कोटा प्रणाली सच्याएपछि सेन्ट जेभियर्सको रोकिएको भर्ना खुल्यो, भक्तपुरको एसओएसमा अवरोध कायमै

कोटा प्रणाली सच्याएपछि सेन्ट जेभियर्सको रोकिएको भर्ना खुल्यो, भक्तपुरको एसओएसमा अवरोध कायमै

ललितपुर : ललितपुर महानगरपालिका र  सेन्ट जेभियर्स स्कुलबीच सहमति भएपछि कक्षा एकको नयाँ भर्ना अगाडि बढेको छ। वैशाख पाँच गतेबाट अन्य कक्षाको पढाइ सुरु भए पनि महानगरको हस्तक्षेपका कारण कक्षा एकमा भर्ना हुन सकेको थिएन। विद्यालयले लागु गरेको भर्नाको कोटा प्रणालीमा महानगरले हस्तक्षेप गरेको थियो।

महानगरले तोकेको मापदण्ड अनुसार विद्यार्थी भर्ना गर्न स्कुल व्यवस्थापन तयार भएपछि दुवै पक्षबीच सहमति भएको सूचना अधिकारी देव प्रसाद गुरागाईँले उकेरालाई बताए।

यस अघि संवैधानिक र कानुनी आधारमा भर्ना प्रक्रियामा सबैको पहुँच हुनुपर्ने भन्दै महानगरपालिकाले भर्ना प्रक्रिया नै रोकेको थियो।

फागुन २८ गते नयाँ भर्नाको लागि आवेदन खुलाएको थियो। कक्षा १ मा भर्नाको लागि १५० सिट सङ्ख्यामा ४ हजार भन्दा बढी विद्यार्थीको आवेदन आएकोमा चैत ६ गते भने  महानगरपालिकाले भर्ना प्रक्रिया रोक्न भन्दै पत्र पठाएको थियो।

महानगरले शैक्षिक संस्थामा कार्यरत व्यक्ति र परिवारलाई बढी मौका दिएको कारण सर्वसाधारणका बालबच्चाले थोरै कोटा पाउने गरेको महानगरको आरोप थियो।

चैत ९ गते तत्कालको लागि भर्ना रोकिएको भनेर स्कुलले विज्ञप्ति नै निकाल्नुपर्यो। सेन्ट जेभियर्सले पूर्व विद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा तोकिएको थियो। यसबाहेकका बचेका सिटमा मात्रै खुला ‘गोला प्रथा’ गरेर भर्ना लिने गरिएको थियो।

ती कोटाले धेरै सर्वसाधारणका बच्चाले कम अवसर पाउने महानगरको तर्क थियो। यसबारे विद्यालय प्रशासन र महानगरबीच पटक पटक छलफल भए पनि विवाद भने सुल्झिएको थिएन।

विद्यालयले राखेको कोटाप्रति विद्यालय व्यवस्थापनकै पनि असन्तुष्टि रहेको बाहिरियो।

'उक्त भर्ना प्रणाली प्रति हाम्रो(महानगरको) मात्र असन्तुष्टि हैन। विद्यालय व्यवस्थापनले नै असन्तुष्टि जनाउँदै आएको रहेछ’ सूचना अधिकारी गुरागाईँ भन्छन्, ’हामीले त सर्वसाधारणलाई पनि त्यहाँ भर्ना दिन निर्देशन दिएका न हौँ। त्यसरी कोटा तोकेपछि सर्वसाधारण पढाइबाट वञ्चित हुन त भएन नि।’

तर, वैशाख ५ गते महानगरको सर्त परिवर्तन गर्नको लागि विद्यालय पक्ष तयार भयो। अनि ६ वैशाख देखिनै भर्ना सुचारु गरियो।

अब दलित समुदायका बालबालिका ५ प्रतिशत, सीमान्तकृत एवं आर्थिक रूपले विपन्न, एकल महिला, शारीरिक रूपले अक्षम (अपाङ्गता भएका व्यक्तिका बालबालिका) का लागि १०% प्रतिशत, अल्पसङ्ख्यक समुदायका बालबालिकाका लागि १० प्रतिशत, विद्यालय तथा जेसुइत सोसाइटी अन्तर्गतका संस्थाका कर्मचारीका बालबालिका १२ प्रतिशत अनि खुल्ला तर्फ ६३ प्रतिशत कोटा छुट्याइएको छ।

सहमति अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका सहोदर भाइ बहिनी, पूर्व विद्यार्थीका छोरा-छोरी, ललितपुर महानगर वडा नं. ४ का स्थायी बासिन्दा अनि महानगर क्षेत्र भित्रका बासिन्दा पनि पर्ने भनिएको छ।

कक्षा १ मा प्रवेश परीक्षा लिन नपाएपछि जेभियर्सले तीन वर्ष देखि गोला प्रथा मार्फत विद्यार्थी भर्ना गर्दै आएको छ। जेभियर्समा १ कक्षामा भर्ना हुन साढे ५ देखि साढे ६ वर्ष उमेर समूहका बालबालिकाले मात्र दरखास्त दिन पाउँछन्।

यस शैक्षिक सत्रको लागि छनोट भएका विद्यार्थीहरूको प्रथम नामावली भने विद्यालयले सोमबार राति आठ बजे सार्वजनिक गर्ने बताइएको छ।

गोला प्रथाको माध्यमबाट भने तीनै विद्यार्थी मध्ये छानिने छन्। त्यो भने १३ गते विद्यालयले प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गर्ने जनाइएको छ।

उता भक्तपुरमा रहेको एसओएसमा भने अझै भर्ना खुलेको छैन। सो विद्यालयमा समेत स्थानीय सरकारले कोटा प्रणालीमा अवरोध गर्दै हस्तक्षेप गरेको थियो।

११ बैशाख, २०८०, १७:४९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।