काठमाडौँ महानगरको शिक्षामा सीपः 'यो मजदुर उत्पादन गर्ने सीप होइन'

काठमाडौँ महानगरको शिक्षामा सीपः 'यो मजदुर उत्पादन गर्ने सीप होइन'

सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम भन्दै काठमाडौँ महानगरपालिकाले पुस्तकविहीन शुक्रबारको कार्यक्रम बढाएको छ ।

यसै शैक्षिक सत्र देखि सुरु हुने बताइएको उक्त कार्यक्रम मंगलबार महानगरपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायत विभागीय प्रमुखहरूको बाक्लो उपस्थितिमा औपचारिक उद्घाटन भयो । 

कार्यक्रमको शुरुवात भएको कारण यस वर्ष भने कक्षा ९ का लागि नमुना कार्यक्रमको रुपमा अघि बढ्ने भनिएको छ । यसका लागि महानगरले  विद्यालयहरूलाई अनुदान रकम उपलब्ध गराउनेछ।

महानगरपालिकाको ५६ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु हुने जनाइएको छ । जहाँ माध्यमिक तहमा (कक्षा ९ देखि १२) पढ्ने विद्यार्थीले छोटो अवधिको सीप सिक्न पाउँछन् ।

यसलाई क्रमशः बढाउँदै लगिने पनि बताइएको छ । हरेक तालिमको १ समूहमा २० देखि ३० जनासम्म विद्यार्थी राखिनेछ । यसको लागि चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको व्यवस्थासमेत स्वीकृत भइसकेको छ । 

पहिलो वर्ष प्रचलित खरिद ऐन नियमावलीबमोजिम उपयुक्त संस्थाहरू छनोट गरी तीमार्फत सामुदायिक विद्यालयहरूमा कार्यक्रम सञ्चालन हुने महानगरले बताएको छ ।

त्यस्तै कार्यक्रम सञ्चालनका लागि विद्यालयमा अनुदान निकासा दिई प्रचलित खरिद ऐन नियमावलीबमोजिम विद्यालयहरूबाट पनि सञ्चालन गर्न सकिनेछ । 

महानगरका अनुसार यो कार्यक्रम लगातार पाँच वर्षसम्म सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरूले यसका लागि आन्तरिक तथा अन्य स्रोतबाट समेत आर्थिक व्यवस्थापन गर्न सक्नेछन् ।

संस्थागत र अन्य विद्यालयहरूले विद्यालयको आन्तरिक स्रोतबाट महानगरको अनुमति लिई छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गर्न सक्नेछन् । 

महानगरको ११ औँ नगर सभाबाट शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिइएको थियो। जसअनुसार र तालिम सुरु भएसँगै नीति कार्यान्वयनमा आएको हो। 

सैद्धान्तिक ज्ञानसँगै विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम गर्न परेको महानगरको तर्क छ ।

कार्यक्रमबाट प्राप्त सिकाइ र सीपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्नुलाई यसको मुख्य लक्ष्यसमेत मानिएको छ । 

यसअघि देखि नै ११ वटा सामुदायिक विद्यालयहरूका माध्यमिक तहमा प्राविधिक धारतर्फका विषयहरू पठनपाठन भइरहेका छन् ।

सीपमूलक तालिम भने ९० घण्टे हुनेछ । जसमा कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा गरेर दश वटा क्षेत्रलाई पाठ्यक्रम नै बनाएर समावेश गरिएको छ।

विद्यालय तह पूरा गर्दा तालिम लिएका विद्यार्थीलाई सीपको प्रमाण पत्र पनि उपलब्ध गराइने छ । यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीहरूले दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्ने शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने उनको भनाइ छ । 

सीपसम्बन्धी कार्यक्रमलाई लिएर यसअघि नै पटक पटक प्रश्न उठिसकेका छन् । महानगरले ती प्रश्नसमेत लिई 'बुझ्न बाँकी कुरा' भन्दै विद्यालयमा सीप सिकाएर मजदुर बनाउन लागेको भन्नुलाई अल्प बुझाइ भएको जवाफ दिएको थियो। 

कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दै शिक्षा अधिकारी कोइरालाले भने, 'यो मजदुर उत्पादन गर्ने सीप होइन, सीपयुक्त जनशक्ति उत्पादन हुने सोचले ल्याइएको हो ।'

त्यसैगरी उद्घाटन कार्यक्रममा आफ्नो परम्परा छाडेर अरुको शैक्षिक पद्धति पछ्याउन थालेपछि शिक्षामा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड कार्यान्वयनमा ल्याउन नसकिएको महानगर प्रमुख बालेन्द्र साहले बताए ।

पढाइसँगै विद्यार्थीहरू सीपमा व्यस्त हुँदा उनीहरू विकृतिमा लाग्ने जोखिमसमेत नहुने उनको भनाइ छ । 

विद्यालयले कार्यक्रम सञ्चालन गर्दा सूचना प्रकाशन गरेर जनशक्ति माग गर्नुपर्ने हुन्छ । यसरी सूचना प्रकाशन गर्दा योग्यता प्राप्त गरेका जनशक्ति प्राप्त हुन नसके विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर आवश्यक अनुसार वैकल्पिक प्रशिक्षकको व्यवस्था गर्न पनि पाउनेछन् । 

तालिम सञ्चालनका लागि शिक्षा अधिकारीको अध्यक्षतामा 'छोटो अवधिको सीपमूलक तालिम सञ्चालन तथा व्यवस्थापन समिति' समेत गठन गरिएको छ ।

उक्त समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकको मागअनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्नेछ । 

नेपाल सरकारको पन्ध्रौं योजनाले देशमा सीपमूलक जनशक्ति तयार पार्ने नीति लिएको समेत महानगरले जनाएको छ ।

१३ बैशाख, २०८०, १३:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।