा गरेका थियौं। तर यो केन्द्रको सेड्युल अनुसार प्रतियोगिता गर्दा गर्मीमा परेको हो,’ उनले भने।

साथै उनले राष्ट्रिय खेलकुद परिषदले तराईका जिल्लाहरुमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका बनाउँदा गर्मीबाहेक अन्य समयमा बनाउनुपर्ने समेत बताए।

गर्मीयाममा प्रतियोगिता भएका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै खेल मैदानमा मेडिकल टिम र एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए। 

राष्ट्रिय खेलकुद परिषदको २४ लाख र लुम्बिनी प्रदेश सरकारको २८ लाख गरी कुल ५२ लाखमा यो प्रतियोगिता भइरहेको छ।

प्रतियोगितामा आधिकारिक रुपमा रुकुम पूर्वबाहेक अन्य ११ जिल्लाका खेलाडीको सहभागिता रहेको छ। जसमा ६ विधामा १२ जिल्लाका १ हजार ८० खेलाडीसँगै १ सय ५० अफिसियलहरू सहभागी छन्।

१३ बैशाख, २०८०, २०:०१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।