साढे ३ अर्ब लागतमा बन्दैछ ३ किलोमिटर लामो केबलकार, जेठबाट सञ्चालनमा आउने

साढे ३ अर्ब लागतमा बन्दैछ ३ किलोमिटर लामो केबलकार, जेठबाट सञ्चालनमा आउने

बुटवलः व्यावसायिक घराना आईएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केबलकार आउँदो जेठको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। 

लुम्बिनी केबलकार प्रालिले यसअघि वैशाखमा केबलकार सञ्चालन गर्ने भने पनि प्राविधिक कार्य सम्पन्न नभएकाले जेठको पहिलो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको बताएको छ । 

आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । 

बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार २०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए ।

बुटवल उपमहानगरपालिका- बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेशन छ । 

प्राका प्रोजेक्ट म्यानेजर गोकुल साउदले लठ्ठा तान्ने काम सम्पन्न भइसकेको र वैशाख मसान्तसम्म काम सम्पन्न हुने बताए । 

पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुर डाँडामा टप स्टेशन तथा होटल कम्प्लेक्सका साथै कामख्याको मन्दिर, जिपलाइन, स्विमिङ पोखरीलगायत संरचना निर्माणका काम पनि भइरहेको उनले बताए।

साथै वसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरुत्थान गरी एउटा नयाँ धार्मिक गन्तव्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरू निर्माण भइरहेको उनको भनाइ छ ।

मनोकेवल डिट्याचेबल गोन्डाला सिस्टम रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ । साथै गोण्डालाको संख्या २४ रहेको छ । यस्तै केबलकार टावर ९ वटा हुने उनले बताए।

१० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ । 

सिद्धार्थ केबलकारको पनि ८० प्रतिशत काम सकियो 

बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्मको  केबलकार  पनि सञ्चालनको अन्तिम तयारीमा छ । सिद्धार्थ केबलकार कम्पनीद्वारा सञ्चालनमा आउन थालेको यसको ८० प्रतिशत काम सम्पन्न भएको सञ्चालक माधव नेपालले बताए। 

आगामी दुई महिनाभित्र सञ्चालन गर्ने गरी काम भएको छ’, नेपालले भने । 

यस केबलकारको निर्माणपछि प्रत्यक्ष रूपमा ६० जना र अप्रत्यक्ष रूपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दाबी छ । 

यो केबलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । ५० जना पर्यटन व्यवसायी आबद्ध सिद्धार्थ केबलकार प्रालिले लगानी गरेका छन् । 

करिब २ किमि लामो बुटवल-नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो ।

५० जना पर्यटन व्यवसायी आबद्ध सिद्धार्थ केबलकार प्रालिले निर्माणको जिम्मा पाएको हो । 

मनोरम हिमशृंखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिन्छ। नुवाकोट गढीसम्म पुग्न केबलकार विस्तार हुने भएपछि पर्यटकलाई पनि सहज हुने भएको छ ।

२२ र २४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको नुवाकोटसम्म पुग्न केबलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन् ।

रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दूरीमा रहेको नुवाकोट हुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केबलकारले थप सहज बनाउने छ ।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्यानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जितगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य छ ।

१२ बैशाख, २०८०, २०:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।